सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा मिलेमतोमा निजी कलेजलाई पोस्न ‘ओजेटी’ गर्न दिने निर्णय

२०८१ असार १८, ०७:११ नारायण अवस्थी

धनगढीः सेती प्रादेशिक अस्पताल धनगढीले मिलेमतोमा निजी कलेजहरुलाई ‘ओजेटी’ गर्न दिने निर्णय गरेको छ।

२०७६ मंसिर १० गते र त्यसपछि २०७९ मा निजी कलेजलाई सेतीमा ओजिटी गर्न नदिने निर्णय मङ्गलवार उल्ट्याइएको हो। निजी कलेजहरूले अस्पतालको निर्णय विरुद्ध अदालतमा मुद्दा दायर गरेपछि मिलोमतोमा ओजिटी गर्न दिने निर्णय गर्नुपरेको दाबी अस्पतालको छ। निजी कलेजहरूले आफ्नै अस्पताल निर्माण गर्नुपर्नेमा सेती अस्पतालमा ओजेटी गर्न पाउनुपर्ने भन्दै अदालतमा मुद्दा दायर गरेका थिए।

सेती प्रादेशिक अस्पतालले ६ वर्षअघि आफै कलेज चलाउने भन्दै ओजेटी गर्न नदिने निर्णय गरेको थियो। तर अहिले आएर उल्टै अस्पतालले कलेज चलाउन नपाउने व्यवस्था रहेको भन्दै निजी कलेजका विद्यार्थीलाई ओजेटी गर्ने बाटो खोलिदिएको छ।
६ वर्ष अघिको निर्णय उल्ट्याइयो
दुर्गाप्रसाद जोशी सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्ष हुँदा २०७६ मंसिर १० गते निजी कलेजलाई ओजिटी गर्न नदिने निर्णय भएको थियो। वर्तमान व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहकै प्रस्तावमा निजी कलेजहरूलाई अस्पतालमा ओजिटी गर्न नदिने निर्णय गर्दै सेतीलाई प्रतिष्ठान बनाउने निर्णय भएको थियो।

निजी कलेजहरूले ओजिटी गर्ने बाटो बन्द गरेको भन्दै धनगढी उपमहानगरपालिका मेयर गोपाल हमाल, तत्कालीन प्रमुख जिल्ला अधिकारी किरण थापाको नामै किटान गरेर अदालतमा उजुरी हालेका थिए। अदालतमा उजुरी हालेका कारण मिलेमतोमा निजी कलेजहरूलाई ओजेटी गर्न दिने निर्णय गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहाले बताए। ‘मिलेमतोमा ओजेटी गर्न दिने निर्णय गरिएको हो। कलेजहरूले अदालतमा मुद्दा हालेका थिए; उहाँहरूले मुद्दा अगाडि नबढाउने मिलेमतो गरेर नर्सिङबाहेकका कार्यक्रममा ओजेटी गर्न दिने निर्णय भएको छ।’
६ वर्षसम्म के गर्‍यो अस्पतालले?
२०७६ सालमा आफै स्वास्थ्यका कार्यक्रम चलाउने भनेर निजीलाई ओजीटी गर्न नदिने निर्णय भएको अध्यक्ष शाहले बताए। यो ६ वर्षको अवधिमा प्रदेश सरकार मातहतकै अस्पतालमा पठनपाठन गराउन कुनै काम अगाडि बढाइएन। अस्पतालमा आवश्यक पूर्वाधार निर्माण गर्न सकिने प्रयाप्त समय हुँदाहुँदै पनि कुनै काम अघि बढ्न सकेको छैन्।

न्यून शुल्कमा प्रमाणपत्र तहका स्वास्थ्य कार्यक्रम चलाउन सक्ने अवस्था हुँदाहुँदै पनि प्रदेश सरकार र सेती अस्पतालले कुनै काम गर्न सकेको छैन्। आगामी फागुन ११ मा कार्यकाल सकिन लागेको भए पनि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शाहको स्वार्थमा मङ्गलवार ओजेटी गर्न दिने निर्णय भएको छ। सिटिइभीटी र चिकित्सा शिक्षा आयोगले अस्पतालले आफै कलेज सञ्चालन गर्न नपाउने भनेकाले निजीलाई ओजेटी गर्न दिने निर्णय गर्नुपरेको जिकिर अध्यक्ष शाहको छ। उनले चिकित्सा शिक्षा आयोग र सिटिइभिटीले अस्पताललाई कलेज सञ्चालन गर्न नपाउने बताएकाले तीन÷तीन पटक प्रयास गर्दा पनि सफल हुन नसकेको बताए।
निजीलाई पोस्ने निर्णय 
अस्पतालको विकासका लागि धेरै काम गरेको दाबी गर्ने अध्यक्ष शाहले अहिले आएर स्वार्थमा निजी कलेजको अनुकुल हुने निर्णय गरेका छन्। सेतीमा प्रमाणपत्र तहको पढाइ गरेको निकै कम शुल्कमा सर्वसाधारणका छोराछोरीले अध्ययन गर्न पाउने बाटो हाललाई बन्द गरिएको छ।

अस्पताल व्यवस्थापन समितिका सदस्य एवं धनगढीका नगर प्रमुख गोपाल हमाल, प्रमुख जिल्ला अधिकारी, व्यवस्थापन समितिकै केही सदस्यको असहमतिका बाबजुद अध्यक्ष शाहको निर्देशनमा समितिका सदस्य सचिव एवं अस्पतालका मेसु डाक्टर शेरबहादुर कमरले बैठकमा ओजेटी खुला गर्ने प्रस्ताव पेस गरेका हुन्। उक्त प्रस्ताव मङ्गलवार बसेको बैठकबाट सदस्यहरूको असहमतिका बाबजुद  पारित भएको छ। सोमवार निर्णय गर्न नसकिएको प्रस्तावमा मङ्गलवार बैठक गरी निर्णय गरिएको हो। तर, व्यवस्थापन समितिले गरेको गलत निर्णयमा आफ्नो समर्थन नरहेको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले बताए।

‘मैले बैठकमा निजी कलेजहरूले पनि अस्पताल चलाउनुपर्छ। त्यसो भए प्रतिस्पर्धा बढ्छ, कलेजबाट स्तरीय जनशक्ति उत्पादन हुन्छ, रोजगारी सिर्जना हुन्छ र जनताले सेवा पाउँछन् भन्ने धारणा राखेको हुँ’ उनले भने, ‘ओजेटी खुला गर्न निर्णयमा मेरो समर्थन छैन भनेर म बाहिरिएको हुँ। निर्णय के भयो थाहा भएन।’ कलेजहरूले अस्पताल चलाएर पठनपाठन गर्नुपर्ने भए पनि अस्पताल चलाउन सकेका छैनन्। सेतीले न्यून शुल्कमा हेल्थ असिस्टेन्ट, फार्मेसी सहायक, ल्याबटेक्निसियन, रेडियोग्राफर जस्ता डिप्लोमा तहका कार्यक्रम चलाएर स्वास्थ्य जनशक्ति उत्पादन गर्न योगदान दिन सक्ने अवस्था हुँदाहुँदै मिलेमतोमा कलेज सञ्चालनको बाटो बन्द गर्न खोजिएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस