पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा
कञ्चनपुर: जैविक विविधताले समृद्ध शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मा पहिलोपटक ‘मदना चाँचर’ चरा देखिएको छ। सामान्यतः मध्यपहाडी र हिमाली वन क्षेत्रमा पाइने यो प्रजाति तराईको समथर भूभागमा देखिनुलाई संरक्षणका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।
नेपाल पन्छी संरक्षण सङ्घ ९विसिएन० का वरिष्ठ चराविज्ञ हिरूलाल डगौरा, दिलीप चन्द ठकुरी, सुमन चौधरी र डा। विकल्प पाण्डे सहितको टोलीले निकुञ्जमा चरा अवलोकनका क्रममा उक्त प्रजाति अभिलेख गरेको हो। ‘मदना चाँचर’को वैज्ञानिक नाम टर्डस बुबुल हो, जुन थ्रस ९चाँचर० परिवारअन्तर्गत पर्छ।
अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ ९आयुसिएन० ले यस प्रजातिलाई विश्वस्तरमा ‘कम चिन्ताजनक’ अर्थात् सामान्य श्रेणीमा राखेको छ। तर शुक्लाफाँटाका सन्दर्भमा भने यो नयाँ तथा दुर्लभ अभिलेखका रूपमा रहेको चराविज्ञ डगौराले बताए।
उनका अनुसार यो चरा प्रायः १८०० देखि २७०० मिटर उचाइका आद्र्र मध्यपहाडी तथा हिमाली वन क्षेत्रमा बसोबास गर्छ। जाडोयाममा केही तल झर्ने भए पनि तराईको समथर भूभागमा देखिनु असामान्य मानिन्छ।
“विश्वस्तरमा सामान्य प्रजाति भए पनि शुक्लाफाँटामा देखिनु स्थानीय रूपमा दुर्लभ घटना हो,” उनले भने, “यसले वातावरणीय अवस्था वा बसाइँसराइको ढाँचामा आएको परिवर्तनलाई संकेत गर्न सक्छ।”
करिब २८–२९ सेन्टिमिटर लम्बाइको यो चरामा भाले कालो रङको भई पखेटामा खैरो दाग देखिन्छ भने पोथी खैरो रङकी हुन्छ। भालेको चुच्चो पहेँलो र पोथीको हल्का पहेँलो वा खैरो हुन्छ।
नेपालदेखि उत्तरी भियतनामसम्मका पहाडी क्षेत्रमा सीमित मानिने यो प्रजाति तराईमा देखिनुले जलवायु परिवर्तन वा पारिस्थितिक प्रणालीमा भइरहेको फेरबदलको संकेत हुन सक्ने अनुमान गरिएको छ। नयाँ अभिलेखसँगै शुक्लाफाँटामा पाइने चराहरूको सङ्ख्या वृद्धि भएको छ।
पहाडी क्षेत्रको यो प्रजाति निकुञ्जमा अभिलेख भएसँगै शुक्लाफाँटालाई चरा अवलोकन तथा वैज्ञानिक अनुसन्धानका दृष्टिले अझ महत्त्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।