नेपालमा वन डढेलोको अवस्था र विश्वव्यापी असर

सन्तोष धिक्तः नेपालमा हरेक वर्ष जङ्गल आगलागी (वनडढेलो) एक गम्भीर समस्या बनेर दोहोरि रहेको छ।
विशेष गरी हिउँद सकिएर वसन्त ऋतु लाग्दा, जब मौसम सुक्खा हुन्छ र हावा बढी चल्छ, तब डढेलोको जोखिम बढ्छ। वन क्षेत्रमा लागेको सानो आगो तीव्र रूपमा फैलिएर हजारौँ हेक्टर वन नष्ट पार्ने घटनाहरू बारम्बार दोहोरिएको छ।
वन विभागका अनुसार नेपालको करिब ४४.७४% भू–भाग वनले ढाकेको छ। वन विभागका अनुसार, हरेक वर्ष नेपालमा झन्डै २,००० भन्दा बढी आगलागीका घटना हुन्छन्, जसले हजारौँ हेक्टर वन नष्ट गर्छ। आ.व.२०८०–०८१ मा मात्रै, विभिन्न जिल्लामा भयावह डढेलोका कारण कैयौँ वन्यजन्तु मरेका, मानवीय बस्तीमा असर पुगेको, र लाखौँ रुपैयाँ बराबरको प्राकृतिक स्रोतसाधन नष्ट भएको विवरण छ।

विशेष गरी सुदूरपश्चिम, कर्णाली, गण्डकी, र कोशी प्रदेश का पहाडी तथा तराई क्षेत्रमा हरेक वर्ष आगलागीको धेरै घटना हुने गरेका छन्। तराईका साल वनहरूदेखि पहाडी मिश्रित वनसम्म, कुनै पनि क्षेत्र पूर्ण रूपमा सुरक्षित छैन। गर्मी बढ्दै जाँदा वन क्षेत्रमा घाँस सुक्ने, पात झर्ने, र हावाको बहाव तीव्र हुने भएकाले आगो नियन्त्रण गर्न झनै कठिन हुन्छ।

नेपालमा हुने आगलागीका लगभग ७०% घटना मानवजनित कारणले हुने गरेका छन्।
डढेलोको मुख्य कारणहरू यसप्रकार छन्।
१.चुरोटका ठुटा, सलाईका काँटी फाल्नु–मानिसहरूले वनभोज वा घाँसदाउरा गर्ने क्रममा चुरोट वा सलाइ फाल्दा आगो फैलिनेगरेको छ।
२.घाँस र झार जलाउने– केही किसानहरूले बाँझो जमिन सफा गर्न वा घाँसका सुकेका भाग हटाउन आगो लगाउँदा नियन्त्रणबाहिर पुग्छ र आगलागी हुन जान्छ।
३.मौसमीय कारण– सुख्खा मौसम, उच्च तापक्रम, र हावाको तीव्रताले पनि आगो फैलिन मद्दत गर्छ।
४.विद्युत् लाइनमा समस्या– वन क्षेत्रमाथि गएको बिजुलीको तार चुँडिएर ठोक्किँदा आगलागी हुने घटना पनि भएका छन्।
डढेलोले पार्ने असरहरू
डढेलोको असर केवल वनमै सीमित हुँदैन, यसले वातावरण, वन्यजन्तु, मानव स्वास्थ्य, र जल स्रोतहरूमा पनि दीर्घकालीन प्रभाव पार्छ।
वन्यजन्तु र जैविक विविधता नष्ट हुन्छन्– आगलागीले जङ्गली जनावरका वासस्थान समाप्त पार्ने मात्र होइन, उनीहरूको मृत्यु पनि हुनेगर्छ ।
वातावरणमा कार्बन उत्सर्जन बढ्छ– जलेका रुखपातले वायुमण्डलमा ठूलो मात्रामा कार्बन डाइअक्साइड उत्सर्जन गर्छ, जसले जलवायु परिवर्तनलाई गति दिन्छ।
ड्ड माटोको उर्वराशक्ति घट्छ– आगोले जमिनको सतह जलाउँदा माटोको उर्वराशक्ति कम हुन्छ, जसले भविष्यमा वन पुनर्जीवन हुन कठिन बनाउँछ।
मानवीय बस्ती जोखिममा पर्छन्– धेरै ठाउँमा डढेलो मानव बस्तीमा समेत पुग्ने गर्छ, जसले घरगोठ नष्ट गर्ने, चौपायालाई मार्ने, र जनधनको क्षति गराउने सम्भावना बढाउँछ।
नेपालमा डढेलो नियन्त्रणका लागि विभिन्न सरकारी र गैरसरकारी प्रयासहरू भइरहेका छन्।
१.सामुदायिक वन उपभोक्ता समूह (ऋँग्न्क) को सक्रियता– सामुदायिक वनका सदस्यहरूले आगलागी नियन्त्रण गर्न पहिला नै तयारी गर्ने, चेतनामूलक कार्यक्रम गर्ने, र निगरानी बढाउने काम गर्छन्।
२.वन विभागको निगरानी र सचेतना कार्यक्रम– सरकारले डढेलो रोकथामका लागि चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।
३.डढेलो नियन्त्रणका लागि प्रविधिको उपयोग– केही क्षेत्रमा ड्रोन निगरानी, र उपग्रह डाटा प्रयोग गरी आगलागीको सम्भावित क्षेत्रको पहिचान गर्ने प्रयासहरू थालिएको छ।
४.स्थानीय तहको सहभागिता– नगरपालिकाहरूले दमकल, पानीको व्यवस्था, र राहत संयोजन गर्न भूमिका खेल्न सक्छन्।
तर, अझै पनि धेरै ठाउँमा प्रभावकारी उपकरणको अभाव, तालिम प्राप्त जनशक्ति नहुनु, र जनचेतनाको कमी जस्ता समस्याहरू रहेका छन्।
विश्वव्यापी वन आगलागीको अवस्था
नेपालमा मात्रै होइन, विश्वभर नै वन डढेलोको समस्या भयावह रूपमा देखिएको छ।
जलवायु परिवर्तनका कारण उच्च तापक्रम, अनियमित वर्षा, र सुख्खा मौसमले आगलागीको जोखिम झन् बढाइरहेको छ।सन् २०२४ मा विश्वभर करिब ३४० मिलियन हेक्टर वन क्षेत्र आगलागिबाट प्रभावित भएको छ।अष्ट्रेलिया, क्यानडा, अमेरिका, र ब्राजिल जस्ता देशहरूमा डढेलो बारम्बार दोहोरिइरहेका छन्।
क्यानडामा मात्र २०२३ मा १७.६ मिलियन हेक्टर जंगल आगलागिबाट नष्ट भएको थियो।अमेजÞोन जंगलमा हरेक वर्ष हजारौँ आगलागीका घटना दर्ता हुन्छन्, जसले जलवायु परिवर्तनमा गम्भीर असर पार्छ।
क्यालिफोर्नियामा भीषण डढेलो आपत्कालीन अवस्था र जलवायु परिवर्तनको चुनौती
जनवरी २०२५ मा, दक्षिणी क्यालिफोर्नियाले श्रृंखलाबद्ध विनाशकारी डढेलोहरूको सामना गर्यो, जसले लस एन्जलस महानगर क्षेत्र र सान डिएगो काउन्टीमा गम्भीर क्षति पुर्यायो।
यी डढेलोले ५७,००० एकड भन्दा बढी जमिन जलाए, २९ जनाको ज्यान लियो, र १८,००० भन्दा बढी घर र संरचनाहरू ध्वस्त पारे, साथै २००,००० भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो। पालिसेड्स फायरले २३,४४८ एकड जमिन र ६,८३७ संरचनाहरू ध्वस्त पार्यो भने ईटन फायरले १४,०२१ एकड जमिन र १०,००० भन्दा बढी घर र व्यवसायहरू जलाएको थियो।
लस एन्जलसको उत्तरमा लागेको हुघ्स फायरले ३०,००० भन्दा बढी मानिसहरूलाई विस्थापित ग¥यो। यी विनाशकारी घटनाहरूको मुख्य कारण कम आद्र्रता, उच्च हावाको गति, र लामो समयसम्मको खडेरी थियो। क्यालिफोर्नियाको वन विभाग (ऋब्ी ँक्ष्च्भ्)ले निरन्तर अनुगमन र व्यवस्थापन गरिरहेको छ, तर जलवायु परिवर्तनले क्यालिफोर्नियामा डढेलोको जोखिमलाई उल्लेखनीय रूपमा बढाएको छ।
यी डढेलोहरूले समुदायहरूलाई गहिरो रूपमा प्रभावित पारेको छ, जसले आपत्कालीन प्रतिक्रिया र वन व्यवस्थापनको आवश्यकतालाई जोड दिएको छ। हजारौँ मानिसहरू घरबारविहीन भए, र आर्थिक क्षति अरबौँ डलरमा पुग्यो। यस विनाशकारी डढेलोको अर्को गम्भीर पक्ष भनेको जलवायु परिवर्तनमा यसको नकारात्मक प्रभाव हो।
ठूलो मात्रामा वनस्पति र संरचनाहरू जल्दा वायुमण्डलमा कार्बन डाइअक्साइड र अन्यहरितगृहग्यासहरूको(न्चभभल ज्यगकभ न्बकभक)मात्रा बढ्यो, जसले ग्लोबल वार्मिङलाई थप तीव्र बनाउँछ। यसले भविष्यमा थप डढेलोको जोखिम बढाउने र जलवायु परिवर्तनको चक्रलाई थप जटिल बनाउने सम्भावना रहेकोछ।
यो घटनाले प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको अन्तरसम्बन्धित प्रभावलाई कम गर्नको लागि तत्काल र व्यापक कदम चाल्नुपर्ने आवश्यकतालाई उजागर गर्दछ। डढेलो नियन्त्रण गर्न विश्वभरि विभिन्न प्रविधिहरू जस्तै ड्रोन निगरानी, अग्नि रोकथामका लागि स्मार्ट सेन्सर, र स्याटेलाइट इमेजरी को प्रयोग भइरहेको छ।
नेपालमा डढेलो रोकथामका लागि तत्काल उपायहरू आवश्यक छन्। सरकारले स्थानीय समुदायलाई सक्रिय बनाउन, प्रविधिको सही उपयोग गर्न, र जनचेतना अभिवृद्धि गर्न ठोस रणनीति बनाउनु आवश्यक छ।
त्यस्तै, विश्वव्यापी रूपमा पनि डढेलो नियन्त्रणका लागि सकारात्मक नीतिहरू, अन्तर्राष्ट्रिय सहकार्य, र जलवायु परिवर्तन नियन्त्रणका उपायहरू अवलम्बन गर्न जरुरी छ।यदि डढेलो नियन्त्रणका प्रयासहरू अझ प्रभावकारी ढंगले लागु गरिएन भने, वन्यजन्तु, जैविक विविधता, र मानव जीवनमा पर्ने असर झन् भयावह बन्नेछ। अहिले नै सचेत नभए, यसको दीर्घकालीन असर गम्भीर हुने निश्चित छ।