जुत्ताको कथा

नारायण अवस्थी : कक्षा ६ मा पढ्दा मैले सर्वप्रथम नयाँ जुत्ता पाएको थिएँ। पचास रुपैयाँमा पाउने खाकी जुत्ता मेरो पहिलो नयाँ जुत्ता थियो। त्यो जुत्ता पाउँदाको खुशी अहिले सम्झिँदा पनि अनुहारमा बेग्लै चमक आउँछ।
हाम्रो परिवार खेतीपातीमा आत्मनिर्भर थियो। वर्षभरि पेटभरि खान पुग्ने अन्न, घ्यू र फलफूल हुन्थ्यो। ती बेचेर थोरै नगद आम्दानी गर्थ्यौं। सायद त्यही आम्दानीबाट बुवाले श्रीभारबाट त्यो जुत्ता किनेर ल्याउनु भएको थियो।

जुत्ताभित्र मोजा थियो कि थिएन, अहिले ठ्याक्कै याद भएन। तर नयाँ जुत्ता पाएको दिन गाउँभरि घुम्दै साथीहरूलाई देखाउँदा मलाई लागेको थियो-म संसारको सबैभन्दा भाग्यमानी केटो हुँ।
त्यो बेला हामीजस्ता बालबालिका जाडोमा समेत चप्पल लगाएर स्कुल जान्थ्यौँ। जाडोमा जुत्ता, त्यो पनि नयाँ पाउनु—मेतो लागि त विश्वविजय भन्दा कम थिएन। मलाई लागेको थियो—त्यो दिन म जति खुशी शायद नोपोलियन पनि कहिल्यै भएका थिएनन्।


शुभविवाह, हिमपात र जन्तीको यात्रा
त्यो वर्ष मंसिरको अन्त्यतिर गाउँकै एकजना काका नाता पर्ने ताराप्रसादको विवाह तय भयो। विवाह बझाङ जिल्लाको बित्थडचिर गाउँको मेल्टा भन्ने ठाउँमा हुने भयो।
त्यो बेला म कुनै विवाह छुटाउँदिन थिएँ। घरमा झगडा गरेरै भए पनि, लुकीलुकी भए पनि बिहेमा जान्थेँ।
विवाह मंसिर मध्यपछि थियो। त्यो भनेको वर्षा बढी भए पहाडमा हिउँ पर्ने समय हो। जन्ती हिँड्नुअघि नै पुर्चौडी नगरपालिका अन्तर्गत धारुडी क्षेत्र र बित्थड उपत्यकामा बाक्लो हिमपात भयो।
बित्थड पुग्दा हाम्रो भेट भयो घुँडासम्मको हिउँसँग। बाटोभरि सेतो संसार थियो।
त्यसबीच एक ठाउँमा म खाल्डोमा खसेँ। स्याउ खेतीका लागि खनिएको त्यो खाल्डोमा मेरो दाहिने खुट्टा फस्यो। खुट्टा त निस्कियो, तर जुत्ता हिउँभित्र अड्कियो। हातले हिउँ हटाएर जुत्ता निकालियो—निथ्रुक्क भिजेको थियो। त्यो जुत्ता लगाएर जन्तीको पुछार समातेर फेरि अघि बढियो।
जन्ती पुग्न नपाउँदै बाटोमै फेरि पानी पर्यो। जाडोले चिसिएको शरीर, भिजेको जुत्ता र थुरथुर काँप्दै बिहेको घरमा पुगेको त्यो दिन आज पनि हिजोजस्तै लाग्छ। यो घटना २०५१ सालको हो।
फरकफरक रङ्गका जुत्तासँगको सम्झना
भोलिपल्ट बिहान जुत्ता सुक्यो। दुलही पक्षले अबेर जन्ती बिदाइ गरेपछि हामी जन्ती टोलीसँगै एक दिन बित्थडमै बसेर अर्को दिन बिहान ११ बजे गाउँ फर्कियौं। त्यसको भोलिपल्ट विद्यालय जान बिहान जुत्ता लगाउँदा एक अनौठो कुरा देखियो। जुत्ताको साइज एउटै थियो। दुबै जुत्ता मेरा नै थिए। तर बायाँ खुट्टाको जुत्ता जस्ताकोतस्तै थियो भने दाहिने खुट्टाको रङ्ग मकैको रोटीजस्तो सेतो भएको थियो।
म एकछिन अकमकिएँ—लौ, कतै जुत्ता साटिएको त होइन? तर राम्ररी हेर्दा अनुमान लगाएँ—हिउँको कारण रङ्ग नै फेरेको हुनुपर्छ।
मसँग अर्को जुत्ता थिएन। जुत्ता किनेको मान्छेसँग नयाँ चप्पल हुने कुरै भएन। जुत्ता फरकफरक रङ्गको भए पनि लगाउनुबाहेक विकल्प थिएन।
विद्यालय गइरहें—एकपटक मुन्टो निहुराउँदै, एकपटक साहस जुटाउँदै। साथीहरू हेर्थे, सोध्थे—"जुत्ता किन एउटै जस्तो छैन?"
मेरो जवाफ एउटै हुन्थ्यो—"हिउँले सेतो बनायो।" र, सम्पूर्ण कथा बेलिविस्तार लगाउँथे।
त्यो बेलाका साथीहरू अहिलेका जस्ता थिएनन्। यस्ता कुरामा कसैले कसैलाई जिस्काउने चलन थिएन। पहिरनका विषयमा मजाक गरिदैनथ्यो। तर मेरो मनभित्र भने असहजता घुसेको हुन्थ्यो। फरक रङ्गको जुत्ता लगाएर हिँड्नु लाज लाग्दो अनुभव थियो मेरालागि ।
तर त्यो भन्दा ठूलो कुरा थियो—पहिलो पटक प्राप्त जुत्ता नछाड्ने हिम्मत।
जुत्ताले दिएको पाठ
त्यो जुत्ता कहिले हसाउँथ्यो, कहिले रुवाउँथ्यो।
कहिलेकाहीँ टोलाएर हेर्थें—कहिले फाट्ला भनेर।
तर उसले मलाई थाहा नदिई एउटा कुरा सिकायो—जिन्दगीमा अभाव हुँदा पनि आत्मसम्मान बचाउन सकिन्छ।
त्यो जुत्ता नहुँदो हो त, म त्यो विहेमा जान्थें त? जन्तीमा हिँड्न पाउँथें त? साथीहरूलाई देखाउन सक्ने त्यो गौरव हुन्थ्यो त?
आज जब म नयाँ जुत्ता किन्छु,
मन उसैगरी मुस्कुराउँछ,
र भन्छ—
“धेरै देखिस, तर पहिलो जुत्ता त तैं नै होस्।”
कस्तो लाग्यो मेरो जुत्ताको कथा? पढ्दापढ्दै आफ्नो विगत सम्झेर पक्कै मुस्कुराउनु भयो होला।