सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा यी हुन् दशैतिहारमा ७ लाखको फूल बिक्री गर्ने उद्यमी किसान

२०८१ कार्तिक २४, ०६:५२ नारायण अवस्थी

धनगढीः यो वर्ष धनगढीमा ६ जना पुष्प व्यवसायी किसानले ७ लाख १० हजारको फूल बिक्री गरेका छन्।

दशैतिहारको अवधिमा मात्रै ६ जना पुष्प व्यवसायी किसानले ७ लाखभन्दा बढीको फूल तथा माला बिक्री गरेका हुन्। धनगढी उपमहानगरपालिकाको फूलमा आत्मनिर्भर हुने लक्ष्यअनुसार तालिम लिएका ६ जना किसानले व्यावसायिक फूल खेती गरेका छन्। ६ जना किसानले करिब ४ बिघा क्षेत्रफलमा गरेको फूलखीतीलाई हरेक वर्ष निरन्तरता दिने भएका छन्।

यो वर्ष भारतबाट धनगढीमा फूल नभित्रिएकाले स्थानीय किसानलाई बजारीकरणमा सहयोग पुगेको हो। धनगढी–४ की रिता अवस्थीले तिहारमा मात्रै एक लाखको फूल बिक्री गरेकी छन्। उनले भारतीय फूल धनगढीमा नआएकाले यहाँका किसानलाई फूल बिक्री गर्न सहज बताइन। ‘हामीलाई फूल खेती गर्न उपमहानगरले आर्थिक र प्राविधिक सहयोग गरेको छ। बजारीकरणमा समेत उपमहानगरले सहयोग गर्दा उत्पादित सबै फूल बिक्री भयो।’

धनगढी–१२ जुगेडा ‘सी’ गाउँकी कृतिका सिंहले यो वर्ष तिहारमा मात्रै एक लाख ५० हजारको फूल बिक्री गरेकी छन्। उनले यो वर्ष पाँच कट्ठा जग्गामा सयपत्री लगाएकोमा बजारमा प्रतिस्पर्धा हुँदा मूल्य पाउन भने समस्या भएको गुनासो गरेकी छन्। यस्तै, जुगेडा सी गाउँकै कुमारी आशा पन्त मिश्रले चार कट्ठामा लगाएको फूलबाट दशैंतिहारको अवधिमा एक लाख १० हजार आम्दानी गरेकी छन्।

दुई बिघामा पुष्पखीती गरेको बताउने धनगढी–६ मटियारीकी सुशीला बिष्टले यो वर्ष ४ लाखको फूल बिक्री गरेकी छन्। यो वर्ष फूल बिक्री नहुने समस्या हटे पनि स्थानीय बजारमा फूलको उचित मूल्य पाउन समस्या भएको बिष्टले बताइन्। ‘यो वर्ष सबै किसानको फूल बिक्री भयो तर उचित मूल्य पाउन समस्या भयो।

फूल बिक्री हुन्छ भनेर घरमा उत्पादन गरेका स्थानीयले समेत बिक्री गर्दा व्यावसायिक खेती गर्नेहरूले तिहारमा उचित मूल्य पाउन समस्या भयो’, बिष्टले भनिन्। धनगढी–८ मोतीचोकका पुष्प व्यवसायी जोगेन्द्रसिंह सेटीले ६ कट्ठामा लगाएको सयपत्री फूल भाइटीकाको अघिल्लो दिनमै बिक्री भएको थियो। यो पटक सेटीले दशैंतिहारमा २ लाख ५० हजारको फूल बिक्री गरेका हुन्।

वर्षभरी नै धनगढीलाई फूल उत्पादनमा आत्मनिर्भर बनाउन सके बजार पाउन समस्या नहुने सेटीको बुझाई छ। धनगढी उपमहानगरपालिकाले फूलखेती गर्न इच्छुक किसानलाई गत वर्ष तालिम दिएको थियो। किसानलाई पुष्पखेती र सजावट सम्बन्धी तालिम दिइएको थियो। उपमहानगरले किसानलाई बिउ, मल विषादी, सिँचाइ तथा बजारीकरणमा समेत सहयोग गरेको छ।

स्थानीय बजारमा बिक्री नभएको फूल काठमाडौं पठाउन किसानलाई उपमहानगरले हवाई भाडामा सहुलियतका लागि पहल गर्नुका साथै नगद अनुदान समेत दिएको छ। दशैंतिहारमा दुई लाख ५० हजारको फूल बिक्री गरेको धनगढी–१३ का किसान पुष्करसिंह बिष्टले बताए। ‘हामीलाई उपमहानगरपालिकाले सुरूमा तालिम दियो।

त्यसपछि बिउ, मल र प्रविधिमा समेत सहयोग गर्‍यो’, उनले भने, ‘उपमहानगरले हवाई कम्पनीसँग कुरा गरेर प्रति किलोग्रामको २२५ हवाई भाडा लाग्नेमा घटाएर ९० रुपैयाँ लगायो। ९० रुपैयाँमा पनि ५० रुपैयाँ अनुदान उपमहानगरले दिएकाले हामीले ४० रुपैयाँ मात्रै तिर्नुपर्‍यो।’ धनगढी उपमहानगरपालिकाले पुष्प व्यवसायी किसानहरूला आर्थिक र प्राविधिक सहयोग गर्दै आएको छ। किसानलाई उत्पादित फूल बिक्री गर्न सहज होस् भनेर नगरपालिका परिसरमा वातानुकूलित फूल बिक्री केन्द्र सञ्चालन गर्न समेत सहयोग गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस