सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा क्षयरोग पत्ता लगाउन गाउँ गाउँ पुग्दै स्वास्थ्यकर्मी

२०८१ चैत्र १४, ०५:५४ खबर संवाददाता

बैतडीः बैतडीमा क्षयरोग पत्ता लगाउन स्वास्थ्यकर्मी गाउँ गाउँ पुग्न थालेका छन् ।

समुदायमा क्षयरोगका बिरामी भए पनि आफैँ उपचारमा नआउँदा क्षयरोगी पत्ता लगाउन टोली परिचालन गरिएको हो। यो वर्ष बैतडीमा चार जना थप क्षयरोगका बिरामी पत्ता लागेसँगै बिरामीको सङ्ख्या १०२ पुगेको छ। 
 ९८ जना पुराना र यो वर्ष थप चार जना गरेर १०२ जनाको क्षयरोगीको नियमित उपचार भइरहेको छ।

बैतडीमा गत वर्ष क्षयरोगका कारण ११ जना र चालु आर्थिक वर्षमा दुई जना गरेर १३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले बताए। विश्व क्षयरोग दिवसका अवसरमा पारेर सोमबार स्वास्थ्य कार्यालयले सरोकारवालासँग अन्तक्र्रिया गरेको छ। क्षयरोग पत्ता लगाउन समुदाय स्तरमै स्क्रिनिङ कार्यक्रम सञ्चालन भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए।

सरकारले सन् २०३५ सम्ममा क्षयरोग नियन्त्रण र सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य लिएको उनले बताए। क्षयरोगको औषधी सबै स्वास्थ्य संस्थामा निःशुल्क पाइने गरेको छ। क्षयरोगीले छ महिनासम्म नियमित औषधी सेवन गरेमा क्षयरोग पूर्ण रूपमा निको हुने स्वास्थ्यकर्मीले बताएका छन्। 

लगातार दुई हप्तासम्म खोकी लाग्नु, छाती दुखेर स्वास फेर्न गाह्रो हुनु, तौल घट्नु वा थकाइ लाग्नु, रगतसहित वा रहित खकार खोक्नु, साँझ पख हल्का ज्वरो र पसिना आउनु जस्ता लक्षण देखिएमा क्षयरोग हुन सक्छ भन्ने मान्यता रहेको छ। पछिल्लो समय ‘खोकी न सोकी क्षयरोग पो हो कि ?’ भन्ने मान्यता अनुसार क्षयरोग पत्ता लगाउने काम भइरहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपिन लेखकले बताए। पुर्चौडी नगरपालिका र सुर्नया गाउँपालिकामा क्षयरोगमुक्त कार्यक्रम सञ्चालन भइरहेको स्रोतव्यक्ति जयसिंह बडालले बताए। उपकरणसहित स्वास्थ्यकर्मीको टोली परिचालन भएर रोगी पत्ता लगाउने काम भइरहेको उनले बताए।
 

कमेन्ट लोड गर्नुस