सुदूरपश्चिममा सवारी दुर्घटना भयावह, १४५ जनाको अकालमै मृत्यु
धनगढीः बैशाख ५ गते डोटीको दिपायलबाट धनगढी आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत प्रिती मिश्रा गम्भीर घाइते भइन्।
डडेल्धुरामा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते प्रितीको भारतको नयाँ दिल्लीमा उपचारको क्रममा मृत्यु भएको हो। उनी धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा अध्ययनरत थिइन्। त्यस्तै बैशाख २४ गते मोटरसाइकल दुर्घटनामा परेर डडेल्धुराका पुर्ववडाअध्यक्षको पनि मृत्यु भयो।
कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलामा बस र मोटसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार आलिताल गाउँपालिका–१ का ५५ वर्षीय पूर्णबहादुर ऐरको मृत्यु भएको हो। यी दुईवटा घटना केबल प्रतिनिधि उदाहरण मात्र हुन्। चालु आर्थिक वर्षको १० महिनामा यसरी सवारी दुर्घटनामा अकालमै ज्यान गुमाउनेको संख्या सुदूरपश्चिममा एक सय ४५ पुगेको छ।
सो अवधिसम्म सवारी दुर्घटनामा परेर एक सय १५ पुरुष, २० महिला र १० बालबालिका गरेर एक सय ४५ जनाले अकालमै ज्यान गुमाउन पुगेका छन्। चार सय ५५ जना घाइते भएका छन्। सो अवधिमा एक सय ७५ मोटरसाइकल, ४४ जिप/कार, ३२ ट्रयाक्टर, १८ बस, १८ साइकल/रिक्सा, १६ टेम्पो, १४ ट्रक, ट्याङ्कर, सात टिपर, सात माइक्रो र तीनवटा डोजर गरेर तीन सय ३८ वटा सवारी दुर्घटनामा परेका छन्।
गत वर्ष दुई सय ५५ सवारी दुर्घटनाबाट एक सय ७७ जनाको मृत्यु भएको थियो। एक सय ९७ जना गम्भीर घाइते र दुई सय ७६ जना सामान्य घाइते भएका थिए। सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा चार करोड १६ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ।
ट्राफिक प्रहरीले चालु आर्थिक वर्षकोे साउनदेखि वैशाख मसान्तसम्मको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकलाई कारबाही गरी उक्त राजस्व सङ्कलन गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीले बताए। गत आर्थिक वर्ष २०७९÷८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने एक लाख १२ हजार ६ सय ५५ सवारीसाधन कारबाहीमा परेको र सो कारबाहीबाट ६ करोड ४३ लाख ७२ हजार राजस्व सङ्कलन भएको उनले बताए।