सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर्णालीमा नुहाउने क्रममा बेपत्ता रामबहादुरको खोजीमा सहयोग गरिदिन परिवारको आग्रह

२०८३ साउन २, ०१:५१ खबर संवाददाता

धनगढी: बाजुराको त्रिवेणी नगरपालिका–३ पुभुती निवासी २९ वर्षीय रामबहादुर भण्डारी कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएपछि परिवारले उनको खोजीमा सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन्।
परिवारका अनुसार भण्डारी साउन १ गते सुर्खेत जिल्लाको चौकुने गाउँपालिका–१ स्थित कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन्। घटना भएको केही दिन बितिसक्दा पनि उनको अवस्था खुल्न नसकेको जनाइएको छ।

नेपाल प्रहरीसहित सम्बन्धित निकायले बेपत्ता भण्डारीको खोजी कार्य जारी राखेको भए पनि हालसम्म कुनै ठोस सफलता हात नलागेको बताइएको छ।

रामबहादुरका आफन्तले नेपाल प्रहरी, स्थानीय सरकार, जनप्रतिनिधि, सरोकारवाला निकाय तथा सर्वसाधारण सबैलाई खोजी कार्यमा सहयोग गरिदिन हार्दिक अपिल गरेका छन्। साथै, घटनाबारे आवश्यक अनुसन्धानलाई प्रभावकारी बनाई बेपत्ता व्यक्तिको अवस्था यथाशीघ्र पत्ता लगाउन सम्बन्धित निकायसँग अनुरोध गरेका छन्।

भण्डारीको अवस्था वा उनी कहाँ छन्  भन्ने सम्बन्धमा कसैसँग कुनै पनि जानकारी भए तत्काल नजिकको प्रहरी कार्यालय वा परिवारका सदस्यलाई खबर गरिदिन परिवारले आग्रह गरेको छ। साथै, यो सूचना सकेसम्म धेरै व्यक्तिसम्म पुर्‍याई खोजी अभियानलाई प्रभावकारी बनाउन सहयोग गरिदिन पनि सबैमा अनुरोध गरिएको छ।

अपिलका सम्पर्क नम्बर - ९८६५७४५९९०

कमेन्ट लोड गर्नुस