१ सय ६० केजी गाँजासहित एक युवक पक्राउ
मकवानपुरस्थित त्रिभुवन राजपथको भिमफेदी गाउँपालिका–२ भैंसे चेकप्वाईन्टबाट १ सय ६० किलो गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। गोरखाका २८ वर्षीय अमिर मियालाई बुधवार बिहान प्रहरीले गाँजासहित पक्राउ गरेको हो।
प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ आउँदै गरेको प्रदेश ३–०१–०२३ च ८०४७ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाइछिपाइ ल्याएको उक्त परिमाणको गाँजा फेला पारी गाडी चालक अमिरलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक एव प्रवक्ता श्यामु अर्यालले बताए।
गाडीमा खाली तरकारी बोक्ने क्रेटले छोपेर गाँजा राखेर ल्याइएको थियो। प्लास्टिकले प्याक गरेर ३० वटा पोका बनाएर गाँजा ल्याइएको प्रवक्ता अर्यालले बताए।