धनगढीमा रानाथारु समुदायको प्रथम ‘साहित्य’ सम्मेलन सम्पन्न

धनगढीः राना कला संस्कृति संरक्षण तथा विकास मञ्चको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा २३ गते शनिबार प्रथम रानाथारु भाषा–साहित्य सम्मेलन–२०८० धनगढीमा कार्यक्रम संयोजक पदम रानाको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा रानाथारुको संस्कृतिलाई प्रदर्शन तथा संरक्षण गर्ने उद्देश्यले अन्य रानाथारुका कार्यक्रमहरु भन्दा फरक तरिकाले अतिथिहरुलाई सोफा, कुर्सीमा नबसाएर खटियामा बसाई स्वागत गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि पूर्व वन तथा वातावरण मन्त्री नारदमुनि राना, विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका मातृ भाषा (साहित्य) विभाग प्रमुख राजन मुकारुङ्ग, अतिथि नेपाल रानाथारु समाजका अध्यक्ष कृपाराम राना, नेपाल रानाथारु समाजका पूर्व अध्यक्ष तथा रानाथारु समुदायकी प्रथम पिएचडी होल्डर डाक्टर जीवन राना, धनगढी धनगढी उपमहानगरपालिकाकी उप–प्रमुख कन्दकला राना, कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा, उप–प्रमुख द्रोपती राना, नेपाल तथा भारतका रानाथारु बुद्धिजिवी, रानाथारु भाषाका ज्ञाता, लोक साहित्यकार, इतिहासविद् र भाषा विद्हरुको सहभागितामा रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका अध्यक्ष नारायन रानाले व्यक्त गरेका थिए। कार्यक्रममा रानाथारुको संस्कृतिको कार्यपत्र डाक्टर जीवन राना, रानाथारु इतिहासको कार्यपत्र डाक्टर नरेश राना, रानाथारु भाषाको अवस्थाको कार्यपत्र कमल सिंह रानाले प्रस्तुत गरेका थिए। रानाथारु भाषाको पहिलो किताब (जगनकृत गितमाला) प्रकाशन गर्ने ब्याक्तित्व स्वः जगना राना, नेपाल रानाथारु समाजको संस्थापक स्वः लालबहादुर राना, रानाथारु समुदायबाट पहिलो मन्त्री स्वः लबरु रानाथारुलाई मरणोप्रान्त सम्मान गरिएको थियो।
नेपालकी रानाथारु समुदायबाट पहिलो पिएचडी उपाधी प्राप्त गर्ने डाक्टर जीवन रानालाई सम्मान गरिएको थियो। कार्यक्रममा रानाथारु भाषाका गीत, कविता, साहित्यिक रचना वाचन लगायत रानाथारु भाषा लेखन पद्धति र व्याकरण बारे छलफल भएको छ। साथै, लोक सांस्कृतिक प्रस्तुती एवं स्रष्टाहरुलाई सम्मान पनि गरिएको कार्यक्रमका संयोजक पदम रानाले बताए।



