सुदूरपश्चिम महोत्सवको १८ वर्ष : शालीन माला आन्दोलनको २१ मागमा पाँच मात्र पूरा
धनगढी : सुदूरपश्चिम प्रदेशमा विकास चाहियो भन्दै २१ बुँदे माग राखेर २०६३ मङ्सिर २२ गतेदेखि शालीन माला आन्दोलन सुरु भयो। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल उद्योग वाणिज्य संघ, कैलालीको अध्यक्ष हुँदा शालीन माला आन्दोलन सुरु गरेका हुन।
उद्योग वाणिज्य संघ, कैलालीले सुदूरपश्चिम महोत्सवमार्फत शालीन माला आन्दोलन सुरु गरेको १८ वर्ष भएको छ। उद्योग वाणिज्य संघले गर्दै आएका मागहरूमा १० वटा मागहरू अझै सम्बोधन भएका छैनन। आन्दोलनको सुरुवात गरिएको १८ वर्षसम्म पाँचवटा मागहरू मात्र पूरा भएका हुन्। धनगढीमा २०६३ सालमा आयोजना गरिएको सुदूरपश्चिम महोत्सवमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई २१ किलोग्रामको फूलको माला लगाएर आन्दोलनको सुवात गरिएको थियो। उद्योग वाणिज्य संघ, कैलालीका महासचिव ओम विष्टले पाँच वटा मागहरू मात्र पूर्ण रूपमा सम्बोधन भएका बताए। सुदूरपश्चिममा अप्टीकल फाइबर विस्तार, विश्वविद्यालय स्थापना, रङ्गशाला निर्माण, आइसीयु जडान र दुग्ध प्रशोधन केन्द्र स्थापनका लागि राखिएका मागहरू पूरा भइसकेका हुन्। विष्टले भने, ‘तीन खण्डमा माग विभाजन गरेका छौ। सम्पन्न भएका माग, कार्यान्वयनको चरणमा रहेका माग र अझै सम्बोधन गर्न बाँकी रहेका माग भनेर विभाजन गरेका छौ। पाँच वटा मागहरू सम्पन्न भएका छन। ६ वटा माग अगाडी बढेका छन। १० वटा मागहरू सम्बोधन भएका छैनन। सरकार प्रमुख आएको खण्डमा १० किलोग्रामको माला लगाउने हो।’
धनगढीको फाप्लामा अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण, धनगढी सभा हल निर्माण, दोदोधारा–चाँदनीमा सुख्खा बन्दरगाह निर्माण, पर्यटन केन्द्र स्थापना, धनगढी विमानस्थलको सेवा विस्तार, चिसापानीदेखि गड्डाचौकीसम्मका बजारहरू व्यवस्थित पार्ने काम प्रक्रियामा गएका छन। धनगढीसँग सीमाना जोडिएको गौरीफन्टा नाकालाई अन्तरराष्ट्रिय नाकाको रूपमा स्तरोन्नति, धनगढीमा प्रदर्शनीस्थल निर्माण, औद्योगिक क्षेत्र स्थापना, विशेष आर्थिक क्षेत्र स्थापना, चीनसँग सिमाना जोडिएको नाका खुल्ला, पश्चिम सेती जलविद्युत् आयोजना, प्रादेशिक संग्रालय स्थापना, कृषि विश्वविद्यालय निर्माण, सेती अस्पतालको स्तरवृद्धि र गेटामा चिकित्सा विश्वविद्यालय सञ्चालनको माग पूरा भएका छैनन। विष्टले भने, ‘२०६३ सालदेखि प्रादेशिक प्रदर्शनी स्थल माग गरेका छौ। अहिलेसम्म सम्बोधन भएको छैन। चीनसँग जोड्ने नाका पनि खुल्ला भएको छैन।’
हरेक वर्ष एउटा माग मात्रै पूरा गरिदिएको भए पनि अहिलेसम्म १८ वटा माग पूरा हुने देखिन्छ। तर, २१ बुँदामा पाँच वटा मात्र पूर्ण रूपमा सम्बोधन भएका छन। बाँकी ६ वटा मागहरू प्रक्रियामा गएका छन। १० वटा मागहरू प्रक्रियामासमेत गएका छैनन। २०८१ मङ्सिर २२ गतेबाट सुरु हुने महोत्सवमा १० किलोको माला प्रमुख अतिथिलाई लगाउने तयारी थालिएको छ। सुदूरपश्चिम महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाइएको र १० किलोको माला लगाउने तयारीमा उद्योग वाणिज्य संघ छ। उद्योग वाणिज्य संघ, कैलालीका अध्यक्ष पुष्पराज कुँवरले माग पूरा भएपछि मालाको तौल पनि कम हुने बताए। उनले भने, ‘मागहरू पूरा हुँदैजान्छन। मालाको तौल पनि कम हुँदै जाने हो।’
महोत्सव उद्घाटनका समयमा प्रमुख अतिथिलाई उद्योग वाणिज्य संघले २१ किलोको माला लगाएर माग राखेको थियो। अहिले त्यो घट्दै गएर १० किलोमा झरेको हो। धनगढीमा २०८१ मङ्सिर २२ गतेबाट सुरु हुने सुदूरपश्चिम महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निमन्त्रण गरिएको छ। प्रधानमन्त्री ओलीको चीन भ्रमणको कार्यक्रम रहेकाले आउने वा नआउने विषयमा एकिन भएको छैन।