सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागुऔषधसहित ३९२ जना पक्राउ, २७५ विरुद्ध मुद्दा दर्ता

२०८१ जेठ ७, ११:४७ खबर संवाददाता

धनगढीः कैलालीमा लागुऔषधसहित तीन सय ९२ जना पक्राउ परेका छन्। लागुऔषध (खैरो हेरोइन), चरेस र गाँजासहित चालु आर्थिक वर्षको साउनदेखि जेठ पहिलो सातासम्म २४ महिलासहित तीन सय ९२ जना पक्राउ परेका हुन्।

तीमध्ये दुई सय ७५ जना विरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा दायर गरिएको छ। प्रहरीले लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राखेर सक्रियता बढाएपछि पक्राउ पर्नेको संख्या बढ्न थालेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रबहादुर बोहराले लागुऔषधको मुद्दामा पक्राउ पर्नेमध्ये अधिकांश १५ देखि २५ वर्ष उमेर समूहका युवायुवती रहने गरेको बताए।

सुदूरपश्चिममा भारतसँग सीमा जोडिएका कैलाली र कञ्चनपुरमा सबैभन्दा बढी लागुऔषधको कारोबार हुने गरेको छ। प्रहरीले लागुऔषध सेवन, कारोबार र ओसारपसारमा संलग्नहरुलाई पक्राउ गर्दै आएको छ। यस्तो कार्य सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुरमा हुने गरेको छ। भारतसँग खुला सीमानाका कारण भारतबाट लागुऔषध भित्र्ने गरेको छ।

प्रहरीका अनुसार सबैभन्दा बढी प्रयोग र कारोबार खैरो हेरोइनको हुने गरेको छ। सीमावर्ती भारतीय क्षेत्रमा सहज उपलब्ध हुने र खुला सिमानाका कारण लुकीछिपी आयात हुने भएकाले खैरो हेरोइन कारोबार बढी हुने गरेको छ। त्यस्तै चरेस र गाँजाको कारोबार पनि बढ्दै गएपछि प्रहरीले निगरानी बढाएको छ।

सुदूरका पहाडी जिल्लाबाट चरेस र गाँजा कैलाली र कञ्चनपुरसम्म पुग्ने गरेको छ। कञ्चनपुरमा तीन महिनाको अवधिमा मात्र ७७ जना लागुऔषधसहित पक्राउ परेका छन्। चरेस र लागूऔषधसहित कञ्चनपुर प्रहरीले तीन महिनामा ७७ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा ८ महिला समेत छन्।

पक्राउ परेकाहरुलाई कारबाहीका लागि कानुनी दायरामा ल्याएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए। पक्राउ परेकाहरुबाट प्रहरीले ६ सय ८० ग्राम चरेस र ९३ ग्राम खैरोहिरोइनसमेत बरामद गरेको छ। ‘कञ्चनपुर कारागारमा ३५ प्रतिशतभन्दा बढी कैदीबन्दी लागूऔषध मुद्दाका छन्।

कमेन्ट लोड गर्नुस