दार्चुलाको तुसारपानी–टिंकरमा सेनाले खोल्यो १३.५९ किमी ट्याक
दार्चुलाः दार्चुलाको तुसारपानी–टिंकर सडक नेपाली सेनाले निर्माण गरिरहेको छ। सेनाले २०७७ माघ २८ गतेबाट दार्चुला–टिंकर सडक निर्माण थालनी गरेको हो।
दार्चुला–टिंकर सडकको तुसारपानी–टिंकरको ट्रयाक खोल्नुपर्ने ७९ किलोमिटर छ। अहिलेसम्म सेनाले १३ दशमलव ५९ किलोमिटर मात्र ट्रयाक खुलाएको छ। सो आयोजना अघि बढाउन चालू आर्थिक वर्षका लागि सरकारले ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। उक्त बजेटबाट १ दशमलव ८ किमी नयाँ ट्रयाक खोल्ने र १ दशमलव २ किमी सडक स्तरोन्नति गर्ने लक्ष्य रहेको सैनिक प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले बताए।
बजेट थोरै भएको उनले बताए। कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकरसम्म कुल ४२५ किलोमिटर छ। कठिन खण्डको काम सेनालाई दिइएको छ। सेनाले आर्थिक वर्ष २०८८/८९ भित्र ट्रयाक खोलिसक्नुपर्ने सम्झौता छ। सडक नबन्दा सदरमुकाम दार्चुलाबाट आफ्नै देश छाँगरू, टिंकर, कालापानीलगायत स्थान पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। अहिले पनि टिंकरका स्थानीय भारतीय बाटो हुँदै खलंगा बसाइँ सरेका छन्।