सुदूर नेपाललाई विश्वसँग जोड्दै

भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरूङले गरे बाल अस्पताल निर्माण गर्न ४१ करोड सहयोग 

२०८१ वैशाख २८, ०७:५५ खबर संवाददाता

धनगढीः भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डाक्टर भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा गरेका छन्।

कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छ। निर्माणाधीन अस्पताल क्षेत्रमै पुगेर गुरुङले कोइरालाको अभियानमा साथ दिने प्रतिवद्धता जनाउँदै ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन् ।

शुक्रबार अपराह्न गुरुङ काठमाडौंको हेपाली हाइटस्थित अस्पताल निर्माणाधीन क्षेत्रमा पुगेका थिए। डाक्टर कोइरालाले आफ्नो नेतृत्वमा रहेको टिमले अहिलेसम्म गरेका कामका बारेमा गुरुङलाई बताएका थिए।

डाक्टर कोइरालाको भनाई सुनिसकेपछि गुरुङले अस्पताल बनाउन कति सहयोग आवश्यक पर्छ भनेर सोधेका थिए। डाक्टर कोइरालाले अहिलेसम्म उठेको रकम, प्रतिवद्धता आएको र अपुग रकमको जानकारी गराएपछि गुरुङले  सात वटै प्रदेशमा बाल अस्पताल निर्माणका लागि ४१ करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।

गुरुङले यसअघि त्रिवि शिक्षण अस्पतालमा समेत सहयोग गरेका छन्। उनले सहयोग रकम घोषणा गर्दै पार्टनरलाई २५ करोडसम्म सहयोग गर्न सक्छु भनेकोमा ४१ करोड सहयोग गर्ने घोषणा गरेको बताएका छन्।

गुरुङले सहयोग गर्ने घोषणा गरेपछि डाक्टर भगवान कोइराला भावुक बने। कोइरालाले भने, 'हामीले पैसा नै नभएको बेला बनाउन थालेका हौँ। मैले यो खुसीको क्षणलाई बयान गर्नै सकेको छैन। अहिले मैले यतिमात्रै भन्छु–इट इज ह्युज अमाउन्ट। दिस इज गेम चेन्जर।'

'यो सहयोगले बिग भिजनलाई अब सम्पन्न हुने बनायो। म फेरि पनि भन्छु यो भगवान कोइराला या बोर्डको मात्रै होइन। देशकै लागि गरिएको काम हो। आज मिनबहादुरजी पिलर बनेर आउनुभयो,' कोइरालाले भने, 'नेपालमा पनि यस्तो मन खोलेर सहयोग गर्ने व्यक्ति हुनुहुन्छ भन्न पाउँदा हामीलाई गर्व लागेको छ। यो आम नेपालीको लागि खुसीको कुरा हो।'

कोइरालाले काठमाडौंसहित सातवटै प्रदेशमा बाल अस्पताल बनाउने अभियान अघि सारेका छन् । कोसी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल सम्पन्न भइसकेको छ। अब काठमाडौंसहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण हुनेछ।

सहयोग रकम घोषणापछि भाटभटेनीका अध्यक्ष गुरुङले पनि राम्रो कामका लागि सहयोग गर्न पाउँदा खुसी लागेको बताए। “राम्रो काम गर्न पाउँदा मलाई खुसी लागेको छ,' उनले भने, 'घरबाट आउँदा २५ करोड सहयोग गर्ने तयारी थियो। जसले राम्रो काम गर्छ उसलाई सहयोग गर्नुपर्छ भन्ने मलाई यहाँ लाग्यो पनि। त्यसैले मैले ४१ करोड सहयोग रकमको घोषणा गरेँ।'

गुरुङले अहिलेको समयमा धेरैलाई समस्या रहे पनि   कसैले राम्रो काम गर्छ भने उसलाई सहयोग गर्न सबै तयार हुनुपर्ने र त्यो देशकै लागि सहयोग हुने बताए। भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङले यसअघि त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरिदिएका छन्। २०६८ सालमा बुबा वृषबहादुर गुरुङ र आमा धनमाया गुरुङको नाममा इमर्जेन्सी भवन बनाइदिएका हुन्।

उक्त भवन ११ करोड रुपैयाँमा निर्माण गरिएको थियो भने भूकम्पपछि सोही स्थानमा उनले अर्को भवन पनि निर्माण गरिदिएका छन्। पछिल्लो ईएचएस भवन १५ करोड लागतमा निर्माण गरिदिएका हुन्। 
व्यवसायी गुरुङले अहिलेसम्म १४ जनालाई एमबीबीएस अध्ययन गराएका छन् । रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालीकोटका गरी १४ जनालाई एमबीबीएस तहको अध्ययन गराएका हुन् ।उनीहरुको सम्पूर्ण खर्च भाटभटेनीले नै बेहोर्दै आएको छ।

भाटभटेनीले अहिले पनि ४१ करोड बराबरको भवन निर्माण गरिदिने घोषणा गर्दै गुरुङले उक्त भवन अहिलेसम्मकै अत्याधुनिक हुने बताए। करिब एक लाख स्क्वायर फिटको अत्याधुनिक भवन निर्माण गरेर बाल अस्पताललाई हस्तान्तरण गर्ने योजना छ। भवनमा बेसमेन्ट पार्किङ, इमर्जेन्सी, २० शय्या रहनेछ भने सोही भवनमा आईसीयू, एनआईसीयूलगायत कक्ष रहनेछन् भवनको छतमा हेलिप्याडसमेत निर्माण हुनेछ। सहयोग रकम प्राप्त भएपछि सात वटै प्रदेशमा बाल अस्पताल निर्माण गर्न सहज हुने भएको छ। 

कमेन्ट लोड गर्नुस