सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पहिलो पटक बाख्राहरूमा देखियो ‘क्यू–फिभर’को संक्रमण

फाइल फोटो
फाइल फोटो
२०८० माघ २१, १०:१९ नारायण अवस्थी

धनगढीः कैलालीको गोदावरीमा पहिलो पटक पशुबाट मानिसमा सर्ने क्यू–फिभर संक्रमण देखा परेको छ।

गोदवरी नगरपालिका–४ मा रहेको एक बाख्रा फार्ममा गत सोमवार क्यू–फिभर फैलिएको पुष्टि भएको छ। फार्ममा पालिएका बाख्राहरूमा तुहिने समस्या देखिएपछि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीको टोलीले गत पुसको दोस्रो साता ७२ वटा नमुना संकलन गरेको थियो।

ती नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, काठमाडौंमा परीक्षण गर्दा ६१ नमुनामा क्यू–फिभर पोजेटिभ रहेको पुष्टि भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख पशुचिकित्सक डाक्टर नरेशप्रसाद जोशीले बताए। ‘हामीले बाख्रा फार्मबाट जम्मा ७२ वटा नमुना लिएका हौँ। ती मध्ये ६१ मा क्यू–फिभर भन्ने रोग प्रमाणित भयो। यसको परीक्षण धनगढी नहुने भएकाले काठमाडौं पठाएका हौँ’, डाक्टर जोशीले भने।

कक्सेला ब्रुनेटी नामक ब्याक्टेरियाले हुने क्यू–फिभर पशुबाट मानिसमा सर्ने एक किसिमको जुनोटिक रोग हो। बाख्राहरूमा यो रोग लागे तुहिने समस्या दोहोरिने हुन्छ। बाख्राको दूध, मासु, मल–मूत्र, सिगान र स्वासबाट क्यू–फिभर मानिसमा सर्न सक्छ। पशुबाट मानिसमा सर्ने भएपनि मानिसबाट मानिसमा भने यो रोग नसर्ने डाक्टर जोशीले बताए। उनले भने, ‘रोग लागेको लक्षण देखिन पनि सक्छ, नदेखिन पनि सक्छ।

यो रोग लागे बाख्रा तुहिने समस्या हुन्छ तर, दुई/तीन बेतमा आफै निको पनि हुन सक्छ। यो रोग स्वास र हावाबाट पनि सर्न सक्छ, त्यसैले सर्ने हिसाबले सावधान भने हुनुपर्छ।’ मुख्य रुपले बाख्रा र भेडामा देखापर्ने क्यू–फिभर अन्य पशुमा पनि सर्ने जोखिम रहेको पशुचिकित्सक जोशीले बताए।

उनले पशुहरूमा यो रोग लागेमा निको पार्न प्रभावकारी उपचार विधीको विकास नभएको भन्दै संक्रमित पशुबाट अर्कोमा रोग सर्न नदिन बिरामी पशुलाई छुट्याएर राख्ने, खोर निसंक्रमित बनाउने, संक्रमित पशुको मल–मूत्र खाल्डोमा गाड्ने र फार्ममा जाँदा सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन्। डाक्टर जोशीले सुदूरपश्चिममा पहिलो पटक यो वर्ष क्यू–फिभर देखापरेको बताए।

गोदावरी–४ को बाख्रा फार्ममा क्यू–फिभर देखिएपछि सो फार्ममा काम गर्ने मानिसहरूमा रोग सरेको/नसरेको पत्ता लगाउन सेती प्रादेशिक अस्पताल र स्वास्थ कार्यालय कैलालीको स्वास्थ्यकर्मीको टोलीले खोरमा काम गर्ने र वरपर बस्ने व्यक्तिबाट रगतको नमुना संकलन गरिएको डाक्टर जोशीले बताए।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस