एनपिएलः कारका दाबेदार दीपेन्द्रसिंह ऐरी
धनगढीः नेपाल क्रिकेट संघ (क्यान)ले एनपिएलमा उत्कृष्ट प्रदर्शन गर्ने एक नेपाली खेलाडीलाई कार दिने घोषणा गरेको छ।
एनपिएलमा सहभागीमध्ये उत्कृष्ट नेपाली खेलाडीले ओमोडाको कार पुरस्कार पाउनेछन्। सुदूरपश्चिम र जनकपुरबिचको फाइनल खेलपछि एकजना उत्कृष्ट नेपाली खेलाडी भाग्यमानी हुनेछन्। क्यानले लिगदेखि फाइनलसम्म घरेलु खेलाडीको प्रदर्शन आधार मानेर कार दिने जनाएको छ। दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा सुदूरपश्चिम फाइनलमा पुगेको छ।
ब्याटिङ र बलिङमा उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। फिल्डिङका क्रममा मैदानको चारैतिर भागदौड गर्न सक्ने दीपेन्द्रले बलिङमा पनि प्रेरणादायी प्रदर्शन गरेका छन्। टोलीलाई आवश्यक परेका वेला उनले ‘ब्रेक’ दिलाएका छन्। उनले एक खेलमा अर्धशतक बनाए। विराटनगरविरुद्ध अविजित ४७ रन बनाउँदै उनी म्यान अफ दी म्याच भएका थिए।
पहिलो तथा दोस्रो ब्याटिङका क्रममा सुदूरपश्चिमको कन्डिसनअनुसार उनले आफ्नो ब्याटिङ अर्डर परिवर्तन गरी जित दिलाएका छन्। एनपिएलमा ४३ को औसतमा उनले रन बनाइरहेका छन्। उनले काठमाडौं गुर्खाजविरुद्ध ४३ रन, लुम्बिनीविरुद्ध अविजित ४३ रन, पोखराविरुद्ध २० रन तथा कर्णालीविरुद्ध ३८ रन बनाए। लिग चरणमा उनी जनकपुरविरुद्ध शून्य रनमा आउट भएका थिए।
बलिङका क्रममा उनले आठ विकेट हात पारेका छन्। दीपेन्द्रसमक्ष अझ फाइनलको एक खेल छ। ब्याटिङ र बलिङमा पुनः एकपटक उत्कृष्ट प्रदर्शन गर्दा उनी नेपाली खेलाडीमध्ये अगाडि आउनेछन्। रोहितले जस्तै ब्याटिङ र बलिङमा अलराउन्ड प्रदर्शन गरिरहेका उनी पनि कारका प्रबल दाबेदार खेलाडीमा पर्छन्। उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स प्रतिस्पर्धा गर्दै छन्।