सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशैंको रमझमसँगै कैलालीका किसान धान भित्र्याउन व्यस्त

२०८१ असोज २३, १२:५५ खबर संवाददाता

धनगढीः कैलालीका किसानलाई यतिबेला खेतमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ।

किसानले वर्षाको समयमा रोपेको धानबाली एकातिर खेतबारीमा लटरम्म पाकेर तयारी अवस्थामा छ भने अर्कातिर दैनिकजसो मौसममा फेरबदल देखिन थालेपछि उनीहरुलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ।
दशैंको रौनक बढ्दै गएको छ। तर जिल्लाका किसान भने अन्नले घर भर्न खेतमै व्यस्त छन्। दशैंको समयमा जिल्लाका किसान धानबाली भित्र्याउन व्यस्त छन्।

दशैंको रमझमसँगै सबैतिर धान काट्ने चटारो समेत छ। दशैंका लागि किनमेलसँगै किसान खेती स्याहार्नमा समेत व्यस्त छन्। धनगढी उपमहानगरपालिका–२ भन्सार कटानका किसान नरबहादुर विष्टले खेतमा धान लटरम्म पाकेर बाली झर्ने अवस्थामा पुगेको र मौसममा पनि कतिखेर बादल लाग्न थालेपछि आफूले वर्षभरिका लागि जोहो गरेर खाने अन्न बिग्रिने भन्दै चिन्ता व्यक्त गरेका छन्। 

केही दिनदेखि बादल लागेर पानी पर्ने जस्तो मौसम देखिन थालेपछि लगानी र परिश्रम खेर जाने हो की भन्दै यहाँका अधिकांश किसानका मनमा एक किसिमको चिन्ता हुन थालेको छ। खेतमा धान काट्दै गरेका धनगढीको बडहराका किसान सुकराम चौधरीले मौसम खराब देखिन थालेपछि राति अबेरसम्म पनि धान भित्राउनका लागि थ्रिसेरको पालो कुर्नुपरेको दुखेसो पोखिन्।

धान थ्रिसेर गर्न पालो पर्खदासमेत धान थ्रिसेर गर्ने किसानको चापका कारण मेसिन नपाएरै फर्कनु परेको उनको भनाई छ। हातैले धान काट्ने र धानको मुठा चुटेर परम्परागत तरिकाले धान भित्र्याउने गरेका किसानसमेत यतिबेला मौषमी गड्बडीका कारण आधुनिक उपकरण प्रयोग गरि धान भित्र्याउन लागि परेका छन्। किसानहरु पहिले एकअर्कासँग पालोपैचो तथा पर्मा गर्दै हातैले धान काट्ने, चुट्ने र भित्र्याउने गर्दथ्ये भने हिजोआज ती परम्परा विस्थापित हुन थालेका छन्।

नेपालीहरुको महान चाड बडादशैं सुरु भइसकेको छ। दशैंको टीकाको दिन आउन तीन दिन मात्रै बाँकी छ। तैपनि यहाँका किसान मौषममा गडबडी देखिन थालेपछि दशैँलाई व्यवास्था गर्दे खेतमा पाकेको धानबाली भित्र्याउन आ–आफ्ना खेतमा सानादेखि ठूला घरपरिवारका सबै सदस्यहरु जुटेका छन्। केही थोरै खेत हुने साना किसानहरुले त धान काटेर थ्रेसर गरेर धान घरमा भित्र्याइसकेका छन्। किसानका खेतमा यसवर्ष सर्जु, मन्सुली, भालेमन्सुली, राधा–४ लगायतका विभिन्न उन्नत धानका जात बढी मात्रामा देखिन्छन्।

कमेन्ट लोड गर्नुस