सुन्तलाबाट कृषकलाई मनग्य आम्दानी
बाजुराः बाजुराको गौमूल गाउँपालिका–४ की पारू रोकायाले सुन्तला खेतीबाट मनग्य आम्दानी गर्दै आएकी छन्।
२०७४ सालमा उनले गाउँमा सधैँ अन्नबाली लगाउने सात रोपनी जमिनमा सुन्तला खेती गरेकी थिइन्। २०८० सालदेखि त्यो सुन्तला फल्न सुरुभयो । अहिले त्यसलाई बिक्री गरेर उनले मनग्य आम्दानी गर्न थालेकी छन्।
“गाउँमा धेरै जमिन छ । मैले त्यो जमिनमा राम्रो मेहेनत गरेर अन्नबाली लगाउने गरेकी थिएँ । त्यसबाट मलाई खान समेत पुगेन । त्यसपछि सबै जमिनमा सुन्तला खेती गरेपछि अहिले राम्रो कमाई हुनेगरेको छ” उनले भनिन् ।
अन्नबाली लगाउन खान नपुग्ने ठाउँमा अहिले सुन्तला खेतीबाट परिवार पाल्न निकै सहज भएको उनको भनाई छ। उनि सुन्तला बिक्री गरेर छोरा छोरीलाई समेत उच्च शिक्षामा पढाइ रहेकी छन्।
‘२०७४ सालमा झन्डै पाँच सात रोपनी जमिनमा सुन्तला खेती गरेकी थिएँ । गाउँमा रहेको पाखो जमिनमा अन्नबाली लगाउँदा उत्पादन राम्रो नभएपछि सबै जमिनमा सुन्तला खेती सुरु गरेकी हुँ’ उनले भनिन्।
गत वर्ष गाउँमा सडक नपुगेकाले त्यो सुन्तला समयमै मार्तडी पुगाउन नसकेको उले बताइन्। यतिबेला गाउँमा सडक पुगेपछि अहिले सुन्तला समयमै मार्तडी बजारमा ल्याएर बिक्री गर्न थालेको उनको भनाई छ।
गाउँमा उत्पादन गरेको अर्गानिक सुन्तला भएकाले यतिबेला उनको सुन्तला राम्रोसँग बिक्री हुनेगरेको छ । “गत वर्ष अलि ढिला ल्याएकी थिएँ । तैपनि दुई–चार लाख रुपियाँ कमाइ भएको थियो” उनले थपिन्, “अहिले समयमै सुन्तला बजारमा ल्याएकी छु । यतिबेला सुन्तला बिक्री हुने हो भने त्यसबाट मलाई यो वर्ष पाँचदेखि छ लाख भन्दाबढी रुपियाँ कमाइ हुन्छ ।”
हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ, बुढीनन्दा, बडीमालिका, गौमूल, त्रिवेणी, बुढीगङ्गा, त्रिवेणी र छेडेदह लगायत पालिकामा राम्रो सुन्तला उत्पादन हुनेगरेको छ । बाजुरामा उत्पादन गरेको सुन्तलालाई बजारीकरण गर्न कृषि ज्ञान केन्द्र बाजुराले सधै ढुवानी अनुदानको व्यवस्था मिलाउँदैआएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताए।