रास्वपा उम्मेदवार आनन्द चन्दको घरदैलो अभियान तीव्र, सुशासन र विकासलाई प्राथमिकता
धनगढीः कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्दले घरदैलो अभियानलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्।
माघ १९ गते पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै चुनावी अभियान सुरु गरेका चन्दले निर्वाचन मिति नजिकिँदै जाँदा आफ्नो प्रचार–प्रसारलाई थप सक्रिय बनाएका हुन्।
घरदैलोका क्रममा मतदाताबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको उनको दाबी छ। मतदाताले ढुक्क भएर अघि बढ्न आग्रह गर्दै यस क्षेत्रबाट रास्वपालाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरिरहेको उनले बताए।
चन्दका अनुसार अभियानका क्रममा मतदातामा रास्वपाप्रति सकारात्मक सोच र समर्थन देखिएको छ। चुनावी गतिविधिमा पार्टी एकढिक्का भएर लागेको उनले उल्लेख गरे।
उनले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा भौतिक पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेर मत मागिरहेको जानकारी दिए। निर्वाचित भएमा पाँच वर्षे कार्ययोजना (क्यालेन्डर) तयार गरी सोही आधारमा काम गर्ने प्रतिबद्धता पनि उनले जनाए।
सामुदायिक शिक्षाको गुणस्तर सुधार, सरकारी स्वास्थ्य सेवाको सुदृढीकरण, सेतीलाई केन्द्रीय अस्पतालका रूपमा स्तरोन्नति गर्ने तथा गेटामा आगामी वर्षदेखि चिकित्सा शिक्षाको पढाइ सुरु गर्ने विषयलाई पार्टीले प्रमुख मुद्दाका रूपमा अघि सारेको उनले बताए।
रास्वपाको मुख्य एजेन्डा सुशासन कायम गर्नु रहेको उल्लेख गर्दै चन्दले पारदर्शिता र उत्तरदायित्व स्थापित गर्न आफूले मत मागिरहेको बताए।
यसका साथै गौरीफन्टा नाकाको स्तरोन्नति, प्रत्येक घरमा स्वच्छ पिउने पानीको पहुँच विस्तार तथा रोजगारी सिर्जनाका लागि स्थानीय तहसँग सहकार्य गर्दै संघीय सरकारले प्रभावकारी योजना सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए।