सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सिस्नु उद्योग

२०७६ साउन २३, ०१:४७ कमल सावद

धनगढीमा पूर्व गाविस अध्यक्षले सिस्नु उद्योग सञ्चालन गरेका छन्। धनगढी उप–महानगरपालिका वडा नम्बर १ शिवनगर बस्दै आएका साविकको खैराला गाविस अध्यक्ष चक्रबहादुर बोगटीले उद्योग सञ्चालन गरेका हुन्। उनले चुरे सिस्नु उद्योगको नाममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगतको उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, घरेलु तथा साना उद्योग कार्यालय धनगढीमा उद्योग दर्ता गरेका छन्। 
सुदूरपश्चिममा पाइने सिस्नु संकलन गरि पाउडर बनाएर बजारमा विक्री गर्ने लक्ष्य अनुसार अहिले उद्योगमा काम भइरहेको छ। ‘कैलालीको चुरे लगायत पहाडी जिल्लाहरुमा सिस्नु खेर गइरहेको छ, सोही सिस्नु खरिद गर्दै त्यस्लाई प्रशोधन गरेर बजार पठाउने तयारीमा छौ,’ सञ्चालक बोगटीले भने, ‘अहिले नै सबै उपकरण जडान गरिएको छैन्, धनगढीको बर्मा आयुर्वेदीक प्रालिको सहकार्यमा पाउडर बनाउन सुरु गरेका छौ।’ उत्पादन भएको सिस्नुको पाउडर बजारमा पठाइने तयारी गरिएको उनले बताए। अहिले पाँच क्विन्टल सिस्नुको पाउडर तयार पारेको बोगटीले बताए। 
सिस्नु सुकाउने, ग्रेडिङ्ग गर्ने र पिस्ने उपकरण भारतबाट खरिदका लागि प्रक्रिया थालिएको उनले बताए। भारतबाट उपकरण आएपछि चुरे सिस्नु उद्योगले आफै सिस्नुको पाउडर उत्पादन गर्ने छ। उद्योग पूर्ण रुपमा सञ्चालनमा ल्याउन २५ लाख खर्च लाग्ने अनुमान वोगटीको छ। उद्योगले स्थानीयबाट सिस्नु खरिद गर्नेछ। सिस्नुका कलिला मुनाहरु स्थानीयले टिपेर, सुकाएर उद्यागलाई विक्रि गर्न सक्नेछन्। उनीहरुले उद्योगबाट सिस्नुका सुकेका मुनाको प्रति किलो दुई सय ५० देखि तीन सय रुपँैया सम्म पाउने छन्। सिस्नोको धुलोलाई ढिंडो, सुपको रूपमा बनाएर खाने गरिन्छ भने हरियो सिस्नोको मुन्टा तरकारीको रूपमा खानेहरूको सङ्ख्या बढ्दो छ। सिस्नुको दैनिक सेवनबाट मधुमेह र उच्च रक्तचापका बिरामीलाई राम्रो हुने गरेपछि अहिले सिस्नुको माग बढ्दै गएकाले उद्योग सञ्चालन गरिएको हो। 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस