शुक्लाफाँटामा ‘पुच्छर नभएको’ हात्तीको खोजी, भेटिनेबित्तिकै जडान गरिनेछ रेडियोकलर
धनगढीः शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा आतंक मच्चाउँदै आएको र दुई जनाको ज्यान लिइसकेको ‘पुच्छर नभएको’ जङ्गली हात्तीको खोजी थालिएको छ। रेडियो कलर (जीपीएस) जडान गर्नका लागि उक्त हात्तीको खोजी भइ्रहेको हो।
स्थानीयका घर, भान्सा तथा गोठमा क्षति पुर्याउँदै आएको उक्त हात्तीको गतिविधि निगरानी गर्न रेडियो कलर जडान गर्न लागिएको हो। यसअघि उक्त हात्तीको आक्रमणबाट लालझाडी गाउँपालिकाको ढक्का र भीमदत्त नगरपालिकाको बनकट्टीमा गरी दुई जनाको मृत्यु भइसकेको छ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मुरेन्द्र अर्यालका अनुसार रेडियो कलर निकुञ्जमा आइपुगेको छ। हात्तीको खोजी सुरु भइरहेको र फेला पर्नेबित्तिकै रेडियो कलर जडान गर्ने तयारी गरिएको छ।
स्थानीयसँगको समन्वयमा सबैभन्दा बढी क्षति पुर्याउँदै आएको हात्तीमा रेडियो कलर जडान गर्ने निर्णय गरिएको अर्यालले बताए। उनका अनुसार सोमबार बिहानदेखि संरक्षण अधिकृत, रेञ्जर, पशु चिकित्सक तथा निकुञ्जका कर्मचारीको टोली परिचालन गरी हात्तीको खोजी भइरहेको छ।
रेडियो कलर जडान भएपछि हात्तीको अवस्थिति र गतिविधिबारे निरन्तर जानकारी प्राप्त गर्न सकिने अर्यालले बताए। हात्ती बस्तीमा प्रवेश गर्नुअघि नै त्यसको अवस्थाबारे जानकारी पाउन सकिने भएकाले सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ।
यद्यपि, रेञ्जर विक्रम चौधरीका अनुसार खोजी कार्य जारी रहे पनि हालसम्म उक्त हात्ती फेला परेको छैन। तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्तीले हरेक वर्ष जनधन तथा बालीनालीमा क्षति पुर्याउँदै आएका छन्।
यसअघि बेल्डाँडीमा आयोजित कार्यक्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले समेत उक्त हात्तीमा रेडियो कलर जडान गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिएकी थिइन्। रेडियो कलर जडानपछि हात्तीको आवतजावत र गतिविधि निगरानी गर्न सहज हुने तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सम्भावित जोखिमबारे समयमै सचेत गराउन सकिने अपेक्षा गरिएको छ।