सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा किशोरी बेपत्ता प्रकरणः प्रहरी हवल्दार जोशी विरुद्ध किटानी जाहेरी

२०८१ असोज २९, ०४:४७ खबर संवाददाता

बैतडीः बैतडीको पञ्चेश्वर गाउँपालिका–२ की करिब १७ वर्षीया किशोरी बेपत्ता भएको चार दिनपछि किटानी जाहेरी परेको छ।

शुक्रबार बिहान बेपत्ता भएकी किशोरीका आफन्तले मंगलबार जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरी हवल्दार कृष्णराज जोशी विरुद्ध किटानी जाहेरी दिएका हुन्। पञ्चेश्वर–२ स्थित महाकाली प्रहरी चौकीमा कार्यरत बरिष्ठ प्रहरी हवल्दार जोशी विरुद्ध किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता एवं प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए।

किशोरीलाई हवल्दार जोशीले नै बेपत्ता पारेको पीडित परिवारको आरोप छ। प्रहरी हवल्दार जोशीको किशोरीसँग चिनजान र निकटको सम्बन्ध रहेका तस्बिरसहितको विवरण समेत किशोरीका आफन्तले प्रहरीसमक्ष बुझाएका छन्। किशोरी बेपत्ता भएपछि हवल्दार जोशी भारतपट्टीबाट भाग्दै गरेको अवस्थामा भेटिएपछि स्थानीयले नियन्त्रणमा लिएका थिए।

आरोपित प्रहरी हवल्दार जोशीले प्रहरी समक्ष किशोरी बेपत्ता पार्नुमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आएका छन्। किशोरीसँग चिनजान रहेको भने बताएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक ढुंगानाले बेपत्ता किशोरीको खोजी गर्न प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको बताएका छन्।

कमेन्ट लोड गर्नुस