सुदूर नेपाललाई विश्वसँग जोड्दै

उत्तर कोरियाद्वारा मिसाइल परीक्षण

। फोटो स्रोत ।
२०७६ वैशाख २२, ०६:१४ खबर संवाददाता

उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले मिसाइलका विभिन्न प्रकारको पार्टपुर्जाहरूको परीक्षण गरिएको जानकारी दिएको छ। नेता किम जोङ अनको उपस्थितिमा होडो प्रायद्वीपबाट जापानी समूद्रमा शनिवार केही छोटो दुरीका मिसाइलहरू परीक्षण गरिएको बताइएको छ।

यस मिसाइल परिक्षणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटमार्फत किमले राम्रो सम्बन्धतर्फ लागेको बाटोलाई खतरामा नपार्ने विश्वास व्यक्त गरेका छन्। उत्तर कोरियाली नेताले आफूले गरेको बाचा नतोड्ने पनि  ट्रम्पले जनाएका छन।

गत फेब्रु्अरीको २७ र २८ मा ट्रम्प र किमबीच भियतनामको हनोइमा परमाणु निशस्त्रीकरणको विषयमा दोस्रो चरणको छलफल भएको थियो। सो शिखर सम्मेलनमा अमेरिकाले उत्तर कोरियाविरुद्ध लगाएका आर्थिक प्रतिबन्धहरू हटाउन किमले माग गरेका थिए। सो मागमा सहमति हुन नसक्दा सो भेटघाट विना सम्झौता समाप्त भएको थियो।

किमले बाहिरी आक्रमण वा धम्कीको अवस्थामा राजनीतिक सार्वभौमिकता र आर्थिक स्वआधारको रक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिनु भएको उत्तर कोरियाली समाचार संस्था केसीएनएले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस