सुदूर नेपाललाई विश्वसँग जोड्दै

एक प्रहरी जवानको हत्या आरोपमा ७ जना पक्राउ

२०८१ जेठ ६, ०७:४७ खबर संवाददाता

काठमाडौँः एक प्रहरी जवानको हत्या आरोपमा ७ जना पक्राउ परेका छन्।

टोखा नगरपालिका–१० गोंगबु बस्ने खोटाङ मजुवागढि नगरपालिका–१ का नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय युवराज घिमिरेको हत्यामा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुर चाँगुनारायण घर भएका २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर घर भएकी १८ वर्षीया किशोरी, स्याङ्जा आधीखोला घर भएकी २१ वर्षीया बसन्ती भन्ने बसुन्धारा कार्की पक्राउ परेका छन्।

यस्तै स्याङ्जा आधीखोलाकी ५६ वर्षीया नुनमाया कार्की, नुवाकोट ताती घर भएका २१ वर्षीय बुद्दलामा तामाङ, सिन्धुपाल्चोक ईन्द्रावती घर भएका ३० वर्षीय दोर्जे भन्ने अमृत तामाङ र उदयपुर घर भएका १३ वर्षीय नाबालक रहेका छन्। काठमाडौं तारकेश्वर नगरपालिका–९ मनमैजु बासुकी नाग टोलस्थित निर्माणाधीन घरमा प्रहरी जवान घिमिरेको शव फेला परेपश्चात प्राविधिक विश्लेषण तथा नुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले हत्यामा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका–१६ स्थित बाईस धारा जंगलबाट पक्राउ गरेको हो।

ड्युटी सकेर घर जाने क्रममा तारकेश्वर नगरपालिका–११ स्थित खाजा घरमा भेट भएका पूर्व परिचित सचिन र १८ वर्षीया किशोरीले बिरामी भएकोले आश्रयस्थल पु¥याईदिने बहानामा घटनास्थलमा लगी अन्य अभियुक्तहरूको सहयोगमा रड, इँटा समेतको प्रयोग गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ। घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस