सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिसस कैलालीको उम्मेदवारी नाउपाले फिर्ता लिदै, काँग्रेसकी भुल निर्विरोध

२०८१ मंसिर ५, १०:५१ खबर संवाददाता

धनगढीः जिल्ला समन्वय समिति (जिसस)कैलालीको प्रमुखका लागि दर्ता गरेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले उम्मेदवारी फिर्ता लिने भएको छ।

नागरिक उन्मुक्ति पार्टीबाट रुपमती डगौरा थारुले उम्मेदवारी दर्ता गरेको भएपनि पार्टीले फिर्ता लिने निर्णय गरेको हो। जिल्ला समन्वय समिति कैलालीमा नेपाली काँग्रेस र नेकपा एमालेले गठबन्धन गरेपछि कैलालीमा ठुलो दल रहेको नागरिक उन्मुक्ति पार्टी पछाडी फर्किएको छ।

नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले जिसस कैलालीको प्रमुख पदका लागि दर्ता गरिएको उम्मेदवारी फिर्ता लिने निर्णय भएको बताए। उनले भने, ‘कैलालीमा जम्मा २५ भोट हो। १३ भोटले विजयी हुने हो। कैलाली जिल्लामा नागरिक उन्मुक्ति पार्टी ठुलो हो। तर, काँग्रेस र एमालेको गठबन्धन छ। काँग्रेससँग ८ भोट छन। एमालेसँग पाँच भोट छ। उनीहरुको मात्र १३ भोट हुन्छ।’

प्रदेश निर्वाचन कार्यालय, कैलालीका निमित्त प्रमुख प्रेम भट्टले नागरिक उन्मुक्ति पार्टीले औपचारिक रुपमा उम्मेदवारी फिर्ता नलिएको बताए। उनले बुधवार बिहान ९ देखि १ बजेसम्म उम्मेदवारी फिर्ताको समय रहेको बताए। जिल्ला समन्वय समिति कैलालीको प्रमुख पदका लागि उम्मेदवारी दर्ता गरेको नागरिक उन्मुक्तिले फिर्ता लिएपछि नेपाली काँग्रेसकी उम्मेदवारी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित हुने भएकी छन्।

नेपाली कांग्रेसबाट जिल्ला समन्वय समिति, कैलालीको प्रमुखमा विजयी भएका पदमबहादुर कलेलको २०७९ पुस २३ गते निधन भएपछि सो पदमा उपनिर्वाचन हुन लागेको हो। सत्ता गठबन्धनमा रहेको काँग्रेस र एमालेले चुनावमा तालमेल गरेका छन्। एमालेले कांग्रेसकी भुललाई मतदान गर्ने भएको छ। भुल कैलारी गाउपालिका–२ बाट दलित महिला सदस्यमा विजयी हुन।

भुलको समर्थकमा कैलारी गाउपालिकाका अध्यक्ष राजसमझ चौधरी रहेका छन भने उनको प्रस्तावकमा धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला राना रहेकी छन्। कैलालीमा एमाले र काँग्रेस गठबन्धनसँग १३ मतभार छ। नाउपासँग ७, माओवादी केन्द्रसँग ३ (टीकापुरको उपमेयर निलम्बित), समाजवादी १ र स्वतन्त्र १ मतभार रहेको छ। नाउपालाई माओवादी र समाजवादीले मतदान गरेपनि उसको ११ मत मात्रै पुगिरहेको छ। काँग्रेस ८ र एमाले ५ सहित १३ मतभार ल्याएर विजयी हुने देखिएको छ। मंसिर १६ गते हुने उप–निर्वाचनका लागि रिक्त रहेका पालिका, वडा र जिल्ला समन्वय समिति प्रमुख पदका लागि उम्मेदवारी दर्ता गरिएको छ।

कमेन्ट लोड गर्नुस