सुदूरपश्चिम विश्वविद्यालयः विगत, वर्तमान र भविष्य
प्राडा लालप्रसाद अम्गाईः ईसाको चोधौँ–पन्ध्रौँ शताब्दीमा उत्तर–पश्चिम भारतबाट बसाईसराई गरेर आएका खस आर्यहरूको बस्ती विकासबाट सुदूरपश्चिम र कर्णाली भेगका राज्य एक सभ्रान्त राज्य रहेको रजुम्लाको सिँजा उपत्यकाको सभ्यता नेपालभर नै नमुना राज्य रहेको इतिहास भेटिन्छ।
अठारौँ शताब्दीका बाइसे–चौविसे राज्यको एकिकरणबाट सिङ्गो नेपाल अधिराज्यको पुर्नसंरचना भएर काठमाडौँ शासित राज्य बनेपछि पश्चिमा राज्यक्षेत्रहरू बिस्तारै विकास पूर्वाधार र मानवीय विकास सूचाङ्कमा पछि पर्न गएको पाइन्छ।
वर्तमानमा खाद्य सुरक्षा संकट र संप्रभुताको चपेटामा परेको सुदूरपश्चिम तथा कर्णाली प्रदेश प्रचुर प्राकृतिक सम्पदा, मानवीय संसाधन तथा पुराताŒिवक महŒवका मठमन्दिर तथा अन्य पर्यटकीय साधन र स्रोतको सही परिचालनबाट नेपालकै विकसित प्रदेशको प्रारूप बदलिन सक्ने सामथ्र्य राख्ने प्रदेश हुन सक्दछ भन्ने विषयमा कमै मानिसको सोचाइ र दृष्टिकोण पुगेको देखिन्छ। यस क्षेत्रमा मानवीय संसाधन विकासले मात्र पनि भोलिका दिनमा सुदूरपश्चिम प्रदेशको विशिष्ट नामाङ्कनमा सह्रानीय भूमिका खेल्ने विषयमा कसैको दुईमत हुनै सक्दैन।
सायद समग्र नेपालको विकास सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पूर्वाधार निर्माण र मानवीय संसाधन विकासबाट मात्र हुने बुझेर नै होला संघीय, प्रादेशिक र स्थानीय सरकारले पनि यस क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर ठोस रणनीतिकासाथ विकास योजना तर्जुमा गरेको पाइन्छ।
सुदूरपश्चिम विश्वविद्यालयः विगत र वर्तमान
२०६३÷६४ सालमा जब नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनाभइ संघीय राज्यमा परिणत भयो, तव समग्र देशको समतामूलक क्षेत्रीय विकासको अवधारणा अनुरूप बहुविश्वविद्यालय स्थापना गर्ने क्रममा २०६७ सालमा सुदूरपश्चिम विश्वविद्यालय ऐन पारित गरियो र २०६९ सालमा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालय बनाइयो।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तत्कालिन सिद्धनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस मानेर विविध केन्द्रीय विभाग तथा इन्जिनियरिङ सङ्काय, मानविकी तथा सामाजीक शास्त्र, विज्ञान र प्रविधि, व्यवस्थापन तथा शिक्षाशास्त्र सङ्कायबिच प्रायः स्नातक तहसम्मको पढाइमा पहिलो कार्यकारी परिषद्ले सुदूरपश्चिम विश्वविद्यालय ऐन तथा नियमावलीहरूका निर्माण गरी आफ्नो कार्यकाल पूरा गरेको भेटिन्छ।
सोही समयमानै केन्द्रीय क्याम्पसमा स्नातकोत्तर धारका पढाइहरू पनि सुरु गराइए। यद्यपी सुदूरपश्चिम विश्वविद्यालयमा सिद्धनाथ विज्ञान क्याम्पस समायोजन हुने प्रक्रियाले भने अहिलेसम्म पूर्णता पाउन सकेको छैन। २०७५ श्रावण १ गतेदेखि लागू हुने गरी तत्कालिन त्रिभु्वन विश्वविद्यालय अन्तर्गतका प्राइभेट, पब्लिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरू मु्ख्यतः दार्चुला, गोकुलेश्वर, बाजुरा, वडिमालिका, जनता, मेलौली, पाटन, जगन्नाथ, जयपृथ्वी, त्रिवेणी, सेती–महाकाली, घण्टेश्वर, दुर्गालक्ष्मी तथा टीकापुरसहितका बहुमुखी क्याम्पसहरूलाई समेट्ने गरी १४ वटा आङ्गिक क्याम्पस बनाउने कार्य पूरा भयो।
विश्वविद्यालयको दोस्रो कार्यकारी परिषद्ले गरेको यस समायोजनले सुदूरपश्चिम विश्वविद्यालयलाई सुदूरपश्चिम प्रदेशका ९ जिल्लासम्म बिस्तार गरियो। यसले सुदूरपश्चिम विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयपछि प्राध्यापक, कर्मचारी र विद्यार्थी सङ्ख्या र सामाजिक भौगोलिक तथा बहुसङ्कायका दृष्टिले नेपालको दोस्रो ठुलो विश्वविद्यालय बन्न सफल भयो।
कृषि विज्ञान सङ्कायलाई कैलालीको टीकापुरमा स्थापना गर्न पनि यसै कार्यकारी परिषद्ले पाइला चाल्यो। यी विविध सफलतापूर्वक सम्पादन गरिएका कार्यहरूबिच पनि यस कार्यकारी परिषद्ले बिचमा नै छाड्नुपर्ने भयो र २०७५ पौसदेखि २०७६ फागुनसम्म लगभग एकवर्ष निमित्त कार्यकारी परिषदले विश्वविद्यालयको दैनिकी सञ्चालन गर्नुपर्यो।
२०७६ साल फागुनमा वर्तमान उपकुलपति ज्यूको नियुक्तिपछि बनेको विश्वविद्यालयको चौथो कार्यकारी परिषद्ले कैलाली बहुमुखी क्याम्पस समायोजन, कोरोनाजन्य विषम परिस्थितिमा पनि अनलाइन कक्षा तथा परीक्षा सञ्चालन र सम्पादन, विविध पदका स्थायी नियुक्ति, निर्माण हुन बाँकी रहेका तथा विकास बजेट थन्किएर रहेको परिवेशमा नयाँनयाँ निर्माण कार्यहरूको सुरुवात तथा विविध प्रकारका कार्यविधि, नियमावली तथा विनियमहरू निर्माण गरी १४ आङ्गिक क्याम्पसहरूमा पूरा हुन नसकेका समायोजन, विशेष स्थायी विज्ञापन तथा अन्य थुप्रै सकारात्मक कार्यहरू पूरा गरिए र बाँकी पूरा गरिदैछन्।
कानुन तथा प्राकृतिक स्रोत व्यवस्थापन सङ्काय र स्वास्थ्य विज्ञान सङ्कायअन्तर्गत क्रमश बी.ए.एल.एल.बी, बिएसी फरेस्ट्रि तथा बी.एम.एल.टी. को पढाइसमेत शुरु भयो। सुदूरपश्चिमकै इतिहासमा आफ्नै भूगोलभित्र विविध विषयहरूमा एमफिल पिएचडी सम्मको पढाइ र अनुसन्धान कार्यको सुरुवात पनि यसै कार्यकारी परिषद्ले गरेको पाइन्छ। हालसालै खुलाइएको सम्बन्धन प्रक्रियाको शुरुवात विश्वविद्यालयको पछिल्लो पटकको राम्रो र दिर्घकालिन विकासहेर्न चालिएको कदम मान्न सकिन्छ। यद्यपि शिक्षा मन्त्रालय एवम् विश्वद्यिालय अनुदान आयोगसँग यस्तो स्वीकृति कार्य बाँकी रहेको छ।
विविध प्राज्ञिक प्रशासनिक तथा निर्माणका गतिविधिहरू सञ्चालन गरिए पनि आर्थिक दायित्व अभावमा र राजनैतिक हस्तक्षेपका बाबजुद थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्बन्धन केन्द्रहरूबिच विश्वविद्यालय कार्यकारी पुग्न नसकेको यथार्थता सबैले स्वीकार गर्नैपर्दछ।
विश्वविद्यालयले अवलम्बन गर्नुपर्ने भावि कार्यक्रम र रणनीतिहरू
सुदूरपश्चिम विश्वविद्यालयको समग्र विकासका लागि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञानका निवर्तमान डिन तथा कार्यकारी परिषद् सदस्यर हाल विश्वविद्यालय अनुदान आयोगको अनुसन्धान निर्देशक हुँदा प्राप्त गरेका प्रत्यक्ष भोगाइ र अनुभवका आधारमा यस विश्वविद्यालयको विकास र विस्तारका लागि निम्नानुसार सुझावहरू प्रस्तुत गर्न चाहन्छु।
१. दक्ष मानवसंसाधन विकासमा जोड
सुदूरपश्चिम विश्वविद्यालयद्वारा सञ्चालित नौवटै सङ्कायहरूमा एमफिल र पिएचडीयुक्त गुणस्तरीय मानवसंसाधन विकासमा प्रथम जोड दिनुपर्दछ। युनिस्कोको हालैको प्रतिवेदनमा नेपालमा २० प्रतिशत मात्र विद्यार्थी विश्वविद्यालयमा जोडिएका, १० प्रतिशत मात्र विद्यार्थी स्नातकोत्तर र पिएचडी कार्यक्रमा जोडिएका र लगभग २० प्रतिशतमात्र विद्यार्थीहरू प्राविधिक शिक्षामा जोडिएको देखिएको छ।
२. अनुसन्धानमुखी अध्ययन विधिमा व्यापकता
गुणस्तरीय अध्ययन, अनुसन्धान र विशिष्ट विश्वविद्यालयका परिचायक तŒव हुन। भर्खरै मात्र अनुसन्धान निर्देशनालय स्थापना भएको यस विश्वविद्यालयमा योजना महाशाखा र पाठ्यक्रम विकास महाशाखाको समन्वयमा एमफिल, पिएचडी, पोष्ट डोस तथा प्राविधिक धारका स्नातक तहमा पनि इन्टर्नसिप कार्यक्रमहरू गराइ नियमित रूपमा फ्याकल्टी स्टुडेन्टहरूलाई अनुसन्धानमुखी कार्यमा जुटाउनु विश्वविद्यालयको दोस्रो कर्तव्य हुन आउँछ।
आइयुजीसी नेपालले वार्षिक रूपमा खुलाउने स्मल रिसर्च, फ्याकल्टी रिसर्च, अन्तर्राष्ट्रि रिसर्च एम फिल, र पीएचडी रिसर्च तथा अन्य अन्तराष्ट्रिय जर्नल प्रकाशन र अन्तराष्ट्रिय सम्मेलनमा भाग लिने मौका दिइएकोमा यसको बढीभन्दा बढी फाइदा सुदूरपश्चिम विश्वविद्यालयले लिने कोसिस गर्नुपर्दछ।
३. राष्ट्रिय/अन्तराष्ट्रिय श्रमबजार सुहाउँदो पाठ्यक्रम निर्माण
विश्वविद्यालयका स्नातक वा स्नातकोत्तरहरूले बेरोजगार बस्नुपर्ने तर सीटीइभीटी र थुप्रै भाषा शिक्षा केन्द्रजस्ता संस्थाहरूले केही महिनामा निकालेका निम्न दक्ष वा मध्यमदक्ष जनशक्तिले सिपमूलक शिक्षाको कारण रोजगार पाउने वातावरण नेपालमा रहेका कारण युजीसी नेपाललाई विश्व बैंकले उपलब्ध गराएको उच्च शिक्षा कार्यक्रम जस्ता पाठ्यक्रमको निर्माण गर्नु सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो प्रमुख कार्य हुनेछ।
४. राष्ट्रिय/अन्तराष्ट्रिय सङ्ृघसंस्थाहरूसँग सहकार्य विस्तार
चौथो प्रमुख कार्यका रूपमा सुदूरपश्चिम विश्वविद्यालयमा नौवटै सङ्कायहरू र सोह्रवटै आङ्गिक क्याम्पसहरूमा पहुँच पुग्ने गरी राष्ट्रिय र अन्तराष्ट्रिय सम्बन्ध विस्तार अनिवार्य देखिन्छ। सुदूरपश्चिम विश्वविद्यालयभित्र अन्तराष्ट्रिय सम्वन्धन केन्द्रको स्थापना गरी देशभित्रका १३ वटै विश्वविद्यालयहरू, विभिन्न विषयगत अनुसन्धान केन्द्रहरू र अन्तराष्ट्रिय अनुसन्धान तथा प्रज्ञिक संस्थाहरूसँग समन्वय गरेर अगाडि बढ्नुपर्दछ। उदाहरणका लागि सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान सङ्कायले विगत ४–५ वर्ष आत्मनिर्भर ढङ्गबाट चलाएको कार्यक्रमलाई विश्वविद्यालयले मोडल मानेर अन्य सङ्कायहरूमा पनि कार्यान्वयनका लागि अनुसरण गर्नुपर्दछ।
५. शिक्षक कर्मचारी विद्यार्थी प्रोत्साहन
विश्वविद्यालयमा प्राध्यापक कर्मचारी र विद्यार्थीहरू एउटै टेम्पोका तीन पाङ्ग्राहरू हुन्। विश्वविद्यालय कार्यकारीहरूले विभिन्न तालिम, अध्ययन, भ्रमण, सामूहिक पदोन्नत्ति तथा अन्य विविध ढङ्गबाट प्रोत्साहन दिने कार्यअघि बढाउँदा मात्र विश्वविद्यालयले शैक्षिक उन्नयन गर्न सक्दछ।
भौगोलिक रूपमा काठमाडौँबाट टाढा रहेको सुदूरपश्चिम विश्वविद्यालय र त्यसका आङ्गिक क्याम्पसहरूमा अझैपनि त्रिवि वा अन्य विश्वविद्यालय धाउनु पर्दा थपिने आर्थिक यातायात खर्च र समयलाई आधारमानेर सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय परिसरलाई सेन्टर अफ एक्सलेन्समा बदल्न स्नातकोत्तर र पिएचडी कार्यक्रममात्रको पवित्र ज्ञानभूमि र स्नातक तहसम्मका कार्यक्रमलाई आङ्गिक क्याम्पसहरूमा मात्र सञ्चालन गर्ने व्यवस्था गरिनुपर्दछ। विद्यार्थीहरूलाई शैक्षिकभ्रमण तथा अतिरित्त क्रियाकलापमा बढी भन्दा बढी खटाउनु पर्दछ।
विद्यार्थी संख्या घटिराखेको वर्तमान परिवेशमा स्नातक कार्यक्रममा केही सिटहरू र स्नातकोत्तर तथा एम् फिल र पिएचडी कार्यक्रममा प्रोत्साहन स्वरूप सबै विद्यार्थीहरूलाई आरक्षण वा निशूल्कवृत्ति उपलब्ध गराउनु सुदूरपश्चिम विश्वविद्यालयको पाचौ प्रमुख कार्य हुनेछ। सबै सङ्कायहरूमा सञ्चालित पाठ्यक्रममा आधारित टेस्ट बुक लेखनमा विश्वविद्यालयले केही रकम अनिवार्य छुट्याउनु पर्दछ।
विश्वविद्यालयहरू अनुसन्धान र पढाइका आविष्कार केन्द्र पनि हुन्। सुदूरपश्चिम विश्वविद्यालयले हर्वल साइन्स इन्जिनियरिङ तथा अन्नवाली विउ उत्पादन र फलफूल तरकारी बेर्ना उत्पादन तथा पर्यटकीय व्यवस्थापन विषयमा आफ्नै ढङ्गले यथासिघ्र नयाँ कार्य शुभारम्भ गर्नु र निरन्तर शिक्षामा केन्द्रमार्फत् विश्वविद्यालयले गरेका तालिम, अन्वेषण र तिनीहरूका प्रकाशनलाई विश्वविद्यालयले निजी सम्पत्तिको रूपमा विकास गर्नु सुदूरपश्चिम विश्वविद्यालयको छैटौे प्रमुख कार्य हुनेछ।
७.क्युएए प्रमाणपत्र र समकक्षता निर्धारण
नेपालमा सञ्चालित विश्वविद्यालयल, कलेजहरु र कलेजहरुमा सञ्चालित विशिष्ट कार्यक्रमलाई विश्वविद्यालय अनुदान आयोगले क्युएए गर्ने कार्यक्रम राखेको वर्तमान परिवेशमा प्राज्ञिक गुणस्तर, भौतिक पूर्वाधार र प्रशासनिक खर्च व्यवस्थापन गर्न र अन्तराष्ट्रिय समकक्षयता निर्धारणको लागि पनि विभिन्न सङ्काय तथा क्याम्पसहरु अनिवार्य क्यूएएमा सूचित हुन सातौ मुख्य काम अनिवार्य भइसकेकोछ।
निष्कर्षः
राज्यले अति दुर्गम संज्ञा दिएको सुदूरपश्चिम नेपाल सर्वोच्च प्राकृतिक सम्पदा र मानविय संसाधनको लागि प्रमुखस्थल हो। विश्व भूमण्डलीकरणको तरङ्गबाट गुज्रिरहेको वर्तमान परिवेशमा समतामूलक क्षेत्रीय विकासको अवधारणाबाट स्थापित सुदूरपश्चिम विश्वविद्यालयले स्थापनाको चौध बर्से अन्तरालमा निकै राम्रा प्राज्ञिक एवम् भौतिक उन्नयनको फड्को मारिरहेको छ। समायोजनको एकाध मुद्दाबाहेक प्राज्ञिक रूपमा सुदूरपश्चिम विश्वविद्यालयले राष्ट्रिय/अन्तराष्ट्रिय ख्याति बनाइसकेको छ। जुन पूर्ण भने भइसकेको छैन।
विश्वविद्यालय अनुदान आयोग लगायत अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय सङ्घसंस्थाहरूको प्राविधिक, प्राज्ञिक, भौतिक वा अन्य सहयोग लिइ राष्ट्रिय अन्तराष्ट्रिय श्रमबजार सुहाउँदो प्रविधि विकासका लागि नयाँनयाँ रोजगारमूलक उद्यमशिलतामा आधारित पाठ्यक्रम निर्माण र अनुसन्धानमा विश्वविद्यालयले प्रमुख जोड दिन सकेमात्र दीर्घकालीन रूपमा सुदूरपश्चिम विश्वविद्यालयको उन्नयन हुने देखिन्छ।
प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूबिच विश्वविद्यालयरुपी गाडीका तीन चलायमान पाङ्ग्रा भएका कारण यी तीनवटै निकायहरूको समन्वयमा समय सुहाउँदो ढङ्गबाट ५० प्रतिशत अन्तराष्ट्रिय, ३० प्रतिशत राष्ट्रिय र २० प्रतिशत स्थानीय स्तरमा मापन हुने पाठ्यक्रम निर्माण गरी संघीय, प्रादेशिक र स्थानीय निकायको समन्वयमा विश्वविद्यालयलाई अघि बढाउनुपर्दछ। समग्रमा भन्नुपर्दा समायोजन प्रकृयालाई विश्वविद्यालय सेवाआयोग मार्फत् अघि बढाउने र प्राविधिकधारका व्यवसायिक शिक्षामा बढी जोड दिनुका साथै अनौपचारिक शिक्षा मार्फत् विश्वविद्यालयलाई गाउँगाउँरबस्ती बस्तीसम्म पुग्ने लक्ष्य विश्वविद्यालयको भावी कार्यको रूपमा लिइनुपर्दछ। –लेखक अम्गाई विश्वविद्यालय अनुदान आयोगका अनुसन्धान निर्देशक हुन्।