सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको ३ र डोटीको एक ठाउँमा आगलागी

२०८२ वैशाख १३, ०५:५१ खबर संवाददाता

धनगढीः आज कैलालीको ३ र डोटीको एक ठाउँमा आगलागी भएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–१३, जानकी गाउँपालिका–१, चुरे गाउँपालिका–६ र डोटीको दीपायल सिलगढी नगरपालिका–९ मा आगलागी भएको हो। धनगढी उपमहानगरपालिका–१३ राना टोलमा चार्जमा राखेको एक ईलोक्ट्रोनिक स्कुटीमा विद्युतको तार सर्ट भई आगलागी भएको सुदूरपश्चिम प्रदेश आपतकालिन सञ्चालन केन्द्र धनगढीले संकलन गरेको विवरणमा उल्लेख छ।

आगलागी हुँदा २ लाख ७५ हजार बराबरको क्षति भएको जनाइएको छ। जानकी गाउँपालिका–१ धर्मपुरमा पाँच जनाको खेतमा राखेको परालमा आगलागी भएको छ। परालमा आगलागी हुँदा १६ हजार बराबरको क्षति भएको छ। यस्तै कैलालीकै चुरे गाउँपालिका–६ ओखलढुंगामा बारीमा आगो लगाउने क्रममा एक गोठमा आगलागी भएको छ। गोठमा आगलागी हुँदा ६०  हजार बराबरको क्षति भएको छ।

उता डोटीको दीपायल सिलगढी नगरपालिका–९ तल्लो कलेनामा एक पसलमा ग्याँस सिलिन्डरबाट आगलागी भएको छ। सिलिन्डरमा आगलागी हुँदा पसलभित्र रहेका खाद्यन्न, लत्ताकपडा, भाडावर्तन लगायत खुद्रा सामान जलेर ४० हजार बराबरको क्षति भएको विवरणमा उल्लेख छ।       

कमेन्ट लोड गर्नुस