धनगढीमा दशैँ–तिहारको समयमा २३ घरमा चोरी, १५ घटनामा सङ्लन्न पक्राउ
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका मीनबहादुर कुँवरको घरमा दशैँको समयमा चोरी भयो। दशैँ मनाउन पहाड गएका मीनबहादुर र कलसादेवीको घरबाट एक लाख नगदसहित तीन लाख बढीको चोरी भएको हो। उनीहरूको घरबाट चाँदीका सिक्का, मुर्ती, सुनको छड्के तिलहरी, चाँदीका बाला, चाँदीका पैसा लगायत धनमाल चोरी गरिएको थियो। कुँवरको घरबाट चोरी भएको ४७ दिन बढी भएको छ।
तर, चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। कुँवरको टोलमा नै सोही दिन अर्काे घरमासमेत चोरी भएको थियो। कलसादेवीका अनुसार उत्तरबेहडीमा रहेको उनको टोलमा २ घरमा एकै दिन राति चोरी भएको हो। उनले भनिन, ‘९५ हजार एक ठाउँमा थियो। पाँच हजार एक ठाउँमा थियो। सबै लियो। गहना पनि थिए। टीकाको तेस्रो दिन हामीले चारी भएको थाहा पायौ। हाम्रो पछाडिको घरमा पनि चोरी भएको हो। उहाँहरूको पनि सुन चोरी भयो।’
दशैँको समयमा धनगढीकै तीनवटा घरमा समेत चोरी भएको थियो। धनगढी उपमहानगरपालिका–३ स्थित फिस रिसोर्ट नजिकै शिवलाल अर्यालको घरमा चोरी गरिएको थियो। उनीहरू दशैँको टीका लगाउन कञ्चनपुरको पुनर्वास गएको मौका छोपेर घरभित्रको दराज फोडेर करिब ७० हजार रुपैयाँ चोरी गरिएको हो। हालसम्म चोरीमा संकलग्न कुनै व्यक्तिको पहिचान भएको छैन। सोही ठाउँकी कल्पना विकको घरमासमेत चोरी भएको थियो। उनी टीका लगाउन माइती घर कञ्चनपुरको झलारी गएको मौका छोपेर घरको मूल ढोकाको ताल्चा नै तोडेर घरभित्र रहेको तीन तोला सुन चोरी भएको थियो। तर चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। कुँवरले भनिन, ‘चोरी गर्ने मान्छे पत्ता लागेन। थाहा पाएको मान्छेले चोरी गरेको हो। पलसमा आएको छैन। भित्र मात्र चोरी भएको छ। भाडावालाको कोठामा पनि गएको छैन। चोरी गर्ने पक्राउ परेको छैन।’
धनगढी–१३ नवदुर्गा टोलको एक घरमा पनि चोरी भएको थियो। टेकेन्द्रबहादुर कुँवरको घरबाट २१ हजार रुपैयाँ चोरी भएको हो। दशैँ र तिहारको समयमा प्रदेशमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको दाबी गरिएको छ। तर, दशैँ र तिहारको समयमा नै धनगढीका घरहरूमा नगद, सुन र चाँदी चोरी भएका थिए। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले २३ वटा घटनामा १५ वटामा सङ्लन्नको आरोपमा पक्राउ गरेको बताए। उनीहरूको विषयमा अनुसन्धान जारी हरेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता बोहराले बताएका छन।
दशैँ र तिहारको समयमा घरमा कोही नहुने र चोरीका घटना हुने भन्दै ठूलो सङ्ख्यामा पहरी परिचालन गरिएको दाबी गरिएको थियो। तर अहिलेसम्म चोरीमा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन।
कैलालीमा दशैँ र तिहारको अवधिमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको विषय झुटो साबित भएको हो। सो अवधिमा चोरीका घटना सबैभन्दा बढी भएका छन्। तर प्रहरीले चोरीमा संलग्न एक जनालाई पनि पक्राउ गर्न सकेको छैन। चाडपर्वलाई लक्षित गरेर ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरेको दाबी गरिएको भए पनि सोही अवधिमा चोरीका घटना बढ्नु र एक जनालाई पनि पक्राउ गर्न नसक्नुका कारण पनि प्रहरी परिचालनको विषय झुटो साबित बन्न पुगेको हो। सो अवधिमा धनगढीमा मात्र दर्जन बढी घरहरूमा चोरी भएको थियो।