व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुँदै अछामको चौरपाटीका किसान
अछाम: अछामको चौरपाटी गाउँपालिका–१ का नविन साउँद यति बेला तरकारी खेतीका लागि टनेल निर्माणमा व्यस्त छन्।
उनी पहिलो पटक नयाँ प्रविधि अपनाएर तरकारी खेती गर्ने तयारीमा जुटेका हुन्। गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, चौरपाटी गाउँपालिको समन्वय र मालिका विकास संघ नेपालको साझेदारीमा सञ्चालित जलवायुमैत्री गाउँ परियोजना अन्तर्गत किसानलाई टनेल वितरण गरिएको छ। सोही मालिका विकास संघले टनेल निर्माणका लागि आवश्यक सामाग्री दिएपछि पालिकाको वडा नम्बर १ स्थित खान्डाँडा टोलका स्थानीय साउँदले टनेल बनाएका हुन्।
वर्षौँदेखि कृषिबाटै गुजारा चलाउँदै आएका नविनले अहिले नयाँ प्रविधिप्रति चासो दिएर व्यावसायिक कृषि खेती गर्ने तयारी थालेका छन्। उनी आफूलाई व्यावसायिक कृषि खेतीतर्फ आकर्षण गराउनुमा मालिका विकास संघको योगदान रहेको बताउँछन्। सो संघले आफूहरूलाई टनेल निर्माणका लागि आवश्यक सामाग्रीका साथै विउविजन पनि दिएको बताए। अब आफू तरकारीमा आत्मनिर्भर हुने उनको विश्वास छ।
उनले भने, 'पहिला बजारबाट टमाटर लगायतका तरकारी किने खान्थ्यौँ। अब भने आफ्नै बारीको तरकारी खान मिल्छ। बजारमा बेच्न नमिले पनि खानको लागि बजारबाट किन्नु पर्ने बाध्यताको अन्त्य हुन्छ होला।' आफूलाई व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित गरेको भन्दै उनले मालिका विकास संघलाई धन्यवाद व्यक्त गरे। उनी मात्रै होइन सो टोलमा करिब एक दर्जन किसान टनेल निर्माण गरिरहेका छन्।
विकास संघले किसानहरूलाई कृषिमा आत्मनिर्भर बनाउन चौरपाटी गाउँपालिकामा काम गरिरहेको छ। केही वर्ष अघिदेखि काम गर्दै आएको संघले यसअघि पनि पटक पटक किसानलाई विउविजन वितरण गरेको थियो। त्यस यता स्थानीय किसानहरूले खासै बजारबाट गोलभेँडा लगायतका तरकारी किन्नु परेको छैन। तर पनि पानीको अभावका कारण किसानहरूले तरकारी लगायतका खेती गर्न सकेका छैनन्।
चौरपाटी गाउँपालिकाका विभिन्न टोलमा पिउनलाई समेत पानी हुँदैन। त्यस कारण तरकारी लगायतका खेती गर्न किसानहरू समस्या झेलिरहेका छन्। पहिलो चरणमा गाउँपालिकाका वडा नम्बर १ र २ का किसानहरूलाई कृषि खेतीका लागि टनेल हस्तान्तरण गरेको छ। मालिका विकास संघका जलवायु मैत्री गाउँ परियोजना अधिकृत जनक कठरियाले वडा नम्बर १ र २ का ९० जना कृषकलाई टनेल वितरण गरिएको जानकारी दिए।
उनले वडा नम्बर १ का ११ वटा समूहका ५५ जना सदस्य र वडा नम्बर २ का ७ वटा समूहका ३५ जना सदस्यलाई तरकारी खेतीका लागि टनेल वितरण गरिएको बताए। उनका अनुसार एक समूहका पाँच जना सदस्यलाई टनेल हस्तान्तरण गरिएको हो। यस्तै पानीको समस्या भएको ठाउँमा थोपा सिचाईका लागि ड्रम र पाइप सहयोग गरिएको छ।
जलवायु परिवर्तनका कारण उत्पादन घटिरहेको भन्दै सो परियोजनामार्फत किसानलाई विभिन्न सहयोग गरिँदै आएको छ। यो परियोजनाले जलवायुमैत्री अनुकलन कृषि प्रविधि अपनाएर कृषकलाई कृषि क्षेत्रतर्फ आकर्षित गरिरहेको छ। यसको लक्ष्य ग्रामीण भेगका नागरिकको आम्दानी बढाउने, आधुनिक कृषि गर्न प्रेरित गर्ने, कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने रहेको बताइएको छ। सो परियोजनाका अधिकृत कठरियाले किसानहरूलाई विभिन्न विउविजनहरु पनि बाँडिएको बताए।
उनले गोलभेँडा, केराउ, प्याज, मुला, काउली, सिमी, बोडीलगायतका विउविजन वितरण गरिएको जानकारी दिए। यो परियोजनाले अहिले सोकट र सिउँडीमा काम गरिरहेको छ। आगामी वर्षहरूमा अन्य वडामा पनि काम गर्ने आफ्नो योजना रहेको उनले बताए। यसअघि सो परियोजना अन्तर्गत किसानहरुको खेतको माटोसमेत परिक्षण गरिएको थियो।
यो परियोजनाले कृषि उत्पादन र उत्पादकत्व वृद्धि, माटोको उर्वराशक्ति पहिचान, र जलवायु मैत्री कृषि अभ्यास अवलम्बन गर्न सहयोग गर्ने लक्ष्य राखेको छ। यसै गरी आइतबारबाट तरकारी खेती सम्बन्धी तालिम पनि सुरु गरिएको छ। यो तालिम १८ वटै समूहका किसानहरूलाई दिइने परियोजना अधिकृत कठरियाले जानकारी दिए।