सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा जारी पीएम कपमा एपीएफको लगातार दोस्रो जित

२०८१ माघ २, ०३:०९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटमा सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) को टिमले लगातार दोस्रो जित निकालेको छ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा एपीएफले गण्डकीलाई ८ विकेटले हरायो। गण्डकीले दिएको ७१ रनको लक्ष्य एपीएफले २ विकेट गुमाएर ९ ओभरमा पूरा गर्यो। एपीएफका लागि कप्तान इन्दू बर्माले अविजित २६ रन जोड्दा रोमा थापा १४ रनमा नटआउट रहिन्। त्यस्तै राजमति ऐरीले ८ तथा ममता चौधरीले १८ रन थपे। त्यसअघि खराब मौसमका कारण १५ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको गण्डकीले १५ ओभरमा ५ विकेट गुमाएर ७० रन जोडेको थियो।

गण्डकीका लागि ओपनरद्धय सिर्जना पौडेलले २५ तथा स्रिया शाहीले १३ रन जोडिन्। रेखा तामाङले १७ रन जोड्दा निरुता जीटीले ५ रन थपिन्। बलिङमा एपीएफकी विनु बुढामगरले २ तथा करुणा भण्डारीले १ विकेट लिइन्। पहिलो खेलमा गण्डकी सुदूरपश्चिमसँग पराजित भएको थियो भने एपीएफले कर्णाली प्रदेशलाई हराएको थियो। यो खेलसहित एपीएफले लगातार दोस्रो जित निकाल्दा गण्डकी दोस्रो खेलमा पनि पराजित भयो।

कमेन्ट लोड गर्नुस