‘निर्वाचित जनप्रतिनिधिले निर्वाचनका वाचा कार्यान्वयन गर्न तयार हुनुपर्छ’ : मुख्यमन्त्री शाह
घोडाघोडी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जनप्रतिनिधिहरूले निर्वाचनका बेला गरेका वाचा कार्यान्वयन गर्न तयार हुनुपर्ने बताएका छन्।
घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयको नयाँ भवन शिलान्यास कार्यक्रममा उनले जनताले दिएको मतको सम्मान गर्दै रास्वपाका जनप्रतिनिधिहरूले चुनावी प्रतिबद्धता व्यवहारमा उतार्नुपर्ने उल्लेख गरे।
युवा विदेश पलायन भइरहेका विषयमा चिन्ता व्यक्त गर्दै उनले हिजो प्रश्न गर्ने ठाउँमा रहेका नेताहरू अहिले उत्तर दिने ठाउँमा पुगेको उल्लेख गरे। अब बोलेका कुरा व्यवहारमा लागू गर्नुपर्ने उनको भनाइ थियो।
मुख्यमन्त्री शाहले मुलुक स्थिर सरकारतर्फ अघि बढिरहेको उल्लेख गर्दै अब देश विकास र समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा सामाजिक विकासमन्त्री मेघराज खड्काले आगामी सङ्घीय सरकारलाई शुभकामना दिँदै पाँच वर्ष स्थिर रूपमा काम गर्न आग्रह गरे। कैलाली क्षेत्र नम्बर ३ बाट रास्वपाका नवनिर्वाचित सांसद जगत जोशीले शिक्षामा परिवर्तन नगरी समाज परिवर्तन सम्भव नहुने भन्दै मुलुकमा नैतिक शिक्षाको आवश्यकता औंल्याए।
घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले तीनै तहका सरकारबीच समन्वय भए घोडाघोडीको विकास सम्भव हुने र यस क्षेत्रलाई शिक्षाको केन्द्र बनाउन सकिने धारणा राखे। प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. जीवन रानाले शिक्षाको सुधारका लागि आयोग सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरे।
घोडाघोडी बहुमुखी क्याम्पसका अध्यक्ष लक्ष्मण न्युरेले प्रदेश सरकारको सहयोगले शिक्षाको विकासमा ठूलो टेवा पुगेको उल्लेख गरे। क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराईले मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र बुझाउँदै थप सहयोगको अपेक्षासहित धन्यवाद व्यक्त गरे।
कार्यक्रममा घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयका अध्यक्ष विष्णु सापकोटाले प्राविधिक शिक्षालाई प्राथमिकता दिँदै नमुना सामुदायिक विद्यालय बनाउने नीति लिएर अघि बढ्ने जानकारी दिए।
प्रदेश सरकारको करिब १० करोड रुपैयाँ बजेटमा निर्माण हुन लागेको घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयको भवन तीन चरणमा निर्माण सम्पन्न गरिने जनाइएको छ।