‘अपरेसन एपिक फ्युरी’अन्तर्गत अमेरिका इरानका ६ हजार लक्ष्यमा आक्रमण
वासिङ्टन डीसी: अमेरिकी सेनाले इरानविरुद्ध सञ्चालन गरेको ‘अपरेसन एपिक फ्युरी’अन्तर्गत हालसम्म करिब ६ हजार लक्ष्यमा आक्रमण गरेको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेंटकम)का अनुसार आक्रमणका क्रममा इरानका करिब ६० जहाज र ३० माइन्स बिछ्याउने जहाज नष्ट वा क्षतिग्रस्त भएका छन्।
त्यस्तै, सैन्य कमाण्ड केन्द्र, हतियार उत्पादन कारखाना, ब्यालिस्टिक मिसाइल साइट, पनडुब्बी र हवाई प्रतिरक्षा प्रणालीमाथि पनि प्रहार गरिएको छ।
यसैबीच, अमेरिकी सञ्चारमाध्यमहरूले प्रारम्भिक हवाई आक्रमणको क्रममा इरानको एक विद्यालयमा बम खसेको हुनसक्ने आशङ्का व्यक्त गरेका छन्। प्रारम्भिक अनुसन्धानमा अमेरिकी आक्रमणले अनजानेमा विद्यालयमा क्षति पुर्याएको सङ्केत देखिएको भए पनि अन्तिम निष्कर्ष अझै सार्वजनिक गरिएको छैन।