सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओलम्पियन डम्बरदत्त भट्टः रिङको सङ्घर्षदेखि नेपाली बक्सिङको नेतृत्वसम्म

२०८३ साउन २, ०२:३२ रासस

महेन्द्रनगरः खेलाडीका रूपमा रिङमा मुक्का प्रहार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा फहराएका डम्बरदत्त भट्ट अहिले नेपाली बक्सिङको भविष्य निर्माण गर्ने जिम्मेवारीमा पुगेका छन्। 

करिब चार दशकअघि महेन्द्रनगरको सामान्य प्रशिक्षण केन्द्रबाट सुरु भएको उनको यात्रा सिओल ओलम्पिकसम्म पुग्यो। अहिले भने उनी राष्ट्रिय खेलकुद परिषद्को मुख्य बक्सिङ प्रशिक्षकका रूपमा नयाँ पुस्ताका बक्सर तयार पार्ने अभियानमा छन्।

विसं २०३९ सम्म फुटबल खेल्दै आएका भट्ट राष्ट्रिय खेलकुद परिषद्ले कञ्चनपुरमा बक्सिङ प्रशिक्षक सुरेश सिंह आलेलाई खटाएपछि बक्सिङतर्फ आकर्षित भएका थिए। त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन। निरन्तरको मेहनत र लगनशीलताले उनलाई राष्ट्रियस्तरका सफल बक्सर बनायो र २०४५ सालमा दक्षिण कोरियाको सिओलमा आयोजित ओलम्पिक खेलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर दिलायो।

सुदूरपश्चिमबाट उनी र विष्णुबहादुर सिंहसहित नेपालका पाँच बक्सरले उक्त ओलम्पिकमा सहभागिता जनाएका थिए। भट्टका अनुसार आफ्नो पहिलो प्रतिस्पर्धा नेपालमा टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण भएको थियो, जसले त्यसबेला सुदूरपश्चिमका खेलप्रेमीमा ठूलो उत्साह थपेको थियो।

उनका अनुसार २०४० सालमा मदनकुमार गुरुङ दोस्रो प्रशिक्षकका रूपमा महेन्द्रनगर आएपछि कञ्चनपुरमा बक्सिङको विकासले थप गति लियो। प्रशिक्षकको उपलब्धतासँगै नयाँ खेलाडी उत्पादन उल्लेखनीय रूपमा बढ्दै गयो।

ओलम्पिक सहभागितापछि राष्ट्रिय खेलकुद परिषद्ले भट्टलाई सहायक बक्सिङ प्रशिक्षकमा नियुक्त गर्‍यो। त्यसयता उनले आफ्नो अधिकांश समय खेलाडी उत्पादनमा खर्चिएका छन्। कञ्चनपुर जिल्ला खेलकुद समितिमा रहेर उनले दर्जनौँ राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका बक्सर उत्पादन गरेका छन्।

कञ्चनपुर जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टका अनुसार ओलम्पियन डम्बरदत्त भट्ट सुदूरपश्चिममा बक्सिङको आधार निर्माण गर्ने व्यक्तित्वमध्ये एक हुन्। बक्सिङ प्रशिक्षण केन्द्र स्थापना, खेल संरचना विस्तार र खेलाडी उत्पादनमा उनको योगदान उल्लेखनीय रहेको उनी बताउँछन्।

डडेल्धुराको भागेश्वर गाउँपालिका–२, रुपालमा जन्मिएका भट्ट बाल्यकालमै परिवारसँग कञ्चनपुर बसाइँ सरेका थिए। विसं २०४० मा धरानमा आयोजित क्षेत्रीय बक्सिङ प्रतियोगिताको प्रदर्शन खेलबाट प्रतियोगितात्मक यात्रा सुरु गरेका उनले ४५ देखि ४८ केजी तौल समूहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा थुप्रै पदक जितेका छन्। २०५२ सालमा सक्रिय खेल जीवनबाट सन्यास लिएपछि पनि उनी बक्सिङबाट भने टाढा भएका छैनन्। 

प्रशिक्षकका रूपमा उनले राष्ट्रिय टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा नेतृत्व गर्दै धेरै सफलतासमेत दिलाएका छन्। 'म प्रशिक्षक भएर गएका प्रतियोगितामा टोलीले प्रायः पदक जितेरै फर्किएको छ', उनले भने, 'त्यसैले साथीहरूले मलाई ‘लक्की प्रशिक्षक’ पनि भन्ने गर्छन्।'

हालै राष्ट्रिय खेलकुद परिषद्ले उनलाई मुख्य बक्सिङ प्रशिक्षकमा नियुक्त गरेको छ। नयाँ जिम्मेवारीसँगै उनको ध्यान ग्रामीण क्षेत्रसम्म पुगेर लुकेका प्रतिभा पहिचान गर्ने र अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नेमा केन्द्रित छ।

'ग्रामीण तहसम्म पुगेर बक्सिङका प्रतिभावान खेलाडी उत्पादन गर्ने योजना बनाएको छु', उनले भने, “जागिरे जीवनको अन्तिम चरणमा पाएको यो जिम्मेवारीलाई देशका लागि सक्षम खेलाडी र प्रशिक्षक उत्पादन गर्ने अवसरका रूपमा उपयोग गर्नेछु।' उनीसँगै सिओल ओलम्पिकमा सहभागी भएका अर्का ओलम्पियन विष्णुबहादुर सिंह अहिले राष्ट्रिय खेलकुद परिषद्को तालिम तथा प्रशिक्षण विभागका निर्देशक छन्। सिंह ओलम्पिकमा एक बाउट जित्ने हालसम्मका एकमात्र नेपाली बक्सरका रूपमा परिचित छन्।

कमेन्ट लोड गर्नुस