धनगढीको मोडर्न एरा इङ्गलिस बोर्डिङ हाइ स्कूलको ३२ औँ वार्षिकोत्सव सम्पन्न
धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ८ सेतोपुलमा रहेको मोडर्न एरा इङ्गलिस बोर्डिङ हाइ स्कूलको ३२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
धनगढीको पुरानो विद्यालयका रुपमा चिनिर्दै आएको मोडर्न एरा इङ्गलिस बोर्डिङ स्कूलले धनगढी वडा नम्बर ८ का वडा अध्यक्ष जुगराम चौधरीको प्रमुख आतिथ्यतामा भएको हो । प्रमुख अतिथि जुगरामले शिक्षाको गुणस्तर कायम गर्नमा नीजि विद्यालयको भूमिका रहेको भन्दै प्रसंसा गरे । उनले विद्यार्थीहरुको शिक्षा राम्रो बनाउनमा विद्यालयलाई मात्र प्रश्न उठाउनु भन्दा पनि अभिभावक पनि जिम्मेवार बन्न आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा सामाजिक व्यक्तित्व अरुण कुमार रोकायाले शिक्षाको गुणस्तर कायम गर्नमा शिक्षक, विद्यार्थी र अभिभावक गरी तीन वटै निकायको मेहनत आवश्यक रहेको उल्लेख गरे । त्यस्तैगरी प्याब्सन धनगढी नगरका अध्यक्ष धुर्वबहादुर सिंहले पनि शिक्षाको गुणस्तर कायम गर्नमा विद्यालयलाई मात्र दोष दिनु भन्दा पनि विद्यार्थीहरु अभिभावकको निगरानी आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका पूर्व अध्यक्ष हिमालय जोशीले समाजमा बुझाई विद्यार्थीको ए प्लस ग्रेडले मात्र मापन हुने गरेको छ त्यसलाई चिर्न आवश्यक रहेको बताए । विद्यार्थीको मापन सर्टिपिकेट भन्दा पनि चौतर्फी विकास आवश्यक रहेको उनले उल्लेख गरे । उनले धनगढीको शिक्षामा मोडर्न एराले पुगाएको योगदानको प्रसंसा गरे ।
कार्यक्रममा विद्यार्थी आयुष्मा जोशी, मानवी भट्ट लगायतले समेत आफ्नो धारणा राखेका हुन । वि.सं २०५१ सालमा स्थापना भएको मोडर्न एरा इङ्गलिस बोर्डिङ हाइ स्कूलमा विजी देखि कक्षा १० सम्म गरी अहिले ६ सय बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विद्यालयमा फराकिलो खेलमैदान रहेको छ ।
विद्यालयका प्रिन्सिपल भुपेन्द्र कटवालले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई छात्रावृत्तिका कार्यक्रमहरु समेत सञ्चालन गरेको बताए । उनले अभिभावकहरुको मागलाई ध्यानमा राखेर छात्रावास सञ्चालनमा ल्याएको जानकारी दिए ।
विद्यालयका अध्यक्ष महेशबहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा वार्षिकोत्सवको अवसरमा सम्पन्न भएको अतिरिक्त क्रियाकलाप अन्तरगत भलिबल, हाजिर जवाफ लगायत प्रतियोगितामा उत्कृष्टलाई पुस्कार समेत वितरण गरेको हो । कार्यक्रममा विभिन्न सांगितिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो । शिक्षक पाण्डव पुजारा र प्रभा पाण्डेयले सञ्चालन गरेको कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी सरोकारवाला निकायको उल्लेखीए सहभागिता रहेको थियो ।