सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पलतामा मिलेमतोमा निजी कलेजलाई ‘ओजिटी’ गर्ने बाटो खोलिदै

२०८१ असार १७, ०५:४२ नारायण अवस्थी

धनगढीः सेती प्रादेशिक अस्पतालमा निजी कलेजलाई ‘ओजिटी’ गर्ने बाटो खोल्ने तयारी भएको छ।

असार १६ गते आइतवार बसेको अस्पताल व्यवस्थापन समितिको बैठकमा ओजिटी गर्न दिने प्रस्ताव पेस भए पनि बहुमत सदस्यले निर्णय गर्न नमान्दा प्रस्ताव फिर्ता भएको थियो। निजी कलेजलाई ओजीटी गर्ने बाटो खोल्ने प्रयासमा रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले मङ्गलवारको बैठकबाट जसरी पनि निर्णय गराउने तयारी थालेको बुझिएको छ।

सेती प्रादेशिक अस्पतालले यसअघि डाक्टर हेमराज पाण्डे मेसु हुँदादेखि निजी कलेजलाई ओजीटी गर्न नदिने निर्णय भएको थियो। अस्पतालले आफै कलेज सञ्चालन गर्ने भन्दै ओजिटी गर्न निजी कलेजहरूलाई ओजिटी गर्न नदिने निर्णय गरेको हो। तर, यो वर्षको फागुन ११ गते कार्यकाल सकिन लागेको व्यवस्थापन समितिका अध्यक्ष शाहले निजी कलेजको पक्षमा निर्णय गराउन कम्मर कसेर लागेको विषय बाहिर आएको छ।

अध्यक्ष शाहकै जोडबलमा मेसुले आइतवार बसेको बैठकमा प्रस्ताव लगेको समेत खुलेको छ। सेती प्रादेशिक अस्पतालमा निर्सिङसहितको प्रमाणपत्र तहका कार्यक्रमहरूको पठनपाठन हुनुपर्ने आवाज केही वर्ष पहिलेदेखि उठ्दै आएको छ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले चिकित्सा अध्ययन प्रतिष्ठान बनाएरै सेती, महाकाली र टीकापुर अस्पतालमा स्वास्थ्यका विभिन्न कार्यक्रमको पठनपाठन गर्न अध्ययन समेत गरेको छ। प्राध्यापक डाक्टर शुभेषराज कायस्थले तयार गरेको अध्ययन प्रतिवेदन सार्वजनिक नगरेको सामाजिक विकास मन्त्रालयले भाषणमा ठुला कुरा गरे पनि व्यवहारमा भने सस्तोमा प्रमाणपत्र तहको स्वास्थ्य जनशक्ति उत्पादन गर्न सक्ने सम्भावनाको हेक्कासमेत राख्न नसकेको पाइएको छ।

मन्त्रालय नै उदासिन देखिएपछि मनोमानी निर्णय गर्न अध्यक्ष शाहलाई सजिलो भएको विपक्षमा रहेका व्यवस्थापन समितिका सदस्यहरूले तर्क गरेका छन्। निजी कलेजहरूले ओजीटी गर्न आफ्नै अस्पताल सञ्चालन गर्नुपर्ने भए पनि सेती प्रादेशिक अस्पतालमै ओजिटी गराउन सक्दो प्रयास गरेको पाइएको छ। अस्पताल व्यवस्थापन समितिले अस्पताल र नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने कार्य गर्नुको साटो निजी कलेज सञ्चालकहरूको पृष्ठपोषण गर्न कम्मर कसेको भन्दै केही सदस्यहरूले विरोध समेत गरेका छन्। उनीहरूले अध्यक्षले कलेज सञ्चालकहरूबाट व्यक्तिगत लाभ लिने नियतले काम गर्न खोजेको आरोप समेत लगाएका छन्।

यता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शाहले भने मङ्गलवार व्यवस्थापन समितिको बैठक बस्ने बताएका छन्। उनले निजी कलेजहरूलाई केही समयका लागि ओजिटी गर्न दिने निर्णय हुनु गलत नभएको तर्क गरेका छन्। भविष्यमा अस्पतालले स्नातक तहका कार्यक्रम मात्रै चलाउने भएकाले प्रमाणपत्र तहका विद्यार्थीलाई ओजिटी गर्न दिनुपर्ने बताएका छन्।

शाहले सेतीमा प्रमाणपत्र तहको कार्यक्रम चलाउन सिटीइभिटीले सम्बन्धन नदिएको बताएका छन्। सेतीमा प्रमाणपत्र तहको कार्यक्रममा पठनपाठन गरे निकै कम शुल्कमा स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, ल्याव टेक्नेसियन, रेडियोग्राफर लगायतका जनशक्ति उत्पादन गर्न सकिने भए पनि निजी कलेजको प्रभावमा परेर अध्यक्ष शाहले काम गरिरहेको दाबी गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस