सुदूर नेपाललाई विश्वसँग जोड्दै

तलब नपाएको भन्दै जानकी गाउँपालिकाका स्वास्थ्यकर्मी धर्नामा

२०८१ असार २०, ०५:३० खबर संवाददाता

धनगढीः कैलालीको जानकी गाउँपालिकाका स्वास्थ्यकर्मी धर्नामा बसेका छन्। गाउँपालिकामा कार्यरत ४७ जना स्वास्थ्यकर्मीले ९ महिनादेखि तलब नपाएपछि धर्नामा बसेका हुन। आर्थिक वर्ष सकिनै लाग्दा पनि तलब पाउने सुनिश्चितता नभएपछि पालिकामा कार्यरत कर्मचारी बिहीवारदेखि हातमा कालो पट्टी बाँधेर धर्नामा बसेका हुुन्।

पटक–पटक स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयलाई पत्राचार गर्दा पनि मन्त्रालयबाट तलब नआएपछि स्वास्थ्यकर्मीहरू धर्नामा बसेको गाउँपालिकाका प्रमुुख प्रशासकीय अधिकृत आशिष चौधरीले बताए। प्रमुुख प्रशासकीय अधिकृत चौधरीका अनुसार हाल जानकी गाउँपालिकामा स्वास्थ्य सेवाका २७ जनाको दरबन्दी रहेकोमा ४७ जना कार्यरत रहेका छन्। उनले भने, ‘पालिकासँग त्यत्रो रकम छैन, मन्त्रालयले दियो भने मात्रै तलब दिन सकिन्छ।’

चालु आर्थिक वर्षमा संघ सरकारबाट २७ जना स्वास्थ्यकर्मीको लागिसमेत नपुग्ने गरी बजेट आएकोमा सो रकम सबै ४७ जनालाई वितरण गर्दा ३ महिनामै सकिएको थियो। त्यसपछि तलबका लागि थप रकम नआउँदा गाउँपालिकामा कार्यरत सबै स्वास्थ्यकर्मीलाई ९ महिनादेखि तलब दिन नसकेको चौधरीले बताएका छन्। स्वास्थ्य संयोजक जीतबहादुुर चौधरीले तलब नआउँदासम्म धर्नाको कार्यक्रम जारी रहने बताए। उनले माग पूरा नभए थप आन्दोलन चर्काउने बताए।

यद्यपि स्वास्थ्य मन्त्रालयले आर्थिक वर्षको सुरुमै पालिकाहरूमा स्वीकृत दरबन्दी भन्दा बढी रहेका स्वास्थ्यकर्मीलाई तलब दिन नसकिने पत्र पठाएको थियो। स्वास्थ्य मन्त्रालयले यस्ता पालिकाहरूलाई समायोजन÷मिलान÷कामकाज गर्ने भनी आएका कर्मचारीहरूलाई नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ देखि स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारीको तलब भत्ता दिन नसकिने र आफैले आवश्यकता हेरी व्यवस्था गर्न भनेको थियो। सबै ४७ जना स्वास्थ्यकर्मीहरुलाई ९ महिनाको  तलब सुुबिधा २ करोड ५० लाख दिन बाँकी रहेको पालिकाले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस