धनगढीका दुई युवाले थाले कृषि उद्यम, व्यावसायिक कृषि उद्यमी बन्ने सपना
धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का आयुश अवस्थी र संगम न्यौपानेले दस कठ्ठा जग्गा लिजमा लिएर कृषि उद्यम सुरू गरेका छन्।
धनगढी चक्रपथको कालिकाटोलमा जग्गाअ लिएर अवस्थी र न्यौपाने सेतो घर फार्म एण्ड रिसोर्ट सञ्चालनमा ल्याएका हुन्। उद्यम गर्न युरोपेली युनियनबाट प्राप्त एक लाख २५ हजारबाट सुरूमा अवस्थीले गड्यौला मल उत्पादन गर्न थालेका हुन्। अवस्थीको सात महिना अगाडि गड्यौला मलबाट सुरू भएको कृषि उद्यम यात्रामा ६ महिना अगाडि धनगढी-३ मित्रनगरका संगम न्यौपाने जोडिन पुगे। २४ वर्षीय अवस्थी र न्यौपाने ६ महिनादेखि आफ्नो एग्रो फार्म विस्तार गर्ने सपना बुन्दै निरन्तर काममा लागिरहेका छन्।
युरोपियन युनियनको सिडमनी
आइटीमा स्नातक गरिरहेका आयुश अवस्थीले युरोपियन युनियनले आयोजना गरेको "क्लाइमेट स्मार्ट इन्टरप्राइजेज" भाग लिने मौका पाएका थिए। उक्त कार्यक्रमको सहयोगले आफूमा कृषि उद्यम गर्ने रहरले मुर्तरुप पाएको अवस्थीको भनाइ छ। "मैले युरोपियन युनियनको कार्यक्रममा सहभागी हुने मौका पाए। "क्लाइमेट स्मार्ट इन्टरप्राइजेज" कार्यक्रममा म टप २० सहभागी भित्र पर्न सफल भए," उनले भने, "त्यसपछि काठमाडौं लगायत विभिन्न स्थानमा भएको उद्यमीहरूसँगको छलफल र अनुभवबाट म टप ६ जना भित्र पर्न सफल भए। त्यसपछि प्राप्त सिडमनीबाट गड्यौला मल उत्पादन गर्न थालेको हुँ।" अवस्थीले सहयोग राशीबाट कामको सुरूवात गर्न सहज भएको बताए।
कफी सपमा भएको आकस्मिक भेट साझेदारीमा परिणत
कृषि क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोचका साथ गड्यौला मल उत्पादन गर्ने तरखरमा लागेका अवस्थी आजभन्दा सात महिना अगाडि धनगढीको एक कफी सपमा अर्का साझेदार संगम न्यौपानेलाई पहिलोपटक भेटेको बताए। संयोगले एकै टेबलमा बस्न पुगेका दुबैजना कुराकानीकै क्रममा कृषि उद्यम गर्न साझेदार हुने पुगेका थिए। आफ्नो जस्तै बिचार भएकाले संगमसँग साझेदारी गर्ने निर्णय लिन सजिलो भएको अवस्थीले बताए। संगमले पनि विदेश जाने सोच त्यागेर स्वदेशमै केही गर्ने सोच्दै आएकाले आयुशसँग साझेदारी गर्न सहज भएको बताए। होटेल व्यवस्थापनमा स्नातक गरेका संगम कतार बसेर फर्केका थिए। विदेश जाने महत्वकांक्षा त्यागेर यतै बस्ने र कृषिमै काम गर्ने अठोट लिएर काम गरिरहेको उनले बताए। "सानोमा कक्षा १२ पास गरेपछि विदेश जानुपर्छ भन्ने सोच्थे। होटेल व्यवस्थापन पढ्दा कतारमा गएर इन्टर्नसिप गरेँ। त्यसपछि विदेशका लागि प्रयास गरेँ तर भिसा रद्द भएपछि मैले सदाका लागि विदेश जाने मनसाय त्यागेर घर आएको थिएँ," उनले भने, "सात महिना अगाडि कफी पिउँदा भएको हाम्रो भेट पहिलो दिनकै संवादबाट साझेदारीमा परिणत हुन पुग्यो। ६ महिनादेखि हामी हरेक दिन सँगसँगै छौँ।"
दानाको व्यावसायिक उत्पादन गर्ने लक्ष्य
संगम र आयुशले दस वर्षका लागि जग्गा लिजमा लिएर काम थालेका छन्। हालसम्म उनीहरूले दस लाख लगानी भएको बताएका छन्। गड्यौला मलको उत्पादन गरिरहेका उनीहरूले सुदूरपश्चिममै पहिलोपटक ब्ल्याक सोल्जर फ्लाइको खेती थालेका छन्। ब्राजिलमा पाइने कालो जिङ्गा ल्याएर त्यसको लार्भाबाट कुखुरा तथा
चौपायाको लागि उच्च प्रोटिनयुक्त दाना उत्पादन गर्ने उनीहरूको लक्ष्य छ। उनीहरूले ६ ग्राम लार्भा र अन्डाबाट कालो जिङ्गा पालन सुरू गरेका हुन्। रासायनिक मलले माटोको उर्वरा शक्ति नास गरेको भन्दै माटो बचाउन र कृषि उत्पादन बढाउन अवस्थी र न्यौपानेको ठूलो परिमाणमा गड्यौला मल उत्पादन गर्ने लक्ष्य छ। यस्तै, उच्च प्रोटिनयुक्त कुखुरा र पशु आहारको व्यावसायिक उत्पादन गर्न उनीहरूले कालो झिङ्गा उत्पादन थालेका छन्। रोग नसार्ने र पानी मात्रै खाने कालो झिङ्गाको लार्भालाई प्रशोधन गरि पशु दाना तयार गर्ने अवस्थी र न्यौपानेको योजना छ। अहिले खोरमा कालो झिंगा उत्पादन गरिरहेको अवस्थीले बताए। " नेपालमा ब्राजिलबाट महावीर पुनले ल्याउनुभएको ब्ल्याक सोल्जर फ्लाइ सुदूरपश्चिममा हामीले फार्मिङ गरिरहेका छौँ। यसको उत्पादन ठूलो परिमाणमा गरेर पशु दानाको माग पूरा गर्ने योजना छ," उनले भने, "लार्भालाई जिउँदै या प्रशोधन गरेर कुखुरा, हाँस, बङ्गुर तथा अन्य चौपायालाई खुवाउन सकिन्छ। यसको धुलो समेत बनाएर अन्य दानामा मिसाएर खुवाउन सकिन्छ।"
फोहोर व्यवस्थापनको नयाँ विकल्प : ब्ल्याक सोल्जर फ्लाइ
फोहोर व्यवस्थापन र पशु दाना उत्पादनमा उपयोगी मानिएको ब्ल्याक सोल्जर फ्लाइ को व्यावसायिक उत्पादनबाट फोहर व्यवस्थापनमा समेत सहयोग पुग्ने अवस्थी र न्यौपानेले बताए। उनीहरूले घरबाट उत्पादन हुने कुहिने फोहर एग्रो फार्ममा कालो झिङ्गाको लार्भालाई खुवाउदै आएका छन्
कालो रंगको झिँगा प्रजातिले अर्गानिक फोहोरलाई छिट्टै नष्ट गर्न र प्रोटिनयुक्त दाना उत्पादन गर्न सक्ने भएकाले विश्वभर यसलाई “हरित प्रविधि" का रूपमा लिने गरिएको अवस्थीले बताए। "ब्ल्याक सोल्जर फ्लाइको लार्भाले खाना बाँकी, तरकारी तथा फलफूलका फोहोरदेखि पशु मलसम्म छिट्टै खाइदिन्छ। यसरी फोहोरको मात्रा ५० देखि ७० प्रतिशतसम्म घट्ने अनुसन्धानले देखाएको छ। बाँकी पदार्थलाई जैविक मलको रूपमा प्रयोग गर्न सकिन्छ," अवस्थीले भने।
यस कीराको अर्को महत्व भनेको पशुपालन क्षेत्रमा छ। ब्ल्याक सोल्जर फ्लाइको लार्भा प्रोटिन र बोसोले भरिपूर्ण हुन्छ। त्यसैले कुखुरा, माछा, सुँगुर जस्ता पशुपालनमा प्रयोग हुने परम्परागत दाना (जस्तै माछा मिल वा सोया मिल) को विकल्पका रूपमा प्रयोग गर्न सकिने न्यौपानेले बताए। "कुखुरा र मत्स्यपालनमा दाना उत्पादन खर्च घटाउने उपायका रूपमा यसबारे अध्ययनसमेत गरिरहेको अवस्थी र न्यौपानेले बताए।
"यो कीराले मानिसलाई टोक्दैन, न रोग फैलाउँछ। बरु फोहोर व्यवस्थापन, प्रोटिन उत्पादन र हरित अर्थतन्त्रमा योगदान पुर्याउँछ," अवस्थीले भने। अन्डाबाट वयस्क बनेपछि एउटा ब्ल्याक सोल्जर फ्लाइले बढीमा आठ सय अन्डा दिने न्यौपानेले बताए।
एग्रो फार्म भित्र रिसोर्ट पनि
अवस्थी र न्यौपानेले आफ्नो एग्रो फार्ममा स्थानीय जातको कुखुरा पालन गरेका छन्। उनीहरूले रिसोर्ट सञ्चालन गर्न पूर्वाधार खडा गरेका छन्। ग्रामीण जीवनको जीवन्त अनुभव दिँदै ग्राहकहरूलाई स्थानीय खानाका परिकार पस्किने योजना उनीहरूले बुनेका छन्। उनीहरूले गाडीको टायर प्रयोग गरी बस्ने कुर्सी बनाएका छन् भने पौडी पोखरी पनि निर्माण गरेका छन्। ग्रामीण वातावरणमा ग्राहकहरूलाई खाजा र खाना स्थानीय परिकार ग्राहकलाई पस्किने उनीहरूले बताएका छन्।
नयाँ पुस्तालाई कृषि सिकाउने जमर्को
भर्खरै युवावयमा लागेका अवस्थी र न्यौपानेले खेर गएको बाँझो जग्गा सदुपयोग गर्ने सपना बोकेका छन्। जग्गा लिजमा लिएर व्यावसायिक कृषि विस्तार गर्ने हुटहुटीका साथ दुबैजनाले रातदिन कृषि फार्ममा काम गर्दै र योजना बनाउँदै गरेको बताएका छन्। युवाहरूमा विदेश पलायनको समस्या बढेको, समाजमा विदेश मोह बढेको समयमा अवस्थी र न्यौपानेको परिवारले भने दुबैजनालाई कृषि कर्म गर्न हौसला दिएका छन्।
कृषिमा नयाँ काम गरेर उदाहरणीय बन्ने र नयाँ पुस्तालाई कृषि सिकाउने जोसका साथ अवस्थी र न्यौपाने आफ्नो फार्ममा गड्यौला, कालो झिङ्गा र कुखुरा स्याहार्दै प्राप्त अनुभवलाई अभिलेखिकरण गर्दै रमाइरहेका भेटिन्छन्।