सुदूर नेपाललाई विश्वसँग जोड्दै

शहरीकरण र गरीबीले सुदूरपश्चिममा विकराल बन्दै आत्महत्या

२०७६ जेठ ३, १२:४४ नवराज पनेरु

सुदूरपश्चिम प्रदेशमा आत्महत्या विकराल समस्याका रुपमा देखा परेको छ। पछिल्लो तीन बर्षको तथ्याङक हेर्दा सुदूरपश्चिम प्रदेशमा आत्महत्या विकराल समस्याका रुपमा देखा परेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा दैनिक कम्तिमा एक जनाले आत्महत्या गरेको देखिन्छ। आर्थिक बर्ष २०७३÷०७४ मा ४ सय ३२ जनाले आत्महत्या गरेकामा २०७४÷०७५ मा ४ सय ९९ र चालु आर्थिक बर्षमा चैत महिना सम्म मात्रै ३ सय २३ जनाले आत्महत्या गरेका छन्। चालु आर्थिक बर्षको बैशाख महिनाको तथ्याङक संकलन हुन बाँकी छ भने अझै २ महिना बाँकी छन्। 

शहरीकरण र गरिबीले निम्त्याएको आत्महत्या
सुदूरपश्चिम प्रदेशमा सवै भन्दा सुगम जिल्ला कैलाली हो भने सबैभन्दा दुर्गम बाजुरा हो। बाजुरा जिल्ला त मानव विकास सुचाङकमा देशभरीमा ७७ औँ जिल्लामा छ। तर आत्महत्याको दर हेर्दा भने दुर्गम जिल्लाको तुलनामा सुगम जिल्लामा धेरै बढि छ। सुदूरपश्चिमका ९ जिल्ला मध्ये सबैभन्दा बढि कैलालीमा आत्महत्या गर्नेको सङख्या छ। चालु आर्थिक बर्षको ९ महिनामा प्रदेशभरी ३ सय २३ जनाले आत्महत्या गरेकोमा सबैभन्दा बढि कैलालीमा १ सय १३ जनाले आत्महत्या गरेका छन्। तर बाजुरा जिल्लामा भने ६ जनाले मात्रै आत्हत्या गरेका छन्। यो तथ्याङकले शहरमा आत्महत्याको दर बढि रहेको पुष्टि गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले शहरीकरणले पनि आत्महत्याको दर बढाएको बताए। ‘शहरमा जिविका चलाउन सहज नहुने भएकाले सोही कारणले निराशा उत्पन्न हुने र आत्महत्यालाई रोज्ने गरेका छन्।’ उनले भने।

शहर बजारमा हुने अभाव र गरीबीले थिचिएर पनि धेरैले आत्महत्याको बाटो रोजेको हुन सक्ने प्रहरीको बुझाई छ। पुर्व प्रहरी बरिष्ठ उपरिक्षक मोहनराज जोशीले कैलालीमा अन्य जिल्लाको तुलनामा जनसङख्या समेत बढि भएकाले आत्महत्याको दर बढि देखिएको बताए। ‘तर जनसङख्या मात्रै आत्महत्याको कारण नभएर शहरमा हुने अभावले पनि आत्महत्या बढाएको हुन सक्छ।’ उनले भने। आत्महत्या गर्नुको कारण सतहमा जे देखिए पनि गहिरिएर हेर्दा अधिकांशमा गरीबी प्रमुख रहेको अनेकौं घटनाले पुष्टि गर्छन्। गरीबीले ल्याउने मानसिक तनाव अरूको भन्दा खप्नै गाह्रो पर्ने आकारको हुने भएकाले गरिबीले आत्महत्या निम्त्याएको धेरैको बुझाई छ। प्रहरीमा दर्ता भएका आत्महत्याका घटना हेर्दा पनि गरीबी र त्यस्ले श्रृजना गर्ने निराशा प्रमुख कारण देखिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुरज केसीले बताए। “गरीबले शिक्षा र रोजगारी नपाउने, बिहेबारी र रोगको उपचार गर्न नसक्ने तथा पेटभरि खान र बालबच्चा हुर्काउन नसक्ने भएपछि आत्महत्या गर्नुको विकल्प देख्दैन्।” उनी बताउँछन्।

अवैध सम्वन्ध
पहाडी जिल्ला र ग्रामिण क्षेत्रको तुलनामा आत्महत्या बढि हुनुको अर्को कारणका रुपमा प्रहरीले अवैध सम्वन्ध पनि रहेको जनाएको छ। शहर बजारमा प्रेममा धोका पाएर पनि धेरै युवा युवतीहरुले आत्महत्याको बाटो रोजेको पाईएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यस्तै शहरी क्षेत्रमा विवाहित महिला र पुरुषले समेत अवैध सम्वन्ध बनाउने र त्यसबाट निराशा बढ्दै गएपछि आत्महत्याको बाटो रोज्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। 

आत्महत्याको अनुसन्धान हुँदै 
विगतमा आत्महत्या भन्ने वित्तिकै फाईल बन्द गर्ने प्रहरीले विस्तारै आत्महत्याको समेत अनुसन्धान गर्न थालेको छ। प्रहरीले आत्महत्या गर्न बाध्य बनाउनेहरूलाई दुरुत्साहन मुद्दा लगाउन थालेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। “अनुसन्धान गर्दा अर्काले दिएको शारीरिक र मानसिक यातनाबाट आत्महत्या गरेको खुलेपछि आत्महत्या गर्न बाध्य बनाएको आरोपमा नयाँ फौजदारी अपराध संहिता अनुसार दुरुत्साहन मुद्दा लगाउन थालेको हो। ” उनले भने। 
कैलाली प्रहरीले नयाँ फौजदारी अपराध संहिता जारी भएपछि जिल्ला अदालतमा दुई वटा मुद्दा दर्ता भएको जनाएको छ। १ भदौ २०७५ देखि लागू भएको फौजदारी अपराध संहिता २०७४ को परिच्छेद १२ को दफा १८५ अनुसार कसैलाई कसैले कुनै पनि कारणले  आत्महत्या गर्न बाध्य हुने गरी दुरुत्साहन गर्न हुँदैन । यदि, दुरुत्साहन गरेकै कारणले आत्महत्या गरेको ठहरिएमा अभियुक्तलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवना हुने व्यवस्था छ।
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस