सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भीओर–डीएमई काम नलाग्ने! धनगढी उड्ने जहाज अन्तै मोडिन थाले

२०८० पुष २५, ०१:०२

वीरेन्द्र भट्ट, धनगढीः गत वर्षको मंसिरमा धनगढी विमानस्थलमा भिजिबिलिटी नपुगेर उडान रद्द हुने समस्या सधैका लागि हल भएको भन्दै प्रचार गरिएको थियो।

जुनसुकै मौसममा पनि सहजै जहाजको उडान र अवतरण गर्न सकिने दाबी विमानस्थल कार्यालयको थियो। बुद्ध एयरले यसअघि स्याटेलाइटका माध्यमबाट रात्रिकालीन उडान समेत सुरु गरेको थियो। धनगढी विमानस्थलमा भीओर/डीएमई उपकरण जडान भएर सफल परिक्षण भएको भन्दै कुनै पनि उडान सेवा प्रभावित नहुने दाबी थियो। तर एक वर्षपछि आएर यस्तो समस्या पुनः देखा परेको छ।

आज (बुधबार) मात्र काठमाण्डौँबाट धनगढीका लागि उडेका दुईवटा जहाज खराब मौसमका कारण सुर्खेतमा आकस्मिक अवतरण गराउनुपर्ने अवस्था नै देखियो। भिजुअल फ्लाइट रुल्स (भीएफआर) को आधारमा जहाजले उडान भर्दै आएको दाबी छ। भीएफआरबाट ५ हजार मिटर भिजिबिलिटी पुग्न अनिवार्य हुन्छ। बुद्ध एयरसँग स्याटेलाइट माध्यमबाट १७ सय मिटर भिजिबिलिटीमा पनि उड्न सक्ने क्षमता छ।

कुनै पनि उडान ५ हजारभन्दा कम भिजिबिलिटी भएको अवस्थामा पनि फ्लाइट रद्द गर्नुपर्ने अवस्था नआउने धनगढी विमानस्थल कार्यालयले गत वर्ष ठोकुवा नै गरेको थियो। धनगढी विमानस्थलमा यसअघि नै भीओर/डीएमई जाइकाले जडान गरेको थियो। जुनसुकै मौसममा पनि विशेष गरी साना जहाजहरुको सहजै उडान र अवतरण गर्न मद्दत मिल्ने दाबी गरिए पनि समस्या हल हुन सकेको छैन्।

१६ देखि १७ सय मिटर भिजिबिलिटीमै पनि उडान भर्न सकिने भएकाले पहाडी जिल्लाको उडान समेत रद्द नहुँने विमानस्थल कार्यालयको दाबी थियो। यसअघि मौसमको आकस्मिक परिर्वतन र कहिले काठमाडौंको एअर ट्राफिक जामले जहाज ढिलो भएको बेला बेलुकाको समयमा भिजिबिलिटी नपुगेर उडान रद्द गर्नुपथ्र्यो। यस्तो समस्या गत वर्ष हल भएको बताइएपनि समाधान हुन सकेको छैन्।

विमानस्थलमा भीओर/डीएमई उपकरणको सफल परिक्षणपछि यस्तो समस्या सधाका लागि अन्त्य भएको धनगढी विमानस्थल कार्यालयले गत वर्ष घोषणा नै गरेको थियो। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले धनगढी विमानस्थलमा भीओर/डिएमई र एप्रोच लाइट जडानसहित सफल परिक्षण समेत भइसकेकाले भिजिबिलिटी समस्याले कुनैपनि जहाजको उडान रद्द नहुँने गत वर्ष गरिएको दाबी अहिले आएर झुटो सावित भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि देशकै लामो धावन मार्ग रहेको धनगढी विमानस्थलमा भीओर/डीएमई जडानसहित सफल परिक्षणले निजी क्षेत्रका विमान कम्पनी समेत उत्साहित भएका थिए। जाईकाले विमानस्थलमा भीओर/डिएमई र एप्रोच लाइट जडानका लागि सम्झौता गरेको थियो। सुरुमा जमिनमुनिबाट पानी निस्कन थालेपछि दिशा निर्देशक भीओर र दुरी सूचक यन्त्र डीएमईको जडान रोकिन पुगेको थियो।

यसअघि सिभिलको काम भइरहेको समयमा जमिनमुनिबाट पानी निस्किएपछि जाइकाको टोली उपकरण जडान नगरेरै फर्किएको थियो। आज मात्र काठमाडौंबाट धनगढीका लागि उडेका जहाज सुर्खेतमा अवतरण गरिएको छ। धनगढीका लागि उडेको बुद्ध र श्री एयरको जहाज सुर्खेतमा अवतरण गरिएको हो। खराब मौसमका कारण ती जहाजहरुको अवतरण सुर्खेतमा गरिएको धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले बताए।

कमेन्ट लोड गर्नुस