अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टिम घोषणा
धनगढी : कैलालीको घोडाघोडीले टिम घोषणा गरेको छ। माघ १९ गतेदेखि २८ गतेसम्म धनगढीमा हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि घोडाघोडी–११ ले टिम घोषणा गरेको हो।
नेपाल क्रिकेट संघको वार्षिक क्यालेन्डरमा समावेश भएको गो ड्रिमर्सको आयोजनामा धनगढीमा हुने प्रतियोगिताका लागि हालै सम्पन्न भएको नेपाल प्रिमियर लिग (एनपिएल)का टिममा आबद्ध रहेका सात खेलाडीसहित विभिन्न उमेर समूहका राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्रिकेटर समावेश गरेर घोडाघोडीले टिम घोषणा गरेको छ। ज्ञानेन्द्र क्षेत्री मुख्य प्रशिक्षक रहेको १४ सदस्यीय टोली घोषणा गरिएको हो।
नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता जनकपुर बोल्टबाट खेलेका शेर मल्ल प्रमुख खेलाडीको रुपमा रहेका छन्। उनले नेपाल ए टिमबाट पनि खेलेका छन्। उनी नेपालको १९ वर्ष मुनिको राष्ट्रिय टिमका सदस्य पनि रहेका छन्। त्यसैगरी १९ वर्ष मुनिको राष्ट्रिय टिमका सदस्य नरेन साउँद पनि टोलीमा रहेका छन्। सुदूरपश्चिम रोयल्सबाट एनपिएल खेलेका उनले एकै खेलमा ५ विकेट लिएर चर्चा बटुलेका थिए। टिममा सुदूरपश्चिम रोयल्सका सदस्य रहेका सबैभन्दा बढी ५ जना खेलाडी समावेश छन्। सुदूरपश्चिम रोयल्सका सदस्य रहेका सुदूरपश्चिमको प्रधानमन्त्री कपको टीमका सदस्य धर्मराज जोशी, १६ वर्ष मुनिको सुदूरपश्चिम टिमका सदस्य भुपेश जोशी, सुदूरपश्चिमको प्रधानमन्त्री कपको टिमका सदस्य टेक रावत र सुदूरपश्चिमको प्रधानमन्त्री कपको टिमका सदस्य आयुव चन्द घोडाघोडीको टिममा रहेका छन्।
यस्तै एनपिएलको चितवन राईनोजको टिमका सदस्य तथा नेपाल ए टिमका सदस्य नरेश सार्की पनि टिममा रहेका छन्। १६ वर्ष मुनिको नेपाली टोलीका खेलाडी अशोक धामी, कर्णालीको प्रधानमन्त्री कपको टिमका सदस्य विपिन विक्रम शाही र दिनेश रावत, सुदूरपश्चिमको प्रधानमन्त्री कपको टिमका सदस्यहरू दीपक टमाटा, योगेश भाट, सौर्य श्रेष्ठ र १९ वर्ष मुनिका प्रदेश खेलाडी सुदान्सु रावल घोडाघोडीको टिममा रहेका छन्। टिम म्यानेजरमा धर्मराज जोशी रहेका छन्।
धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ । रनिङ ट्रफीको रुपमा टी–२० फमर््याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०÷५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ । लिगकम नकआउटका आधारमा आयोजना हुने प्रतियोगिताका सम्पूर्ण खेलहरू धनगढी स्थित फाप्ला अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछन् ।
प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरूको सहभागीता रहनेछ । प्रतियोगितामा डिसिए धनगढी, सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाण्डौँ, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड, न्यु होराईजन वुटवल, दशरथ चन्द एकेडेमी बैतडी र वोष्टन क्रिकेट झापाको सहभागीता जनाउनेछन् । प्रतियोगितामा सहभागी टोलीमा ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाईनेछ । ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टीमका खेलाडी रहेका छन् भने बी क्याटोगोरीमा नेपाली राष्ट्रिय टिम ए, यु– १९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन् । सी क्याटोगोरीमा यु– १६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु–१९ र यु–१६ का खेलाडी र अन्य खेलाडीहरू रहेका छन् ।