सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा जबरजस्ती करणी उद्योगमा १०६ मुद्दा दर्ता, आफन्तबाटै महिला पीडित

२०८० मंसिर २७, १२:४० खबर संवाददाता

धनगढीः जबरजस्ती करणी र हत्यासम्बन्धी घटनाका खबर सार्वजनिक हुने क्रम बढिरहेको छ।

कानुन र समाजले जबरजस्ती करणी गर्नेलाई दण्डको भागीदार बनाए पनि कैलालीमा यस्ता घटना भइनै रहेका छन्। कैलालीमा आफन्त र चिनजानकै व्यक्तिबाट महिलाहरु बढी असुरक्षित हुने गरेको समेत पाइएको छ। जिल्लाभित्र जबरजस्ती करणीको सिकार अविवाहितदेखि विवाहित महिलासम्मकै हुने गरेको देखिएको हो।

कैलालीमा तीन वर्षको अवधिमा एक सय ६ मुद्दा जबरजस्ती करणी उद्योगमा दर्ता भएका छन्। आर्थिक वर्ष २०७७/७८ मा ४१, आर्थिक वर्ष २०७८/७९ मा ४२ र आर्थिक वर्ष २०७९/८० मा २३ गरी जबरजस्ती करणी उद्योगमा एक सय ६ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्यांकले देखाएको छ।

सहरीभन्दा ग्रामीण क्षेत्रमा जबरजस्ती करणीका घटना बढी हुने गरेको समेत देखिएको छ। ग्रामीण क्षेत्रबाटै जबरजस्ती करणी उद्योगमा बढी मुद्दा दर्ता हुने गरेको प्रहरीले बताएको छ। आर्थिक रुपमा विपन्न तथा अशिक्षित महिलाहरु यस्तो समस्याबाट बढी पीडित हुने गरेको देखिएको छ।

जबरजस्ती करणी उद्योग अन्तर्गत कैलालीमा सबैभन्दा बढी मुद्दा दर्ता हुने गरेको पाइएको छ। मुलुकी संहिताको दफा २१९ को उपदफा ३ को (ङ) मा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई करणी गरेमा ७ देखि १० वर्ष कैद सजाय हुने व्यवस्था छ। तर दफा ३४ को ३ मा कसूरको उद्योग गर्ने व्यक्तिलाई तोकिएको सजायको आधामात्र सजाय हुने व्यवस्था छ।

कमेन्ट लोड गर्नुस