सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा २ हजार १५५ मेट्रिकटन युरिया विक्री, १२ सय मेट्रिकटन मौज्दात

२०८१ असोज २२, ०६:२५ कमल सावद

धनगढीः नेपाल सरकारले अनुदानमा वितरण गर्ने मलको ९ दशमलव ७ प्रतिशत सुदूरपश्चिममा आउने गरेको छ।

कृषि सामाग्रीले अनुदानको रसायनिक मल गत महिनादेखि गहुँ खेतीका लागि बिक्री–वितरण गर्ने काम भइरहेको छ। कृषि सामाग्री कम्पनीले मङ्गलवारसम्म दुई हजार एक सय ५५ मेट्रिकटन युरिया, एक हजार तीन सय ८५ मेट्रिकटन डिएपी र ७३ मेट्रिकटन पोटास वितरण गरेको छ। कृषि सामाग्री कम्पनीले ३५० सहकारीलाई उक्त परिमाणको मल बिक्री गरेको हो।

कृषि सामाग्री कम्पनी, धनगढीका प्रमुख नवलसिंह रावलले गहुँ खेतीका लागि मलको अभाव नहुने दाबी गरेका छन्। उनले भने, ‘यो पटक हामीसँग प्रयाप्त मल मौज्दात छ। गत वर्षपनि अभाव भएको थिएन। यो वर्ष पनि अभाव हुँदैन।’
सुदूरपश्चिम प्रदेशका किसानका लागि पर्याप्त मल रहेको कृषि सामाग्रीले बताएको छ।

प्रदेशमा तीन हजार मेट्रिकटन यूरिया, एक हजार एक सय ३९ मेट्रिकटन डिएपी र ९६ मेट्रिकटन पोटास गरेर हाल १२ सय ३५ मेट्रिकटन मौज्दात छ। प्रदेशभित्र गहुँ खेतीका लागि दुई हजार ६ सय ९६ मेट्रिकटन डिएपी र दुई हजार सात सय मेट्रिकटन युरिया आयातको क्रममा छ।

सहकारीहरूले कृषि सामाग्रीबाट एक हजार ८७३ रुपैयाँ प्रतिक्विन्टलमा युरिया, चार हजार ७७३ रुपैयाँ प्रतिक्विन्टलमा डिएपी र तीन हजार ५७३ रुपैयाँ प्रतिक्विन्टलमा पोटास खरिद गर्दै आएका छन। सहकारीहरूले स्थानीय समितिले निर्धारण गरेको मूल्यमा किसानलाई मल बिक्री–वितरण गर्दै आएका छन्।

कृषि सामाग्रीबाट खरिद गरिएको मूल्यमा सहकारीहरूले ढुवानी खर्च र मजदुरी खर्च समावेश गरेर बिक्री गर्ने गरेका छन्। कृषि सामाग्री कम्पनी, धनगढीका प्रमुख रावलले स्थानीय तहहरूको सिफारिस र स्थानीय समितिको निर्णयका अधारमा सहकारीहरूलाई कृषि सामाग्रीले मल बिक्री गर्ने गरेको बताए।

सहकारीमार्फत गत महिनादेखि मल बिक्री गर्ने काम हुँदै आएको छ। सुदूरपश्चिम प्रदेशका किसानलाई हिउँदे खेतीका लागि आवश्यक मलको आपूर्ति हुने भन्दै अभाव नहुने दाबी गरिएको छ। सुदूरपश्चिममा धान खेतीका लागि पनि रसायनिक मलको अभाव नभएकाले गहुँ खेतीका लागि समेत अभाव नहुने दाबी गरिएको छ।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस