निर्मलाले अव कहिल्यै न्याय पाउँदिनन् !
“निर्मलाले अव कहिल्यै न्याय पाउँदिनन् !” मेरो यो निश्कर्ष संसारको अन्तिम सत्य हो । पृय पाठक, तपाई मलाई गाली गरिहाल्नु अघि आफ्नो मनलाई थोरै नियन्त्रित गर्नुस् । आफैलाई केही गम्भिर प्रश्नहरु सोध्नुस् । आफ्नै मन र आफ्नै आत्माबाट त्यसको जवाफ खोज्नुस् । म तपाईसँग निर्मला घटना बारे चलेका हल्लाभन्दा केही फरक कुरा गर्न चाहन्छु । मलाई थाहा छ – भीड बाट अलग बस्नु र हल्ला भन्दा फरक बोल्नु ठूलो चुनौती र जोखिमको कुरा हो । तर त्यो भन्दा पनि मुश्किल आफ्नै मनलाई ढाँट्नु र आफैलाई लागेको सन्देह पोख्न नसक्नु हुदोरहेछ । अहिले म त्यो मुश्किलबाट बाहिर निस्किरहेको छु । मैले आफैलाई सोधेका प्रश्न तपाईले पनि आफुलाई सोध्नुहुन्छ भने तपाईको मनमा पनि नयाँ सन्देह जरुर पैदा हुनेछ ।
निर्मलाको हत्या भएको ठीक एक वर्ष पछि ०७६ साउन १० गते दिउँसो भीमदत्त नगरपालिका कार्यालयमा निर्मलाकी आमासँग र वेलुका मदनचोकमा दीपप्रज्वलनमा सहभागी निर्मलाका बुवासँग मैले थोरै कुराकानी गरेको छु । यो वाहेक घटना बारे कुनै तथ्य, कुनै प्रमाण र कुनै रिपोर्ट मसँग छैन । निर्मलाको परिवार, बम–दिदीबहिनीको परिवार र त्यो परिवेशलाई बुझेका केही स्थानीय साथीहरुसँग धेरै पटक यसबारे कुराकानी अवस्य गरेको छु । घटनाको सुरुवात देखि नै मिडियामा आएका लगभग सबैखाले समाचार, विचार र विश्लेषण गहनताका साथ पढिरहेको छु । मिडियाका साथीहरुले शंकलन गरेका धेरै भिडियो रेकर्डहरु हेरेको छु । घटना बारे बोल्ने मेरो आधार यत्ति हो ।
निर्मलाको बलात्कार र हत्या हाम्रो सामाजिक सभ्यता माथीको कालो धब्बा र कानुनी राज्यको उपहास हो । घटना भएको एक वर्ष वितिसकेको छ । अपराधी पत्ता लागेको छैन । बीचबीचमा शंकास्पद ब्यक्तिहरु समातिए छोडिए, सुक्ष्म अनुसन्धानहरु भए, छानविनका लागि उच्च स्तरीय समितिहरु बने, केही सुरक्षाकर्मीहरु कारवाहिमा परे, अदालती प्रक्रियाहरु अघि बढे । देशैभर विरोध जुलुसहरु भए, यथेष्ट अनुमान र अड्कलवाजीहरु भए । तर यो एक वर्षको अन्तिममा हेर्दा उपलव्धी शून्य देखिएको छ । अपराधी कुनै भीआइपी वा शक्तिशाली व्यक्ति भएको र त्यसलाई सरकारले नै बचाइराखेको भावनात्मक निश्कर्ष धेरैको छ । के तपाईको पनि यही निश्कर्ष छ ? त्यसको आधार के छ ? यति लामो समयसम्म अपराधी पत्ता नलाग्नुले शंका उब्जिनु स्वभाविक हो तर त्यो नै निश्कर्षका लागि पर्याप्त प्रमाण हो ? विगतमा धेरै घटनामा नेपाल प्रहरीले तत्काल अपराधी पत्ता लगएर स्यावासी पनि पाएको छ, कुनै घटनाका अपराधी नीकै वर्षपछी पत्ता लागेका छन र कुनैमा वर्षौंसम्म पनि पत्ता लागेका छैनन । के ती लामो समय पछि पत्ता लागेका र पत्ता नै नलागेका अपराधीहरु सबै भीआइपी नै हुन ? विरोध या समर्थन जे गरे पनि अपराध अनुसन्धान गर्ने देशको सुरक्षा संयन्त्र, कानुन, विधी प्रक्रिया र अदालत नै हो । त्यसलाई हामीले विश्वास नगर्नेहो भने देशमा त्यो भन्दा विश्वसिलो संयन्त्र अरु के छ ? जनसंघर्ष खवरदारी गर्ने साधन मात्र हो की अपराधी नै घोषणा गर्ने संयन्त्र हो ? के भीडमा कोही घटनाको प्रत्यक्षदर्शी छ ? सडकमा कसैसँग घटना वारेका विश्वासिला प्रमाणहरु छन ? कि सब आशंका र अनुमानका भरमा मात्र तर्क गरिरहेका छन ?
जतिबेला निर्मलाको न्यायको लागि भन्दै जनहरलाई सडक–सडकमा उतारियो, मैले त्यही दिन अनुमान गरेको थिएँ – अव कानुनी प्रक्रिया निकै जटिल बन्नेछ, अपराधी पत्ता लगाउन निकै मुश्लि पर्नेछ र निर्मलाको परिवारको न्याय निकै टाढा धकेलिने छ । जब कुनै मुद्दामा ठूलो भीड सडकमा आउँछ, उसले आफ्नो अनुमान गर्छ, आफ्ना धारणाहरु बनाउँछ र आफ्नो अडान तय गर्छ । भीडले जे बोल्छ, सुन्ने–देख्ने–सहभागी हुने सबैले त्यही सत्य ठान्छन, त्यही पत्यउछन, पत्याउनुपर्छ । फरक आवाज आउन डराउछ, आए पनि त्यसको अर्थ हुदैन । आफ्नो अडान भन्दा फरक नतिजा र निश्कर्षहरुलाई भिडले स्वीकार गर्दैन । त्ये वेला कानूनले कसरी वास्तविक सत्यको वकालत गर्न सक्छ ? यहाँ पनि त्यस्तै देखियो । घटनाक्रमबाट संघर्षमा उत्रिने अधिकाँशको एक धारणा तयार गरियो – अपराधी कुनै भीआईपी हो । त्यो कुनै ठोस प्रमाण विना अनुमानका आधारमा बनाइएको धारणा थियो । तर त्यो अडान बन्यो । संघर्षमा सहभागीहरुको खास चाहना ‘अपराधी’ पत्ता लागोस भन्ने थिएन, बरु कुनै ‘भीआइपी अपराधी’ पत्ता लागोस भन्ने थियो । विधि र प्रक्रियाले त्यही चाहनालाई मात्र कसरी पुरा गर्न सक्छ ? वास्तबिक अपराधी कुनै भिआइपी हुनसक्छ या कुनै सर्वसाधारण पनि हुन सक्छ, त्यसको निक्र्योल बैध अनुसन्धान, कानुन र विधीले गर्नेहो । तर यहाँ विधि र प्रक्रिया अगावै जनलहर सडकमा उतारियो र जवर्जस्त ‘सत्य हामीले भनेको जस्तो हुनुपर्छ’ भन्ने प्रचार गरियो । आम सर्वसाधारणलाई कसैका पीडा र समवेदनाले छिटो छुन्छ, दूखी आक्रोसित र उत्तेजित बनाउछ । त्यो बेला उनीहरुलाई कसैका स्वार्थ र भित्री नीयतबारे सोच्ने चाहना हुदैन । जनसाधारणको यही स्वभावको फाइदा अमुक स्वार्थका केही व्यक्ति र समुहले उठाउन खोजे । यसमा केही व्यक्ति, केही समुह र केही राजनीतिक दलका स्वार्थ मिले । देशका थुप्रै ठाउँमा जनसाधारणलाई सडकमा उतार्न उनीहरु सफल त भए तर अपेक्षित नतिजामा पुग्न भने सकेनन् । सडकको आवाज र अनुसन्धानको नतिजा बाझियो । उखान छ – बँदेलको शिकार गर्न गएको शिकारी च्याखुराको शिकारमा चित्त बुझाएर फर्कदैन । ठीक त्यस्तै कुनै भीआईपी अपराधीको खोजी गरिरहेको भीड अनुसन्धानले देखाएको कुनै साधारण अपराधीलाई स्वीकार गर्ने पक्षमा छैन । उता अनुसन्धान बाट कुनै पनि हालतमा त्यस्तो नतिजा आइरहेको छैन सायद । संघर्षकर्ताहरुले ‘बास्तविक अपराधी’ खोजेको भए र राज्य संयन्त्रले पनि ‘बास्तविक अपराधी’ नै पत्ता लगाउन कोशिस गरेको भए सायद आजसम्म अपराधी पत्ता लागिसक्थ्यो होला ।
पृय पाठक ! अपराधी बारे मैले पनि धेरै पटक धेरै थरी धारणा बनाएँ । अपराधी कुनै शक्तिशाली व्यक्ति नै होला भन्ने अनुमान धेरै पटक मैले पनि गरे । अनुसन्धानको सुरुवाती चरणमा प्रहरीले गरेका केही अक्षम्य गल्तीहरु, त्यही समयमा देखिएका केही सांयोगिक घटनाहरु र सरकारका मन्त्री तथा जिम्मेवार व्यक्तिका गैह«जिम्मेवार अभिव्यक्तिहरुले जोकोहीलाई सशंकित बनाउनु स्वभाविक हो । यी कुरा शंका गर्ने आधार र अनुसन्धान गर्ने पाटो अवस्य थिए तर अपराधी सावित गर्ने आधार थिएनन् । यिनै तथ्यले मात्र अपराधी यहि हो भनेर ठोकुवा गर्नु र सडकमा ओर्लेका सर्वसाधारणलाई उत्तेजित बनाउनु हुन्थेन । यसले न्याय प्रक्रियालाई सरल बनाउदैन झन जटिलता थप्छ भन्ने पनि मलाई लाग्यो । अपराधी कुनै भीआईपी नै हुनसक्ने आधारहरु केके छन र भीआईपी नहुनसक्ने आधारहरु के के छन्, मैले दुवै कोणबाट सोचें । आज पनि त्यसरी नै सोच्दैछु ।
निर्मलाको जीवित शरीर देशैभरका सवै मान्छेले देखेका छैनन, मैले पनि देखेन । सायद तपाईले पनि देख्नुभएको छैन । उनको जुन फोटो प्रचारप्रसारमा प्रयोग गरिएको छ त्यो एनिमेटेड र ग्रफिक डिजायन्ड फोटो हो । त्यसमा उनको चेहरा वास्तविक फोटोमा भन्दा केही ठूलो र आकर्शक बनाइएको छ । तर उनका बास्तविक फोटोहरु र भिडियोमा हेर्नुहुन्छ भने उनी सानै, दुब्लीपातली र शरीरको विकास नभैसकेकी बालिका देखिन्छिन । उनको शरीर तुलनात्मक रुपमा धेरै आकर्शक पनि छैन । अति साधारण छ उनको जिउडाल । पृय पाठक ! एकैछिन यो तथ्यलाई मैले जस्तै थोरै असभ्य, थोरै अनैतिक र अति संवेदनशील भएर सोचिदिनुस् – के कुनै भिआइपी, पावर र पैसाको मात लागेको कुनै युवक आफ्नो यौनइच्छा पुरा गर्न अति साधारण, रुपचेहरा नखुलेकी दयालाग्दी बालिका प्रयोग गर्छ ? या उसले रुपयौवनले भरिपूर्ण आकर्षक किशोरी या कामूक युवती खोज्छ ? कुनै भिआइपी वा शक्तिशाली व्यक्तिले आफैले हत्या गरको लाश मान्छेले सजिलै देख्न सक्ने स्थानमा छोडिदिन्छ या महिनौसम्म पनि पत्ता नलाग्ने गरी गायव गरिदिन सक्छ ? मनोवैज्ञानिक विश्लेषणको यो तथ्यलाई गहनताका साथ सोच्नुहुन्छ भने तपाईको एउटा ठूलो भ्रम नष्ट हुन्छ । बम दिदीबहिनी सँग जोडिएको एक तथ्य पनि मनोवैज्ञानिक ढंंगले सोच्नुपर्ने खालको छ । जव निर्मलाकी आमा छोरीलाई खोज्दै बमको घरमा पुग्छिन, त्यहाबाट हाँसोसहित हल्का पाराको जवाफ आउँछ –“तपाईकी छोरी यताबाट त अघि नै गैसकेकी हो, ..... कतै पोइल गाकी होली ।” धेरैले यहि जवाफलाई आशंकाको रुपमा हेरे । तर मैले केही फरक सोचें – यदि उनीहरुकै योजना, सहभागितामा हत्या भएको हो या हत्याबारे उनीहरु जानकार थिए भने उनीहरुबाट यति हलुका ढंगको, हाँसोमजाकको जवाफ आउँथ्यो ? या निकै सावधानीपूर्ण, मीठो, चलाखीपूर्ण र योजनावद्ध जवाफ आउँथ्यो ? यी तथ्यहरु गहनता सााथ मनन गर्नेहो भने हामी हल्लाभन्दा फरकै मनस्थितिमा आइपुग्छौ ।
संघर्षले न्याय प्रक्रिया प्रभावित पारेको, केही व्यक्ति र समुहले आन्दोलनलाई आफ्नो स्वार्थको लागि उपयोग गरेको, निर्मलाकी आमालाई आफ्नो योजना अनुरुप बोल्न र गतिविधीहरु गर्न लगाएको अनावस्यक दवाव र झमेलामा पारेको, पैसा र राजनीतिक चलखेल भएको लगायतका समाचारहरु विभिन्न मिडियाले प्रकाशन गरिसकेका छन । पहिलो पोष्ट लगायत केही मिडियाले त असान्दर्भिक र स्वर्थपूर्ण गतिविधिमा संलग्न व्यक्तिहरुका नाम, गतिविधी, तिनका कुराकानी, स्थान र समय सहित तथ्यपूर्ण समाचारहरु प्रकाशन गरेका छन । तर उल्लिखित व्यक्तिहरुले त्यसको तथ्यपरक र कानुनीसम्मत खण्डन गरेका छैनन । यसबाट ती समाचारहरु सत्यको नजिक छन भन्ने अनुमान गर्न सकिन्छ । पृय पाठक ! मेरा यी तर्कहरुको आशय यो हो की अपराधी कुनै भीआइपी नै हो भन्ने ठोस आधारहरु केही छैनन, त्यो अनुमान र केही व्यक्तिका इगोको कारण चलाइएको हल्ला मात्र हो । अपराधी कुनै भीआइपी या सर्वसाधारण जो पनि हुनसक्छ । विधी प्रक्रिया र कानुनी अनुसन्धानले जे नतिजा देखाउँछ, कि त्यसलाई स्विकार गर्नुपर्छ कि त्यसका विरुद्ध ठोस प्रमाण र आधारहरु पेश गरेर आफुले भनेवमोजिमको सत्य सावित गर्न सक्नुपर्छ । अनुमान, इगो र स्वार्थका कारण ऐलेसम्म गरिएका दावि विरोधले न्याय प्रक्रिया विथोल्ने काम मात्रै गरेका छन ।
निर्मलाकी आमा अहिले भीमदत्त नगरपालिका कार्यालयको एक शाखामा कार्यालय सहयोगीको रुपमा काम गरिरहेकी छिन । तपाई यहाँ कसरी आइपुग्नुभो भन्ने हाम्रो प्रश्नको जवाफ उनले यसरी दिइन् – “श्रीमान दोस्रो विहे गरेर अलग बसेको धेरै भो । अलग बसेदेखी उसले मलाई कैले कुनै सहयोग गरेको छैन । मजदुरी गरेर छाक टार्थे, सन्तान पढाउँथे, मेरो आशा भरोसा त्यही छोरी थिई, त्यसमाथी यस्तो अकल्पनीय घटना भयो । देशैभरका मान्छे मेरै छोरीका लागि सडकमा आए, विचराको ज्यानै गयो, कति घाइते भए । अपराधीलाई कारवाही होला र मलाई पनि न्याय पाइएला भन्ने आशमा धेरै दिन विताए, पत्रकारहरुको भर परे, अधिकारकर्मीको भर परे, नागरिक समाज, राजनीतिक दल, वुद्धिजीवि, महिला सबैलाई विश्वास गरे । हुन त सव मेरै लागि लडेका हुन तर केइकेई अगुबाका व्यवहारले मेरो पनि मन दुखायो । कैले कसैले के सोध्छन, कसैले के भन्छन । एउटाले एक थोक बेल्नु भन्छ अर्कोले त्यस्तो किन बोलेको यस्तो बोल्नु भन्छ । मेरा आफ्नै दुख छन, आफ्नै चोट छ, कोख रित्तो भएको असह्य पीडा छ । सरकार बाट न्याय पाइएला भन्ने आश मरिसक्यो । शोक चिन्ताले म धेरै कमजोर भैसके । अव मजदुरी गर्ने शक्ति छैन शरीरमा । घरमा खानलाउन छैन, सहारा कोही छैन, एक्लै के के सोच्छु, विरक्त लाग्छ, कैले त आफै आत्महत्या गरिदिउँ जस्तो पनि लाग्छ, तर अझै सानी छोरी छे, त्यसको के हालत होला सोच्छु । तब मन बुझाउनलाई भए पनि मलाई केही काम देऊ भनेर अनुरोध गरेकी हुँ, नगरपालिका बाट यति मिलाइदिएका छन । यसैमा पनि मान्छे अनेक कुरा काट्छन, मलाई सरकारले किनिसक्यो भन्छन । छोरी जिउदी हुदा कैले नजिक नआएको श्रीमान ऐले मेरै कुरा काट्दै हिड्छ । तर म यहाँ आफ्नै पीडा, अभाव र आफ्नै मन बुझाउन आएकी हुँ ।” हाम्रो एउटै प्रश्नमा उनले धेरै प्रश्न र धेरै आशंकाहरुको जवाफ दिइन् ।
वेलुकी सात वजे महेन्द्रनगर मुख्य बजारस्थीत मदनचोकमा घटनाको सम्झना स्वरुप दीप प्रज्वलन गरिदै थियो । दृष्य हेर्दा आश्चर्य मान्नुपर्ने अवस्था थियो । त्यहा मुश्किलले पचास जनाको उपस्थिति थियो । त्यसमा निर्मलाकी आमा थिइनन्, बरु उनका वुवा थिए । आलोचनाको केन्द्रमा रहेका केही पत्रकार, नागरिक अगुवा, महिला अधिकारकर्मी र थोरै मात्र सर्वसाधारण थिए । थप पन्ध्रवीस जति वरपरका पसलका व्यापारीहरु थिए । यी अगुवाहरुको समर्थनमा अव सर्वसाधारणहरु छैनन भन्ने कुराको अनुमान त्यो उपस्थितिबाट गर्न सकिन्थ्यो । घटनामा थपिएका अनावस्यक झमेलाहरुले सर्वसाधारणलाई हैरान र निराश बनाएको अर्को कारण हुनसक्थ्यो । घटनामा देखिएको उदेकलाग्दो अर्को दृष्य के थियो भने दीप प्रज्वलनमा सहभागी अगुवाहरुको मुहारमा खासै ठूलो निराशा र दूख देखिदैनथ्यो वरु केही अगुवाहरु त सेल्फी खिच्दै हिडेको देखियो । जसलाई भित्री मनदेखी पीडा र समवेदनशीलता छ उनीहरु त्यस्तो ठाउँमा सेल्फी खिच्दै हिड्रन सक्छन ? वर्षदिन अघि जनलहर उर्लिएको स्थानमा आज किन त्यो न्युन उपस्थिति ? छेउमा एक्लै उभिएका निर्मलाका वुवासँग हामीले प्रतिक्रिया माग्न खोज्यौं तर उनले आनाकानी गरे । उनको अनुहारको भाव केही आत्तिएजस्तो देखियो । अकस्मात उनको मुखबाट एक वाक्य निस्कियो – “अरुसँग सल्लाह गरेर बोलौं की !” उनको अनुहारको भावबाट के अनुमान गर्न सकिन्थ्यो भने उनी आफ्नो मनको कुरा गर्न स्वतन्त्र छैनन, सञ्चारकर्मीका साधारण प्रश्नको जवाफ दिन पनि उनले कसैसँग सल्लाह गर्नुपर्छ । हामीले दुईतीन पटक अनुरोध गरेपछी उनले केही कुरा गरे । उनले आफ्नो कुरामा निर्मलाकी आमालाई सरकारले किनिसकेको आरोप लगाए । उनको कुराको आशय र निर्मलाकी आमाको कुराको आशय एकदमै फरक थियो । यसबाट पनि के अनुमान गर्न सकिन्छ भने ती दुई जनामध्ये कुनै एकले अपराधी पत्ता लगाउन नदिने काममा सहयोग गरिरहेका छन ।
पृय पाठक ! निर्मलाको न्यायका नाममा देशमा के कति संघर्ष भयो तपाईले देख्नुभएको छ । सभासमारोह, पर्चापम्पलेट, यातायात सञ्चार लगायतमा के कति खर्च भयोहोला, त्यो अनुमान गर्न सक्नुहुन्छ । भित्री चलखेलको कुरा नगरौं । आज निर्मलाकी आमा चरम शोक र अभावसँग बाँचिरहेकी छिन । अनुमान गर्नुस – विरोध र संघर्षको लागि आर्थिक सहयोग गर्न उत्साहित हुनेहरु अहिले निर्मलाकी आमाको राहतका लागि के गरिरहेका छन ? के यस्मा पनि उनीहरु त्यसरी नै लागेका छन ? के यो पनि न्यायको एक महत्वपूर्ण पाटो हैन ?
आजको आवस्यकता पहिलो –बास्तविक अपराधी पत्ता लगाउने, दोस्रो –कानुन बमोजिम कडा कारवाही गर्ने र तेस्रो निर्मलाको परिवार विशेष गरेर उनकी आमालाई उचित राहत उपलव्ध गराउने नै हो । र न्याय भनेको यही हो । निर्मलाको निर्मम हत्या भैसकेको छ । उनको जीवन अव फर्केर आउने छैन । विवेकशील र चेतनशील मानिएका केही व्यक्ति र झुण्डहरु आज पनि निर्मलाले न्याय पाउनुपर्छ भन्दै कुर्लिरहेका छन् । उनीहरुले यो कस्तो न्यायको परिकल्पना गरेका हुन ? एक निरिह बालिकाले आफ्नो जीवनको बदलामा पाउने न्याय कस्तो हुन्छ ? मानबका लागि यो भन्दा ठूलो व्यंग अरु के हुनसक्छ ? मेरो विचारमा अबको न्याय निर्मलाकी शोकाकुल आमाका लागि हो, समाजका लागि हो र हाम्रो सभ्यता सुधारका लागि हो न की दिवंगत निर्मलाका लागि । निर्मला नामको सृष्टिको एक सुन्दर जीवनफूल कोपिलामै अपराधी औंलाहरुबाट चुँडिएको छ । अव त्यसले कहिल्यै न्याय पाउने छैन ।
(लेखनका लागि सामग्री संकलनमा डिल्लिराज ओझा समर्पण र धर्मराज कडायतको सहयोग)