मुख्यमन्त्रीलाई प्रदेशवासीको सुझाव– अस्पतालमा होईन बेथितिमाथि झाडु लगाउनुस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहितको टोली मंगलवार सेती अञ्चल अस्पताल पुगेपछि अहिले सामाजिक सञ्जालमा विरोध सुरु भएको छ। गणतन्त्र दिवसको सन्दर्भ पारेर मुख्यमन्त्री भट्ट सहित अन्य मन्त्री, समाजिक विकास मन्त्रालयका सचिव, प्रदेश न्याधिवक्ताको टोलीले मंगलवार विहान सेती अञ्चल अस्पताल सफाई गरेको फोटो फेसवुकमा भाईरल भएको छ भने मुख्यमन्त्री सहित मन्त्रीको आलोचना पनि सुरु भएको छ। सामाजिक सञ्जाल फेसवुकमै कञ्चनपुर घर भई हाल काठमाडौँमा पत्रकारीता गर्दै आएका केशव साउँदले भनेका छन्–‘ मुख्यमन्त्रीको काम सेती अञ्चल अस्पतालमा झाडु लगाउने हो कि अस्पतालका बेथितिमाथि ’झाडु’ लगाउन निर्देशन दिने हो ? ’ उनको यो स्ट्याटसको आशय मुख्यमन्त्रीलाई प्रदेशको एक मात्र रेफ्ररल अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पताललाई सुधार गर्ने योजना ल्याउनु पर्ने हो।
सामाजिक सञ्जाल फेसवुकमै पत्रकार सुरेश पन्तले लेखे– ‘माननीय मुख्यमन्त्री ज्यू बाहिरी सफाइले केही हुने वाला छैन्। त्यहाँ शुद्धिकरण गर्न आवश्यक छ कुच्चो लिएर आज त लोकप्रियता कमाउनु होला तर ताल उहीँ हो नपत्याए सटर भाडा र कर्मचारी हेर्नुस त्यहाँ। ’
यस्तै धनगढीकै युवा केशव विष्टले फेसवुकमा लेखेका छन्–‘अस्पताल सरसफाइ कम भयो होला फेसबुक सरसफाइ बढि छ। यो दु:ख गर्नु भन्दा तपाइकै कार्यालयबाट एक कल फोन गरेर आदेश दिए पुग्छ। तपाईंका छेउछाउका कोठाहरुमा बस्ने अन्धा स्यालहरुलाइ सरसफाई गर्नुस। तब पर्यावरण सफा हुन्छ।‘
कञ्चनपुरका हेमन्त न्यौपानेले अब सधैं मुख्यमन्त्रीले नै सफाई गर्ने हुनकी भनेर व्यङग्य गरेका छन्। धनगढीका पाण्डव पुजाराले अस्पताल अगाडी, जहाँ फोहोर छैन त्यहाँ झाडु लगाएर के काम ? सफा त अस्पतालका रेष्टरुमहरु हुन आवश्यक छ भन्दै सुझाव दिएका छन्।




