प्रधानमन्त्री कप महिला क्रिकेटः डडेल्धुराले कञ्चनपुरलाई हरायो
बैतडीः बैतडीमा जारी प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनौट क्रिकेट प्रतियोगितामा डडेल्धुराले लगातार दोस्रो जित निकालेको छ।
दोस्रो जित दर्ता गर्ने क्रममा डडेल्धुराले कञ्चनपुरलाई ६ विकेटले पराजित गर्याे। जितका लागि पाएको ८९ रनको लक्ष्य डडेल्धुराले १७. दशमलव एक ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्याे। जसमा रविना धामीले अविजित १६ र हेमा भट्टले १५ रन बनाइन्। बलिङमा कञ्चनपुरका मञ्जु विष्टले २ विकेट हात पारिन्। यसअघि दशरथचन्द क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको कञ्चनपुर १६.५ ओभरमा ८८ रनमा अलआउट भयो।
उसका रेवती धामीले सर्वाधिक ४१ रनको योगदान गरिन्। डडेल्धुराका लागि हिरा साउदले ३ विकेट लिइन्। उनी प्लेयर अफ द म्याच चुनिइन्। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना र बैतडी जिल्ला क्रिकेट संघको सहआयोजना पुस १९ गतेदेखि सुरू भएको प्रतियोगिता पुस २५ गते सम्पन्न हुनेछ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छनौट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले बताए। प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ १ गतेदेखि धनगढीमा हुँदैछ।