धनगढीमा वडा क्लिनिकमा ५७४ जनाले लिए विशेषज्ञ सेवा

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले वडा नम्बर १८ र १९ मा सञ्चालन गरेका विशेषज्ञ चिकित्सक सहितको वडा स्वास्थ्य क्लिनिकमा ५७४ जनाले सेवा लिएका छन।
उपमहानगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार असार १ गते वडा नम्बर १९ स्थिति स्वास्थ्य चौकीमा क्लिनिकको आयोजना गरिएको थियो। उक्त क्लिनिकमा ३४२ जनाले स्वास्थ्य परीक्षण गराएका छन।

वडा नम्बर १९ मा आयोजना गरिएको विशेषज्ञ सहितको वडा स्वास्थ्य क्लिनिकमा १२० जना महिला र ४४ जना नयाँ पुरुषको स्वास्थ्य चेकजाँच गरिएको थियो भने उक्त क्लिनिकमा १७८ जना पुराना बिरामीको फलोअप चेकजाँच गरिएको उपमहानगरले जनाएको छ।

यस्तै असार २ गते वडा नम्बर १८ को विशेषज्ञ सहितको वडा स्वास्थ्य क्लिनिक फुलवारीको डिपो बजारमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको थियो। उक्त क्लिनिकमा २३२ जनाले विशेषज्ञ सेवा लिएका छन।

शिविरमा ७६ महिला र २० जना नयाँ पुरुष गरी ९६ जना र ८५ महिला र ५१ पुरुष गरी १३६ जनाले फलोअप चेकजाँच गराएका थिए। धनगढी उपमहानगरपालिकामा गोपाल हमाल मेयरमा जितेपछि हरेक वडामा महिनामा एक पटक विशेषज्ञ चिकित्सक सहितको वडा स्वास्थ्य क्लिनिक सञ्चालन हुँदै आएको छ।

वडामा जनरल फिजिसियन, स्त्री रोग र नेत्र रोग विशेषज्ञको सेवा उपलब्ध हुदै आएको छ। वडा क्लिनिकमा बढीजसो गर्भवती महिलाहरू, जेष्ठ नागरिकहरूको सहभागिता रहदै आएको छ। उपमहानगरले वडामै पोर्टेबल प्रयोगशाला पनि सञ्चालन गर्दै आएको छ। प्रयोगशालामा ७० वर्ष भन्दा माथिका १५० जना भन्दा बढी जेष्ठ नागरिहरूले सेवा लिएका छन।