पूर्व मन्त्रीसमेत रहेका प्रदेश सांसद मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर
काठमाडौँः सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद एवम् पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे)लाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ।
सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेलाई दोषी ठहर गरेको हो। मनाङे मनाङ (ख) बाट दोस्रो पटक स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका थिए।
यसअघि, उच्च अदालत पाटनले उनलाई दोषी ठहर गरेकोमा उच्चको फैसलाविरुद्ध सर्वोच्चमा परेको निवेदनमा सर्वोच्चले दाबी नपुग्ने ठहर गर्दै उच्चकै फैसला सदर गरेको हो। उच्चले उनलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो। फैसला अनुसार मनाङेले अब तीन वर्ष जेल बस्नुपर्छ। यसअघि नै ज्यान मार्ने उद्योगको अभियोगमा उनी दुई वर्ष जेल बसिसकेका छन।
संविधानको धारा १७८ मा प्रदेशसभा सदस्य बन्न नैतिक पतन देखिने फौजदारी कसुर सजाय नपाएको हुनुपर्ने व्यवस्था छ।