सुदूर नेपाललाई विश्वसँग जोड्दै

यू–१९ महिला विश्वकपः नेपालले आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै

२०८१ माघ ७, ११:१२

काठमाडौंः आईसीसी महिला यू–१९ टी ट्वेन्टी विश्वकपमा नेपालले आज स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ।

वाइएसडी यूकेएम क्रिकेट ओभलमा खेल नेपाली समय अनुसार दिउँसो सवा १२ बजेबाट सुरू हुनेछ। आफ्नो पहिलो खेलमा पराजित दुवै टोली पुनरागमनको प्रयासमा हुनेछन्। नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो। सो खेलमा बंगलादेशले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपालले सुरू ब्याटिङ गरेको थियो। १८ ओभर २ बल मात्र पिचमा टिक्न सकेको नेपालले केवल ५२ रन बनाएको थियो। 

सो खेलमा नेपालको ‘रनिङ बिट्विन द विकेट’ निकै खराब रहँदा ५ खेलाडी रन आउट भएका थिए। जवाफमा नेपालले राम्रो बलिङ गरे पनि ५२ रनको सामान्य योगफल रक्षा गर्न पर्याप्त भएन। टिमले आज अघिल्लो खेलमा गरेका गल्ती सुधार्न आवश्यक छ। प्रशिक्षक महेश रिजालले कप्तान पूजा महतोबाट राम्रो प्रदर्शनको अपेक्षा गरेका छन्। उपकप्तान सोनी पाख्रिन पनि चल्नु आवश्यक छ। समूहको अन्तिम खेलमा नेपालले अस्ट्रेलियासँग खेल्नु पर्ने हुँदा यो खेलमा हार बेहोरे।

नेपाल बाहिरिने खतरा रहेको छ अर्को तर्फ स्कटल्यान्ड, अस्ट्रेलियासँग ९ विकेटले पराजित भएको थियो। ५९ रनमा अलआउट भएको स्कटल्यान्डलाई पराजित गर्ने क्रममा अस्ट्रेलियाले १५ ओभर १ बलमा केवल १ विकेट गुमाएको थियो। पुनरागमनको प्रयासमा रहेका दुई टोली पहिलो पटक एकअर्का विरुद्ध मैदान उत्रिन लागेका हुन्। समूह ‘डी’मा दुवै टोली अंकविहीन छन्। नेपाल नेट रन रेटको आधारमा तेस्रो र स्कटल्यान्ड पुछारमा छ।

२ अंक सहित अस्ट्रेलिया शीर्ष स्थानमा छ भने समान अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ। हरेक समूहबाट तीन टोली सुपर सिक्समा प्रवेश गर्ने हुँदा यस खेलमा जित हात पार्ने टोली अघिल्लो चरणमा पुग्ने सम्भावना उच्च हुनेछ। विश्वकपमा यस बाहेक आज अन्य ५ खेल पनि हुँदै छ।

कमेन्ट लोड गर्नुस