सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा २४ सय २३ घरको नक्सापास, समयमा घर बनेन् भने के गर्ने?

२०८१ मंसिर १२, ०३:०४

वीरेन्द्र भट्ट, धनगढीः कैलालीको धनगढीमा नक्सापास गरेर घर बनाउनेको संख्या बढेको छ। नक्सा स्वीकृतीबिना घरको नक्सापास नहुँने भएपछि उपमहानगरभित्र नक्सापास गरेर घर बनाउनेको संख्या बढेको हो।

धनगढीमा तीन वर्षको अवधिमा २ हजार चार सय २३ वटा घरको नक्सा स्वीकृत भएर नक्सापास गरिएको धनगढी उपमहानगरपालिकाका नापी नक्सा तथा घर नक्सा शाखाका नापी अधिकृत भुवनबहादुर शाहीले बताए। उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ८ सय ६६ घरको नक्सा पास भएको छ। आर्थिक वर्ष २०७९/८० मा भने घर नक्सापासमा कमी आएको छ। सो अवधिमा ६ सय ८५ घरको मात्र नक्सापास भएको छ।

नापी अधिकृत शाहीका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा घरनक्सापास गराउनेको संख्या बढेको छ। सो अवधिमा ८ सय ७२ को संख्यामा घरको नक्सापास भएको छ। नापी अधिकृत शाहीले सुरुमा घरको नक्सास्वीकृत र त्यसपछि नक्सापास गर्ने नियम रहेको बताए। नक्सास्वीकृतबिना घरको नक्सापास नहुने उनले बताए। घर बनाउँदा सबैभन्दा पहिले गर्नुपर्ने काम नक्सा पास हो।

नक्सा पास नगरी बनाइएको घरलाई बैधानिक मानिँदैन। अवैधानिक रुपमा घर बनाउन थालेको पाएमा स्थानीय निकायलाई सबै कामकाज रोकिदिने अख्तियारीसमेत छ। सुरक्षा, सहरी विकास र ब्यवस्थित बस्ती बिकासको लागि नक्सा पास गर्ने गरिन्छ। नापी अधिकृत शाहीले नक्सा पास भएको २ वर्षसम्म घर बनाउनुपर्ने प्रावधान रहेको बताए। यदी त्यो समयमा घर बनाउन सकिएन भने पुनः २ वर्षका लागि म्याद थप्न सकिने उनले बताए।

कमेन्ट लोड गर्नुस