सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा मृत्यु भइसकेका ७ जना आफन्तको नाममा भ्रष्टाचारको मुद्दा

२०८० माघ २९, १२:३८ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरमा मृत्यु भइसकेका आफन्तको नाममा भ्रष्टाचारको मुद्दा दायर भएको छ।

टीकापुर नगर विकास समितिको जग्गा कब्जा प्रकरणमा मृत्यु भइसकेकाहरुको नाममा पनि भ्रष्टाचारको मुद्दा दायर भएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा कब्जा प्रकरणमा मृत्यु भइसकेका ७ जना परिवारका सदस्यलाई प्रतिवादी बनाएर भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

टीकापुर नगरपालिका–८ मनिकापुरका सुरुका जग्गा धनी कमानसिंह रावलले सार्वजनिक जग्गा कब्जा गरेको भन्दै उनका छोरा गणेश रावललाई प्रतिवादी बनाउँदै एक लाख ५० हजार पाँच सय १३ रुपैयाँ बिगो असुल उपर गरान विशेष अदालतमा मुद्दा दायर गरिएको छ। त्यस्तै कर्णशिला शाहीले पनि सार्वजनिक जग्गा कब्जा गरेको भन्दै मुद्दा दायर भएको छ। तर उनको मृत्यु भइसकेको छ।

अख्तियारले उनका छोरा दिपेन्द्रबहादुर शाहीलाई प्रतिवादी बनाउँदै एक लाख २५ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ। त्यस्तै मृत्यु भइसकेका खगेन्द्रबहादुर चन्दका छोरा सागर चन्दलाई प्रतिवादी बनाउँदै बिगोदावी माग गरिएको छ। सागरको नाममा एक लाख ५९ हजार ४६७ रुपैयाँ खसुल उपर गर्न मागदाबी गरिएको छ।

टीकापुर नगर विकास समितिको जग्गा घोटलामा मृत्यु भइसकेका गम्भिरे कडायतकी श्रीमती मथुरादेबी कडायतलाई प्रतिवादी बनाउँदै एक लाख २५ हजार १३७ रुपैयाँ बिगोदाबी माग गरिएको छ। त्यस्तै मृत्यु भइसकेको तारामान भण्डारीकी श्रीमती इन्द्रादेबी भण्डारीलाई प्रतिवादी बनाएर एक लाख २५ हजार असुल उपर गर्न मागदाबी गरिएको छ। त्यस्तै मृतक नरबहादुर बमका छोरा धनबहादुर बमलाई प्रतिवादी बनाउँदै ८० हजार असुल उपर गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको छ।

कमेन्ट लोड गर्नुस